Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पुसभित्र ४ हजार ५ सय शिक्षकको विज्ञापन खुल्दै


    आइतबार, मंसिर १० २०८०
    1.4K
    Shares
    Business school professor teaching explaining and writing formula on chalkboard. Business man teacher standing at class blackboard. Flat style isolated vector character illustration on white background.
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । पुस महिनाभित्र ४ हजार ५ सय शिक्षक दरबन्दी खुला हुने भएको छ । शिक्षक सेवा आयोगले त्यसको लागि प्रक्रिया अघि बढाइसकेको जनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ५ दिनअघि चैतसम्ममा देशैभरका शिक्षकको रिक्त हुने दरबन्दी सार्वजनिक गरेपछि आयोगले दरबन्दी खोल्ने तयारी गरेको हो ।

    आयोगका प्रशासकीय प्रमुख कमलप्रसाद पोखरेलले केन्द्रले आयोगलाई विवरण बुझाएपछि विज्ञापन खोल्ने जानकारी दिए । उनले भने– ‘विवरण आएपछि आरक्षणको लागि प्रतिशत छुट्टयाएर विज्ञापन खोल्नेछौं । आयोगले ढिलोमा पुस मसान्तसम्ममा विज्ञापन खोल्ने तयारी गरेको हो ।’

    शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले केन्द्रको नियमित प्रक्रियाअन्तर्गत देशैभरका जिल्ला शिक्षा समन्वय इकाईले उपलब्ध गराएको विवरणअनुसार केन्द्रले रिक्त शिक्षकको तथ्याङ्क सार्वजनिक गरेको बताए ।

    उनले रिक्त रहेको शिक्षक विवरण सच्याउन एक साताको म्याद दिएको जानकारी दिँदै भने– ‘एक सातापछि अन्तिम विवरण आयोगमा बुझाउनेछौं । आयोगले सोही विवरणको आधारमा रिक्त दरबन्दीको लागि विज्ञापन खुला गर्नेछ ।’

    केन्द्रले तयार गरेको विवरणमा काठमाडौं, सप्तरी, महोत्तरी, कपिलवस्तु र हुम्लाको विवरण यकिन भएको छैन । केन्द्रले विवरण नदिएका यस्ता जिल्लाका हकमा एक साताको म्याद दिएर तथ्याङ्क पठाउन निर्देशन दिएको छ ।

    केन्द्रले सार्वजनिक गरेको रिक्त शिक्षक विवरणअनुसार प्राथमिक तहमा सबैभन्दा बढी ३ हजार १ सय ७९, निम्न माध्यामिक तहमा ७ सय ४४ र माध्यमिक तहमा ४ सय २ पद रिक्त छ । प्रदेशगत रूपमा सबैभन्दा बढी वागमती प्रदेशमा १ हजार २ सय ४२ दरबन्दी खाली हुने छ । जिल्ला शिक्षा समन्वय इकाइ काठमाडौैंले प्राविको दरबन्दी शून्य देखाएको छ भने निमावि ५, मावि २ मात्रै दरबन्दी रिक्त भएको विवरण केन्द्रमा पढाएको छ । सुदूरपश्चिममा सबैभन्दा कम ३ सय ३१ शिक्षक पद रिक्त हुने देखिएको छ ।

    कोशीमा ९ सय ९३, मधेसमा ३ सय ४९, गण्डकीमा ७ सय ७०, लुम्बिनीमा ५ सय ६४ र कर्णालीमा १ सय ७६ दरबन्दी रिक्त हुने भएको छ । केन्द्रका अनुसार माध्यमिक तहमा नेपालीमा ६३, अंग्रेजी ७०, गणित ८७, विज्ञानमा १ सय ९ र सामाजिकमा ४७ जनाको दरबन्दी खाली हुने निश्चित भएको छ ।

    त्यस्तै, निमावितर्फ नेपालीमा १ सय १३, अंग्रेजी १ सय ६४, गणितको १७, विज्ञान १ सय ६९ र सामाजिक १ सय १९ दरबन्दी खाली हुनेभएको छ । केन्द्रले रिक्त र रिक्त हुने जिल्लाको विवरण तत्काल उपलब्ध गराउन सबै इकाईलाई परिपत्र गरेको छ ।

    परिपत्रअनुसार दरबन्दी आएपछि केन्द्रले अन्तिम विवरण आयोगलाई पठाउने छ । सबै इकार्ईले चैतसम्ममा अवकास हुने शिक्षकको विवरण तयार गरी आयोगमा पठाएपछि आयोगले सोही आधारमा खुला पदको लागि विज्ञापन खोल्नेछ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार