Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रोग ठीक पार्ने बहानामा माता र गुरुको नाममा ठगी, प्रहरी प्रशासन मूकदर्शक !


    शनिबार, जेष्ठ २० २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • ९ मिनेट पाठ
  • एक्काइसौं शताब्दीमा आइसक्दा पनि नेपालमा अन्धविश्वास कायमै छ । अन्धविश्वासको पछि लागेर ज्यान गुमाएका घटनाहरु निरन्तर बाहिर आइरहँदा पनि नेपालीको चेत खुल्न सकेको छैन् ।
    सरकारले नदेख्दा र सञ्चारमाध्यमले कलम नचलाउँदा माताहरुको ठगीधन्दा मौलाएको छ । विश्व आधुनिकीकरणको दौडमा छ तर नेपाली जनता अझै पनि अन्धविश्वासबाट माथि उठ्न सकेका छैनन् । उपचार गर्ने नाममा लुट्ने, श्रीसम्पत्ति सबै खाइदिने क्रम जारी नै छ ।

    माता र देउता आएको बताउनेहरुले उपचार गर्ने भन्दै कुटीकुटी मारेका घटनाहरु निरन्तर सार्वजनिक भइरहेका छन् । उपत्यकासहित मुलुकका हरेक जिल्लामा यस्ता ढोंगी माता र कथित त्रिकालदर्शीहरुको बिगबिगी छ । हुँदाहुँदा छोएकै भरमा रोग निको पार्ने सिमान्त गुरु भन्ने भरत केसीकोमा समेत भीड लाग्ने गरेको छ । यस्तै माता र कथित गुरुकै कारण कतिपयको घरव्यवहार बिग्रिएको छ ।

    माताहरुले दिनदहाडै लुटिरहँदा पनि सरोकारवाला निकाय हात बाँधेर बसेको छ । मुलुकको चिकित्सकीय क्षेत्रमा धेरै विकास भइसकेको छ । थुप्रै सरकारी र निजी अस्पताल खुलेका छन् । वरिष्ठ स्वास्थ्यकर्मीहरु यहाँ छन् । तैपनि आम नागरिक किन माताकै पछाडि लागिरहेका छन् ? स्वास्थ्यकर्मीहरुलाई चुनौती दिएर माताहरुले रोग निको पारिदिने दाबी गर्दै आएका छन् । कोही आँखाले हेरेर रोग निको पारिदिने भन्छन्, कोही हात हेरेर ।

    स्वास्थ्य क्षेत्रमाथि हिलो छ्यापेर माताहरुले यसो भनिरहँदा सरकार के हेरेर बसिरहेको छ ? किन त्यस्ता माता भनिनेहरुलाई कारबाही हुँदैन । कि त सरकारले माताहरुले आँखा हेरेर, हात हेरेर रोग निको पारिदिने भनेको सही हो भन्नुपर्यो ? कि त त्यस्ता माताको नाममा भइरहेको ठगीधन्दालाई बन्द गराउनुपर्यो ?

    शरीरमा अनेक रोग हुन्छन् तर माताहरु भूतप्रेत छ भन्दै कुटपिट गर्छन् । रोगले थलिएकाहरुलाई त्यसरी पिट्दा उनीहरुको त्यहीँ ज्यान जान्छ । माताको कुटपिटका कारण केही समयअघि एक बालिकाले ज्यान गुमाएको घटना बाहिर आएको थियो । हालैमात्र पनि अर्की एक बालिकाको पनि ज्यान गएको छ । सर्पले टोकेको बालिकालाई अस्पताल लैजानुको साटो परिवारले माताकोमा लगेपछि ती बालिकाले अकालमा ज्यान गुमाइन् । आफू कमाउनका निम्ति माताहरुले भ्रम छरेर रोग निको पार्ने भन्दै कमाउधन्दा चलाउने गरेका छन् ।

    अहिलेको जमानामा पनि माताहरुले ‘बोक्साबोक्सी’ भएको बताउने गरेका छन् । रोगले च्यापेको व्यक्तिलाई ‘बोक्साबोक्सी’ लगाइदिएको छ भन्दै माताहरुले आफ्नो कमाउधन्दा चलाउँदै आएका छन् । आफूलाई ‘बोक्साबोक्सी’ लगाइदिएको भन्दै रिसको झोंकमा आएर एकले अर्काले कुट्छ । एउटाको ज्यान जान्छ, अर्को जेल जान्छ । मातालाई त पैसा आइहाल्यो । देशमा तीन तहको सरकार छ । जुनसुकै सरकार होस्, कसैले माताको गैरकानुनी काममा रोक लगाउन सकेनन् ।

    स्थानीय तहका जनप्रतिनिधिहरुले यस्ता माताहरुको कुरा भ्रम हो भन्नेबारेमा जनचेतना फैलाउन सकेका छैनन् । अहिले हरेक गाँउपालिकामा प्रहरी चौकी छ । तर, आफ्नै अगाडि यस्तो अवैध धन्दा चलिरहँदा पनि प्रहरी प्रशासन निरीह भएर टुलुटुल हेरेर बसेको छ । न प्रहरीले त्यस्ता माताको ठगीधन्दा चलाउने ठाँउमा ताला लगाउन सक्छ न मातालाई कारबाहीको दायरामा ल्याउन । राजनीतिक दलहरुले पनि यसतर्फ चासो देखाएका छैनन् । उनीहरुले माता कहाँ नजानू, तिनको विश्वासमा नपर्नू भनेर जनमानसलाई जागरुक बनाउन सकेका छैन् ।

    विद्यार्थीले पढ्ने पाठ्यपुस्तकमा अन्धविश्वासको बारेमा उल्लेख छ । उनीहरुले त्यो पढेका पनि हुन्छन् । यद्यपि, त्यो व्यवहारमा उतार्न सकिएको छैन । किनकि शिक्षकशिक्षिकाले किताबमा भएको घोकाउँछन् मात्र । त्योबाहेक बाहिर भएको घटना त उनीहरुलाई पनि थाहा छैन् । भक्तपुरको सिर्जनानगर चोकमै एउटा ठूलो घर छ । त्यस भवनलाई ‘सत्य देवीस्थान’ भन्ने गरिएको छ । त्यहाँ मातालाई ‘भगवान’ भन्ने गरिन्छ । अचम्म त के भने, माता को हुन् र कस्ती छिन् ? भन्ने कसैलाई पनि थाहा छैन ।

    उक्त भवनमा बुधबार र शनिबार ठूलो मेला लाग्छ । हरियो लुगा, हरियो अबिर लगाएका माताका अन्धविश्वासीहरु त्यहाँ नाचगान गरिरहेका हुन्छन् । मातालाई आफ्नो समस्या सुनाउनका निम्ति १ हजार २ सयदेखि १ लाख ५० हजार रुपैयाँ लाखको टिकट काट्नुपर्ने हुन्छ । गेटमा पाँच–सात जना हट्टाकट्टा व्यक्ति राखेर टिकट काट्ने गरिन्छ । भित्र माता कोही पनि छैनन् । माइक राखेर ठगीधन्दा चलिरहेको छ । भक्तपुरका स्थानीयलाई त्यहाँ माताको नाममा लुटको धन्दा मच्चिरहेको छ भन्ने राम्ररी थाहा छ ।

    तर, कसले त्यसको विरोधमा बोल्ने ? ‘बोल्यो कि पोल्यो’ भनेजस्तै छ यहाँ । माताको ‘भुसतिग्रे’ हरुले हातखुट्टा भाँच्दिहाल्छन् । माताकोमा प्रवेश गर्दा टन्न फलफुल लिएर जानुपर्छ । माताको दर्शन गर्न आएकाहरु फलफुल बोकेर आउँछन् । त्यही फलफुल बाहिर ल्याएर बेच्ने अनि कमाउने । सिर्जनानगरमा माताको भव्य महलजस्तो भवन छ । अरुलाई ठगेको पैसाले माताले पचासौं ठाँउमा घरजग्गा जोडेकी छिन् । तर, माताको छद्मभेषका ठगहरुलाई कसले कारबाही गर्ने ?

    माताको भवन र नेपाली कांग्रेसका सांसद् दुर्लभ थापाको घर नजिकै छ । तर, थापाले माताको ठगीधन्दा देख्दैनन्, किन ? नेकपा एमालेका पूर्व सांसद् महेश बस्नेत पनि भक्तपुरकै हुन् । उनले पनि अनदेखा गरिरहेका छन् । अहिलेसम्म कसैले नदेखेको माताको माइती गुन्डुको किवाचोक हो । उनको घरचाँहि भैरवस्थाननेर हो । स्थानीय महिलाले यसरी दिनदहाडै ठग्दा जनप्रतिनिधिदेखि सांसद् किन मौन छन् ? सूर्यविनायक नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष राजकुमारसहित अन्यले यहाँबाट मोटो रकम बुझिरहेका छन् ।

    माताले पँहुचकै आडमा ठगीधन्दा चलाएको त सबैलाई थाहा नै छ । यसरी माताहरुले उपचार गर्ने हो भने जनताले तिरेको करबाट किन स्वास्थ्यकर्मीहरुलाई तलबभत्ता खुवाउने ? स्वास्थ्य मन्त्रालय किन चाहियो ? स्वास्थ्य विभागको के काम ? अस्पतालहरु बन्द गराएर मातालाई उपचार गर्ने जिम्मा दिए पनि हुन्छ । सरकारी अस्पतालका कर्मचारीहरु समयमा आफ्नो ड्युटीमा आउँदैनन् । आएकाहरु पनि हाजिर गरेर कुलेलम ठोक्छन् । निजी अस्पतालको महँगो उपचार सबैले ब्यहोर्न गर्न सक्दैनन् । अनि विकल्प नै माताजस्ता ठगहरु रह्यो ।

    सरकार र सरकारी कर्मचारीकै कारण माताहरुको ठगीधन्दा चलेको छ । धर्मको नाममा व्यापार गर्दा र उपचार गर्ने नाममा लुट्दाखेरि पनि सरकार कहाँ छ ? हिजो केही नभएको महिलाले अकूत सम्पत्ति जोडेकी छिन् । तर, कसले छानबिन गर्ने ? स्थानीयका अनुसार माताले दुई नम्बरी धन्दा पनि चलाउँदै आएकी छिन् । राज्यले ती मातालाई छुनसमेत सकेको छैन् । भक्तपुरमै थुप्रै स्थानीय मिडिया छन् । तर, उनीहरुले किन कलम चलाउँदैनन् ? उनले लाखौंलाई ठगिसकेकी छन् तर कसलै चुइक्क बोल्न सकेनन् ।

    माताको नाममा व्यापार गरिरहेकालाई सरकारले तुरुन्तै समात्नुपर्छ । तिनले ठगेर कमाएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । पछिल्लो समय उपत्यकाका गल्लीगल्लीमा यस्ता ठगीधन्दा चलिरहेको छ । देशभर सटर खोलेर माताहरुले आफ्नो लुट मच्चाइरहेका छन् । न यिनीहरुको दर्ता छ । माताको ठगीधन्दाबारे जानकारी गराउँदा पनि भक्तपुरका सीडीओ खड्कप्रसाद अधिकारीले बेवास्ता गरेका छन् । अहिलेसम्म सीडीओेले त्यस्तो ठगीधन्दालाई बन्द गराएका छैनन् । सीडीओेले तत्काल माताको ठगीधन्दा बन्द गर्नुपर्यो ।

    होइन भने गृहमन्त्री नारायणकाजी श्रेष्ठले तिनलाई सरुवा गरेर काम गर्न सक्ने सीडीओ पठाउनुपर्यो । सर्वसाधारण पनि सचेत हुन जरुरी छ । बिरामी भएको बेला माताकहाँ होइन, अस्पताल जानुपर्छ भन्ने ज्ञान सर्वसाधारणमा आओस् । जनस्तरबाटै माता, धामीझाँक्रीको विरोध गरेमा मात्र यो ठगीधन्दा बन्द गर्न सम्भव छ । सरकारले पनि गरिब जनताका लागि निःशुल्क उपचारको व्यवस्था गर्नुपर्छ । स्वास्थ्य सेवा छिटोछरितो बन्ने र स्वास्थ्यकर्मीहरु बिरामीको स्वास्थ्यप्रति गम्भीर बने भने माताहरुको ठगीधन्दा बन्द हुन्छ ।

    माता, धामीझाँक्रीहरुले समेत राजनीतिक पार्टीको सदस्यता लिएका छन् । राजनीतिक दलहरुले पार्टी चलाउनसमेत यिनीहरुबाट चन्दा उठाउने गरेका छन् । सबैजना चेतनशील हुने हो भने माताहरुको धमिलो पानीमा माछा मार्ने धन्दा बन्द हुन्छ । राजधानीमै माताले ठगेको सरकारले देख्दैन भने दुर्गम जिल्लाको अवस्था झन् कस्तो होला ? अनुसा थापा, भक्तपुर

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार