काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका लागि आइतबार भारत जाने भएका छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको भारत भ्रमणको कार्यतालिका र भ्रमणमा सहभागी हुने टोलीबारे औपचारिक रुपमा जानकारी गराएको हो ।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री शाहले मङ्सिर ६ र ७ गते भारतको भ्रमण गर्नेछन् । उनी आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत प्रस्थान गर्नेछन् । भ्रमण सम्पन्न गरी सोमबार साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सकै नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको उनले बताए।
प्रधानमन्त्रीको भ्रमण टोली ३४ सदस्यीय हुनेछ । टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार तथा विभिन्न मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन् । नयाँदिल्लीस्थित नेपाली राजदूतावासका राजदूतसहित केही सदस्य पनि भ्रमण टोलीमा थपिनेछन् ।
त्यस्तै, भ्रमणका क्रममा निजी क्षेत्रबाट ५२ जना व्यवसायी आफ्नै खर्चमा भारत जानेछन् । भ्रमणको रिपोर्टिङका लागि विभिन्न सञ्चारमाध्यमका पत्रकार पनि आफ्नै खर्चमा भारत जाने मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग मङ्सिर ७ गते प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाह र उनको प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्ने औपचारिक मध्याह्नभोजमा पनि उनी सहभागी हुनेछन् ।
भ्रमणकै क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन् । त्यस्तै, आइतबार नै भारतीय विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गर्नेछन् । साथै, दुई देशबिच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि तय भएको छ ।
भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल कार्यक्रमसमेत हुनेछ । उक्त कार्यक्रममा प्रधानमन्त्री शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्नेछन् । नेपालमा भारतीय लगानी आकर्षित गर्ने, व्यवसायीका चासो र सरोकार सुन्ने तथा लगानी विस्तारका लागि नेपाल सरकारले अवलम्बन गरेका नीतिगत दृष्टिकोण र प्रयासबारे जानकारी गराउने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
दुई देशका प्रधानमन्त्रीबीचको वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधारलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ । त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनलगायतका क्षेत्रमा विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ ।
प्रधानमन्त्री शाह स्वदेश फर्किएपछि मङ्सिर ७ गते अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणका विषयवस्तु र उपलब्धिबारे पत्रकार सम्मेलन गरी जानकारी गराउने कार्यक्रम छ
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेश सभाको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव अघि सारेको छ। आयोगले शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको निष्पक्षताको सुनिश्चितता गर्ने जिम्मेवारी सरकारको भएको बताएका छन् । शुक्रबार निर्वाचन आयोगसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै...
काठमाडौँ। सुर्खेत कारागारभित्र एक महिला बन्दीको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेकी १९ वर्षीया संगिता शाही मृत भेटिएकी हुन्...
काठमाडौँ। प्रहरीले हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीलाई नियन्त्रणमा लिएको छ । गाउँपालिकाकै एम्बुलेन्स चलाउँदै आएका चंखेली गाउँपालिका-४, का पृथ्वीबहादुर सिंहलाई कुटपिट गरेको आरोपमा...
काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य ७ वटा निर्णयहरू सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend