Nepal Face
  • शनिबार, ६ मंसिर २०८३
  • प्रधानमन्त्री वालेनले मोदीसँग सोमबार भेटवार्ता गर्ने, भ्रमणको कार्यतालिका यस्तो छ


    शनिबार, मंसिर ६ २०८३
    135
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भारत भ्रमणका क्रममा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् ।

    भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार, मंसिर ७ गते सोमबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा दुई प्रधानमन्त्रीबीच भेटवार्ता हुनेछ ।

    प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार दिउँसो ३ बजेर १५ मिनेटमा नयाँ दिल्ली पुग्नेछन् । भ्रमणको पहिलो दिन आइतबार साँझ ६ बजे उनले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग नयाँ दिल्लीस्थित होटल ताजमहलमा भेटवार्ता गर्ने कार्यक्रम छ ।

    भ्रमणको दोस्रो दिन सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिनेछ । त्यसपछि उनी महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन् ।

    राजघाटको कार्यक्रमपछि हैदरावाद हाउसमा शाह र मोदीबीच द्विपक्षीय वार्ता हुनेछ । वार्तापछि सोमबार मध्याह्न १२ बजेर २५ मिनेटमा दुई देशबीच हुने सहमति तथा सम्झौताहरू आदानप्रदान र संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम तय गरिएको छ ।

    त्यसपछि प्रधानमन्त्री शाहले दिउँसो ३ बजेर १५ मिनेटमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ता गर्नेछन् ।

    दुईदिने भ्रमण पूरा गरी प्रधानमन्त्री शाह सोमबार अपराह्न ४ बजेर ५० मिनेटमा नयाँ दिल्लीबाट स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार