Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धनराजपछि सहकारी ठगीमा लेखासमितिका सभापति ऋषिकेश पोखरेल पनि मुछिए


    बिहिबार, भाद्र २७ २०८१
    4.4K
    Shares
    नेपाल फेस
  • ७ मिनेट पाठ
  • काठमाडौं । सहकारी ठगीमा राजनीतिक दलका नेता–कार्यकर्ताको संलग्नता खुल्ने क्रम एकपछि अर्को गरी खुल्दै जान थालेको छ । नेपाली कांग्रेस र एमालेले रास्वपाका अध्यक्ष रवि लामिछानेलाई ग्यालेक्सी मिडियाले सूर्यदर्शन लगायतका सहकारीबाट ऋण लिएको र उक्त कम्पनीको एमडी भएकैले उनलाई कारबाहीको माग गर्दे संसदीय छानबिन समिति बनाएका छन् । तर समिति बनिसकेपछि एकपछि अर्को गरी कांग्रेस र एमालेकै नेताहरु सहकारी ठगीमा मुछिएका घटना सार्वजनिक हुन थालेका छन् ।

    नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सहकारी प्रकरणमा मुछिएको घटना सेलाउन नपाउँदै मोरङको एउटा सहकारी ठगीमा संसदको सार्वजनिक लेखासमितिका सभापति एवं नेकपा(एमाले)का नेता ऋषिकेश पोखरेल समेत नाम आएको छ ।

    मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थामा भएको सहकारी ठगी प्रकरणमा सांसद पोखरेलको नाम मुछिन पुगेको हो । उक्त सहकारीमा करिब १२ करोड रुपैयाँ अपचलन भएको खुलासा भएको छ । बिराटनगरको मुलुकी खबर अनलाइनमा प्रकाशित समाचार अनुसार २०६८ सालमा स्थापना भएको उमागौरी कृषि सहकारी संस्था अहिले संकटग्रस्त छ । १८ करोड ५१ लाख रुपैयाँ कूल पूँजी रहेको सहकारीबाट १२ करोड रुपैयाँ हिनामिना भएको छ । यो सहकारीका संचाकलले ऋण लिन आएका सदस्यको सम्पत्ति अन्य बैंकमा धितो राखेर सहकारीको नाममा ऋण निकाल्ने गरेको फेलापरेको हो ।

    शम्भुप्रसाद रौनियार अध्यक्ष रहेको सहकारीले सदस्यको जग्गा धरौटी राखेर सहकारीको नाममा विभिन्न बैंकबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको छ । बैंकबाट ऋण लिँदा उनले संस्थाका संचालकदेखि सहकारीसँग ऋण माग्ने साधारण सदस्यको जग्गासमेत बैंकमा धितो राखेको देखिन्छ । त्यो रकम सहकारीका अध्यक्षले मनोमानी ढंगले प्रयोग गरेको पूर्वसंचालक बताउँछन् ।

    संघीय संसदको सार्वजनिक लेखासमितिका सभापति पोख्रेल मोरङको निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । त्यो सहकारीको संचालक उनकी श्रीमती अञ्जला कोइराला पनि थिइन् । तर, पछिल्लो समय उनले छाडेकी छन् ।

    सहकारीले अन्य बैंकबाट लिएको ऋण नतिरेका कारण कोइराला अहिले कालोसूचीमा परेकी छन् । सहकारीकै कारण आफू कालोसूचीमा परेको उनले बताइन् । अध्यक्षले मनोमानी गर्दा आफू समस्यामा परेको गुनासो उनको छ ।
    स्रोतका अनुसार कोइराला सहकारीको संचालकमा देखाइएकी सदस्य मात्रै हुन् । सम्पूर्ण कारोबार अध्यक्ष शम्शुप्रसाद रौनियारले र उनका पति सांसद पोखरेलबीचको सल्लाहमा हुन्थ्यो । पोखरेलकी पत्नी अञ्जला कोइराला शिक्षण पेसामा आबद्ध छिन् ।

    सहकारीको कारोबारमा उनको हस्ताक्षर मात्रै प्रयोग हुन्थ्यो । संचालकले उनलाई स्कुलमै पुगेर हस्ताक्षर गराउँथे । ‘उहाँहरुको सहकार्य निकै राम्रो थियो । सहकारी संचालनमा पोख्रेलले उहाँहरुलाई सहयोग गर्नुुहुन्थ्यो । बैंक तथा अन्य संस्थाबाट ऋण निकाल्न र अनुदान दिन उहाँको भूमिका थियो’ पोख्रेल र रौनियारनिकट स्रोतले भन्यो ,‘सहकारी डुबेपछि भने सम्बन्धमा खटपट छ । रौनियार सार्वजनिक स्थानमा देखिँदैनन् । भागिरहेका छन् ।’ ठगी मुद्दामा ४ महिनाअघि रौनियार केही दिन प्रहरी हिरासतमा पनि बसेका थिए ।

    अञ्जला सहकारी स्थापनादेखि नै जोडिएकी हुन् । २०७५ सालमा जारी भएको सहकारी नियमावलीले संचालक बस्न रोकेपछि उनले राजीनामा दिएकी थिइन् । तर, उनको राजीनामा स्वीकृत भएन । २०७८ सालसम्म नक्कली हस्ताक्षर प्रयोग गरेको उनको दाबी छ । ‘अडिटर’ ले भनेपछि प्रश्न गर्दा मात्रै आफ्नो राजीनामा २०७८ मा स्वीकृत भएको उनले बताइन् ।

    सो सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १ सय ५६ रुपैयाँ छ । बचतकर्ताले बचत फिर्ता मागेपछि अध्यक्ष रौनियार सहकारीको कार्यालय बन्द गरेर हिँडेका छन् । सहकारीमा अहिले ताला लागेको छ ।
    १८ करोड ४९ लाख कुल पूँजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ । सहकारीबाट ठगिएकाहरु न्याय माग्दै प्रदेश सहकारी रजिष्ट्रार कार्यालय पनि पुगेका छन् । उमगौरी सरकारीमा भएको अनियमितता अन्य सहकारीको भन्दा फरक रहेको कार्यालयका निमित्त प्रमुख हरिबहादुर खत्रीले बताए ।

    ‘ठगी नयाँ प्रकृतिको छ । सहकारीमा ऋण माग्न पुगेका सदस्यहरुको सम्पत्ति बैंकमा राखेर ऋण निकालेको देखिन्छ’ उनले भने, ‘ऋणीले संस्थामा ऋण बुझाए । संस्थाले बैंकमा नबुझाएको देखिन्छ ।’ खत्रीका अनुसार सदस्यहरु दोहोरो ऋणी भएको देखिन्छ । फरक खालको ठगीको विषयमा उजुरी आएपछि छानबिनका लागि प्रहरीलाई लेखेर पठाइएको जानकारी उनले दिए ।

    मुलुकी खबर डटकममा समाचार छ–सहकारी रजिष्ट्रारको कार्यालयमा भएको रेकर्डमा उमागौरी कृषि सहकारी संस्था लिमिटेडको संचालक समितिको ‘डकुमेन्ट’ नै गायब छ । निमित्त रजिष्ट्रार खत्रीका अनुसार २०६८ सालमा सहकारीको तदर्थ समितिको ‘डकुमेन्ट’ पछि २०७८ सालको संचालक समितिको ‘डकुमेन्ट’ मात्रै कार्यालयमा उपलब्ध छ ।

    १० वर्षको संचालक समितिको विवरण र कागजात छैन । त्यतिबेला सांसद तथा सार्वजनिक लेखासमितिका सभापतिकी श्रीमती सहकारीको संचालक थिइन् । सहकारीले सोही अवधिमा बैंकबाट १२ करोड ऋण लिएको देखिन्छ ।
    लेखासमितिका सभापति ऋषिकेश पोखरेलले भने सहकारीबाट उल्टै आफू नै पीडित भएको बताएका छन् । बचतकर्ता र ऋणीलाई ठगी गरेको उमागौरी कृषि सहकारी संस्थामा जोडिएका पोख्रेलले आफू पनि ठगिएको बताए । रौनियारबाट ठगिएपछि प्रहरीमा जाहेरी दिएको उनको भनाइ छ । ‘मान्छेले दुःख दिनुपर्ने मान्छेमा म एउटा परेछु । इमान्दार हुनु बेठिक भएछ । केही–केही मान्छेले झुक्याए । दुःख दिए । कुरा कानुनी प्रक्रियामा गइसक्यो’ पोख्रेल भन्छन् ।

    श्रीमती संचालक सदस्य रहेको विषयमा प्रश्न गर्दा भने उनी कड्किए । ‘उहाँ सञ्चालक रहेको त खै थाहा छैन मलाई । तपाईंहरुले खोजेको चाहिँ किन भन्नुहोस् त यो विषय ? ककसले ऋण लगे त्यो पनि तपाईंहरु उठाइदिनुहुन्छ ?’ उनले प्रतिप्रश्न गरे ।
    उनले आफ्नो श्रीमतीलाई झुक्याइएको बताए । ‘मेरो ‘मेडम’लाई उसले (शम्भुप्रसाद रौनियारले( सदस्य बनाएको रैछ । पछि थाहा पाएँ’ उनले भने, ‘सहकारी पीडितमध्ये एउटा म पनि हो । ५ वर्ष भयो छाडेको । स्कुल पढाइरहेको मान्छेलाई भाउजू बस्दा सजिलो हुन्छ भन्दै सही (हस्ताक्षर) गराएर झुक्याए । आफैँ पीडित भएको छु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार