Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • लुम्बिनी विकास कोषको आदेशलाई लत्याउँदै बिहार र गुम्बामा सयौँ पर्यटक, लुम्बिनीका होटल खाली


    शुक्रबार, चैत्र ९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • ७ मिनेट पाठ
  • मोहम्मद हबिब

    भैरहवा । लुम्बिनी विकास कोषले गुम्बा तथा बिहारमा व्यवसायिक गतिविधि नगर्न–नगराउन पत्राचार गरे पनि निर्णयलाई लत्याउँदै विभिन्न गुम्बाले दर्जनौँ पर्यटक राख्ने गरेको पाइएको छ ।

    गुम्बाहरुमा व्यावसायिक रुपमा पर्यटकहरु राख्ने गरेको पाएपछि लुम्बिनीका होटल व्यवसायीहरुले विरोध गर्दै  विकास कोषलाई ध्यानाकर्षण गराएका थिए । उनीहरुले फागुन २९ गते मंगलबार लुम्बिनीभित्र रहेका बिहार र गुम्बाहरुमा बौद्ध आध्यामिकता र बौद्ध भावनाको विकास गर्नुपर्नेमा उक्त मर्मविपरीत होटल सरहको कोठाहरु तयार गरी व्यापारिक प्रयोजनले पर्यटक राखिएको भन्दै लुम्बिनी होटल संघ, नेपालका अध्यक्ष गोविन्द ज्ञवालीको नेतृत्वमा ज्ञापनपत्र बुझाएको थियो ।

    ज्ञापनपत्रपछि कोषको तर्फबाट सदस्य सचिव सानुराजा शाक्यद्वारा हस्ताक्षरित पत्र सबै गुम्बालाई पत्राचार गर्दै लुम्बिनीभित्र रहेका बिहारहरुलाई विहार क्षेत्र विनियमावली २०५८ अनुसार नियमित रुपमा त्यहाँ रहने विदेशी नागरिकको विवरण र नयाँ आउने विदेशी नागरिकको विवरण कोषमा बुझाउन, साथै विहार क्षेत्र भगवान बुद्धको शिक्षा र उपदेशहरुको पूर्णरुपमा पालना गर्नुपर्ने स्थान रहेको हुँदा बौद्ध धार्मिक, आध्यात्मिक एवं शान्ति क्षेत्रको रुपमा स्थापित गर्न अनुरोध गर्दे व्यावसायिक प्रयोजनले कुनै पनि कार्य नगर्न र नगराउन भनिएको र  ‘त्यस्ता व्यावसायिक गतिविधि गरिएको पाइएमा नियमानुसार कारबाही हुने जनाए पनि कोषको अनुरोधलाई बेवास्ता गर्दै दर्जनौँ पर्यटकहरुलाई गुम्बाभित्रै राखिएको छ ।

    बुधबार म्यानमार गोल्डेन टेम्पलले २ सय बढीलाई गुम्बाभित्र राखेको पाइएको छ । लुम्बिनी विकास कोषको बिहार क्षेत्रमा रहेका गुम्बा र विहारमा होटलकै शैलीमा कोठाहरु बनाएर व्यवसायिक रुपमा नै पाहुना राख्दै आएका छन् ।

    लुम्बिनीलाई केन्द्रित गरेर निजी क्षेत्रले करोडौं लगानी गरेर होटल संचालन गरिरहे पनि बिहार रगुम्बाको यो अवैधानिक कार्यले होटल व्यवसायी पलायन हुनुपर्ने स्थिति आएको छ । यस क्षेत्रका कतिपय होटल बन्द भइसकेका छन्,अहिले पनि कति बन्द हुने अवस्थामा पुगेको बेला विहार–गूम्बाले यसरी व्यवसयिक रुपमा पर्यटक राख्दा यस्को प्रत्यक्ष मार होटल व्यवसायमा परेको संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए ।

    यस्तो कार्यले लुम्बिनी क्षेत्रको होटल व्यवसाय धरासायी बन्दै गएको र यसले पर्यटन व्यवसाय प्रभावित बनेको छ । हामीले पटक पटक आवाज उठाउदा समेत विकास कोषले बेवास्ता गर्ने र बिहारले मनोमानी रुपमा सायैँ पर्यटठकहरुलाई गाँस, बाससहित राखेपछि आहिले सबै व्यवसायीले विरोध जनाएको अध्यक्ष ज्ञवालीले भने । संघले गुरुयोजना क्षेत्रका बिहार तथा गुम्बाहरुमा व्यवसायिक रुपमा पर्यटक राख्ने व्यवस्था अविलम्ब स्थायी रुपमा रोक्नुपर्ने माग राखेको छ । दशकौंदेखि उठ्दै उठाउँदै आएको यो समस्याले अहिले अप्रिय स्थितिको सिर्जना गरेको र स्थानीय व्यवसायीको धैर्यताको सीमा समाप्त भएको तथा अब यस भन्दा अघि पर्खन सक्ने अवस्था नरहेको भन्दै संघले चेतावनी समेत दिएको थियो ।

    लुम्बिनी विकास कोष बिहार क्षेत्र, विनियमावली २०५८ को विनियम ७ र १० मा धार्मिक गतिविधि, पूजा, प्रार्थना गर्नको लागि ५ जना भिक्षु–भिक्षुणी र उनीहरुको सहयोगीको रुपमा थप ५ जना गरी जम्मा १० जना विदेशी नागरिक बस्न सक्ने व्यवस्था छ । तर मर्मविपरीत बिहार क्षेत्रमा कोठा बनाएर व्यावसायिक बन्दा निजि व्यवसायीको लगानी जोखिम परेको छ ।

    लुम्बिनी गुरुयोजना क्षेत्रलाई बौद्ध धार्मिक, आध्यामिक एवं शान्ति केन्द्रको रुपमा विकास गर्ने अभिप्रायले लुम्बिनी गुरुयोजना क्षेत्रभित्रको विहार क्षेत्रलाई सानो बौद्ध संसारको रुपमा परिकल्पना गरी यहाँ विभिन्न राष्ट्र र बौद्ध सम्प्रदायलाई विहार निर्माणका लागि चाक्लाहरु उपलब्ध गराइए बमोजिम हाल बौद्ध विहाररगुम्बा, ध्यान केन्द्रहरु निर्माण भइ सञ्चालनमा रहेको कोषले जनाएको छ ।

    बिहारहरूलाई व्यवस्थित र निश्चित मापदण्ड अनुसार सञ्चालन गर्न मापदण्ड छ । लुम्बिनी बिकास कोषले बिहार क्षेत्रमा उपलब्ध गराएको जग्गामा विभिन्न मुलुकले मापदण्डविपरित गुम्वाको सट्टा ठूला ठूला होटल सरहको संरचना बनीरहदा बिकास कोष मौन रहेको छ ।

    पछिल्लो समय मलेसियाले निमार्ण गरिरहेको संरचना होटलको रुपमा निमार्ण भैरहेको छ । अण्डरग्राउण्डसहित ६ तल्लाको संरचनामा १ सय ५० बढि कोठा रहे पनि विकास कोषको प्रशासन प्रमुख ज्ञानिन राई अनविज्ञ रहेको बताए । मलेसियाले लुम्बिनीका ४२ वटा प्लटहरुमध्ये एक प्लट लिजमा लिएर निमार्ण सुरु गरेको छ,  कुनै पनि देशले ९९ बर्षका लागी प्लट लिजमा लिएर मन्दिर तथा गुम्वाहरु बनाउने व्यवस्था छ । लुम्बिनीको गुरुयोजना अनुसार त्यहाँ बनाइएका गुम्बा, चैत्य, बिहार ध्यान केन्द्रहरूलाई कोषको बिहार क्षेत्र बिनियमावली २०५८ अनुसार थप मापदण्ड बनाउनुपर्नेमा कोषका कर्मचारी र पदाधिकारीहरुले मौन स्वीकृति दिदा गुम्वा संचालकहरुको मनोमानी बढ्दै गएको लुम्बिनीका स्थानियवासीहरुले गुनासो गरेका छन् ।

    २०७७ साउनमा कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीको संयोजकत्वमा गठीत समितिले स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पारेको थियो । उक्त प्रतिवेदन तत्कालीन नागरिक उडयन तथा पर्यटनमन्त्री योगेश भट्टराईलाई बृहत लुम्बिनी गुरुयोजना क्षेत्र अन्तर्गत निर्माण गरिएका र निर्माणाधिन बाँकी प्लटहरू (विहारहरू) को वस्तुस्थितिको अध्ययन सम्बन्धी प्रतिवदेन बुझाइएको थियो ।

    कोषको बिनियमावलीमा सामान्यतया एक देशलाई एउटा मात्र प्लट दिने प्रावधान रहे पनि पहुँचको भरमा दुई देखि तीन वटा सम्म दिइएको छ । लुम्बिनीमा कुल ४२ वटा संस्थालाई निर्मााण गर्नै अनुमिति दिइएको छ ।

    लुम्बिनी विकास कोष विहारक्षेत्र विनियमावली, २०५८ मा थप स्पष्टता सहित निश्चित मापदण्ड निर्धारण गरी नियमित अनुगमनको थप निर्देशिका र कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याउनु पर्ने, विहारक्षेत्र भित्र विनियमावलीमा उल्लेख भए बमोजिम धार्मिक गतिविधिमा संलग्न हुने सुझाव दिइएको छ ।

    लुम्बिनी विकास कोष विहार क्षेत्र, विनियमावली २०५८ को विनियम ७ र १० मा धार्मिक गतिविधि, पूजा, प्रार्थना गर्नको लागि ५ जना भिक्षु भिक्षुणी र उनीहरुको सहयोगीको रुपमा थप ५ जना गरी जम्मा १० जना विदेशी नागरिक बस्न सक्ने व्यवस्था छ । तर बिहारमा अहिले सम्झौताबिपरित सम्रचना निमार्ण गरी दैनिक सयौ पर्यटकहरुलाई राख्दै आएका छन् ।

    जापानी बास्तुकलाविद् केन्जो टाँगेको डिजाइनमा अघि बढाइएको गुरुयोजना अन्तर्गत १ हजार १ सय ५५ विघामा पवित्र उद्यान, मोनाष्टिक जोन र न्यु लुम्विनी भिलेजका रुपमा विकास गर्ने योजना रहेको छ । लुम्बिनीमा हाल विभिन्न देशका छुट्टाछुट्टै मन्दिरहरू रहेका छन् भने कतिपय देशका मन्दिरहरू निर्माणाधिन अवस्थामा रहेका छन् । निमार्ण सम्पन्न भैसकेका र निमार्ण जारी रहेका मन्दीहरुको नियमित अनुगमन नहुदा मापदण्ड विपरित काम भैरहदा पनि लुम्बिनी बिकास कोष मौन बसेको छ ।

    लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईमार्फत् सङ्घले बुझाएको ज्ञापनपत्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् कोषका अध्यक्ष हितमान तामाङलाई बोधार्थ पठाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार