Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • लायन्समा विवाद चुलियो : पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन डा. अग्रवालको सदस्यता समाप्त


    बिहिबार, भाद्र २५ २०८३
    110
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • वीरगञ्ज । लायन्स मल्टिपल डिस्ट्रिक्ट ३२५ का पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन तथा लायन डा. रमेशकुमार अग्रवालको लायन्स क्लब मिलेनियम एमजेएफबाट सदस्यता समाप्त गरिएको घटनाले लायन्स वृत्तमा चर्चा चुलिएको छ ।

    उपलब्ध विवरणअनुसार क्लबमा करिब १० हजार अमेरिकी डलर विदेशी सहयोग प्राप्त हुने र लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसन (एलसीआइएफ) बाट थप १० हजार अमेरिकी डलर परियोजना सहयोग माग गरी कुल २० हजार अमेरिकी डलर बराबरको परियोजना अघि बढाउने विषयबाट विवाद सुरु भएको थियो ।

    परियोजनामा प्रस्तावित विदेशी सहयोग र एलसीआइएफको सहयोग गरी प्राप्त हुने रकम क्लबको क्षेत्र वा एरियासँग प्रत्यक्ष सम्बन्धित नभएको विषयसमेत विवादको कारण बनेको बताइएको छ ।

    परियोजना कुन क्षेत्रका लागि सञ्चालन गर्ने, कसको पहलमा अघि बढाउने तथा आर्थिक सहयोग प्राप्त र परिचालन गर्ने प्रक्रिया के हुने भन्ने विषयमा क्लबभित्र थप छलफल आवश्यक रहेको धारणा पनि उठेको थियो ।

    उक्त परियोजनासम्बन्धी निर्णय तत्काल अघि बढाउनुपर्ने पक्षमा डा. अग्रवाल रहेको बताइएको छ भने क्लब अध्यक्षले भने ठूलो रकमसँग सम्बन्धित विषय भएकाले क्लबको बैठक बोलाएर छलफल तथा सामूहिक निर्णयपछि मात्रै प्रक्रिया अघि बढाउनुपर्ने अडान राखेको बताइएको छ ।

    यही विषयमा दुई पक्षबीच असहमति बढ्दै गएपछि डा. अग्रवालले आफूलाई ‘ड्रपआउट गर्नुस्’ भन्दै ह्वाट्सएपमार्फत् लिखित जानकारी गराएको र त्यसपछि क्लबको समूहबाट समेत बाहिरिएको विवरणमा उल्लेख छ ।

    क्लबले भने तत्कालै सदस्यता समाप्त नगरी केही समय प्रतीक्षा गरेको र त्यस अवधिमा समेत डा. अग्रवालबाट सदस्यता निरन्तरताका सम्बन्धमा कुनै प्रतिक्रिया नआएपछि गत ५ अगस्ट २०२६ मा उहाँलाई लायन्स क्लब मिलेनियम एमजेएफको सदस्यताबाट ‘ड्रपआउट’ गरिएको जनाएको छ ।

    लायन्सबाट अग्रवाललाई निस्कासन गरिएको निस्सा

    लायन्समा लामो समयदेखि सक्रिय रहँदै उच्च नेतृत्व तहमा पुगिसकेका डा. अग्रवालको सदस्यता समाप्त भएको घटनालाई संगठनभित्र गम्भीर घटनाका रूपमा हेरिएको छ । विशेषगरी अन्तर्राष्ट्रिय डाइरेक्टर बन्ने आकांक्षा राख्नुभएका डा. अग्रवालको सदस्यता नै समाप्त भएपछि उहाँको आगामी नेतृत्व यात्रामाथि समेत प्रश्न उठ्न थालेको छ ।

    यसैबीच, डा. अग्रवालको व्यवसायिक पृष्ठभूमिलाई लिएर समेत विभिन्न दाबी सार्वजनिक हुन थालेका छन् । स्रोतका अनुसार उनी विवादित व्यवसायी शंकर गोल्यानका भान्जा रहेको बताइन्छ । स्रोतले अग्रवालले शंकर ग्रुपसँग सम्बन्धित जगदम्बा ग्रुप नामको व्यवसायिक फर्म सञ्चालन गर्दै आएको दाबीसमेत गरेको छ । यद्यपि यी सम्बन्ध र व्यवसायिक भूमिकाबारे सम्बन्धित पक्षबाट औपचारिक पुष्टि वा विस्तृत प्रतिक्रिया सार्वजनिक भएको छैन ।

    त्यस्तै, अग्रवालले आफ्नो नामअघि ‘डा’ लेख्ने गरेको भए पनि उक्त उपाधि कुनै विषयमा प्राप्त गरेको शैक्षिक डक्टरेट नभई मानार्थ उपाधि भएको र सोही आधारमा नाम अघि ‘डा’ प्रयोग गर्ने गरेको दाबी उहाँका निकटवर्ती स्रोतले गरेको छ । यो दाबीको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ । त्यसैले उहाँको शैक्षिक योग्यता तथा ‘डा’ उपाधिको आधिकारिक स्रोतबारे सम्बन्धित संस्थाबाट स्पष्ट जानकारी आवश्यक देखिन्छ ।

    यद्यपि सदस्यता समाप्त गर्ने निर्णय, परियोजनासम्बन्धी विवाद तथा त्यसअघि भएका पत्राचार र छलफलका विषयमा डा. अग्रवालको विस्तृत धारणा सार्वजनिक रूपमा आइसकेको छैन । त्यसैले घटनाको अर्को पक्ष र सदस्यता समाप्त गर्ने निर्णयको आधिकारिक आधारबारे थप स्पष्टता आवश्यक देखिन्छ ।

    लायन्स क्लबको संगठनात्मक संरचना विधि, विधान र सामूहिक निर्णय प्रक्रियामा आधारित रहने भएकाले आर्थिक सहयोग तथा परियोजनासँग जोडिएका विषयमा संस्थागत निर्णयको महत्व रहने जानकारहरू बताउँछन् ।

    २० हजार अमेरिकी डलरको प्रस्तावित परियोजनाबाट सुरु भएको विवाद अन्ततः पूर्व मल्टिपल काउन्सिल चेयरपर्सनको सदस्यता समाप्त हुने अवस्थासम्म पुगेपछि घटनाले लायन्सभित्र व्यक्तिगत प्रभावभन्दा संस्थागत प्रक्रिया, पदभन्दा संस्था र एकल निर्णयभन्दा सामूहिक निर्णयको महत्वबारे बहससमेत निम्त्याएको छ ।

    अब डा. अग्रवालले यस घटनापछि के कदम चाल्नुहुन्छ र उहाँको लामो लायन्स नेतृत्व यात्रा यहीँ रोकिन्छ वा नयाँ अध्यायबाट अघि बढ्छ भन्ने विषय आगामी दिनमा स्पष्ट हुने देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार