शिवकुमार थापा
काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको महाबिनासकारी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर लगायतका सडकमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले मौका छोपेर प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा मूल्य बढाएका छन् ।
यो मूल्यबृद्धिपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको मूल्य २ हजार १६५ रुपैयाँ ३८ पैसा पुगेको छ । यसअघि प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ थियो । तथापि अभाव भने कायमै छ ।
दुई तिहाईको सरकार बन्नेबित्तिकै आमजनताको आशा हुन्छ, स्थिर र बलियो सरकार बन्छ र जनताका पक्षमा काम हुन्छन् । सुशासन कायम हुन्छ । तर, शासकले जनताको पीडा बुझेनन् भने त्यो भन्दा दुर्भाग्य केही नहुने पटक–पटकका उदाहरणबाट पुष्टि भएका छन् ।
अहिले बिपदको मौका पारेर खाना पकाउने ग्यासको मूल्य बढाइएको छ । लामो समयदेखि अभाव सिर्जना गरिएको छ । तर, बोल्ने अधिकांशको साहस छैन । किनकि हिजो चुपचाप घण्टीमा छाप भनेर जिताएर पठाएका अधिकांश जनप्रतिनिधि छन् । प्रतिपक्ष कमजोर छ । भ्रष्टाचार झनै मौलाएको छ । किनकि मूल्य बढाए पनि ग्यासमा तौल कति छ ? लेदो सफा गरिएको छ कि छैन ? कुनै अनुगमन छैन ।
तिनै ग्यास कम्पनीका रेटिङ कम्पनीहरुले कमिसनका आधारमा अत्याधिक बढी मूल्य राखेर शेयर निष्कासन गरेका छन् । तीमध्येका ग्यास कम्पनीहरु पनि छन् । एउटा सिलिन्डरमा दुई केजी मात्रै लेदो हुँदा पनि ग्यास रिफिलिङ गर्ने कम्पनीहरुलाई दुई सय पचास भन्दा बढी अतिरिक्त नाफा हुने गर्दछ । यसरी गुणस्तर र मापदण्डका लागि अनुगमनमा जाने कर्मचारीहरु पहिले नै सम्पर्क गरी जाने गरेका कारण खामबन्दी कमिसन प्राप्त गर्दछन् ।
ग्यास कम्पनीहरुको विदेशमा लगानी
ग्यास अभाव र मूल्यबृद्धिका लागि उद्योगमन्त्री गौरी यादव, नेपाल आयल निगमका पदाधिकारी, उधोगीहरु शिव प्रसाद घिमिरे, गोकुल भण्डारी, राजेन्द्र डल्लाकोटीलगायतको मूख्य भूमिका रहेको बताइन्छ ।
नेपालमा अत्याधिक नाफा भएका केही ग्यास कम्पनीहरुले आफ्ना परिवारका सदस्यमार्फत् विदेशमा हुण्डीमार्फत् रकम लगेर लगानी गरिरहेका छन् । तथापि राजस्व विभाग, नेपाल राष्ट्रबैंकलगायतका नियामक निकाय कानमा तेल हालेर बसेको अवस्था छ । श्रीकृष्ण ग्यासका मालिक राजेन्द्र डल्लाकोटीले छोरामार्फत् अमेरिकामा लगानी गर्न करोडौं रुपैयाँ नेपालबाट लगेको स्रोतको दाबी छ । उनले रेटिङ कम्पनीसँगको मिलेमतोमा अत्याधिक मूल्य बढाएर लिमिटेड कम्पनीको हैसियत कायम गरी शेयर निस्कासन गर्ने तारतम्य मिलाएका छन् ।
नेपाल ग्यासका प्रवन्ध निर्देशक गोकुल भण्डारीले पनि अबैध लगानीमार्फत् काम गरेको बताइन्छ । त्यसैगरी सुनसरीमा ग्यासको सिलिण्डरको पिंध काटेर चर्चामा आएका शिवप्रसाद घिमिरेले ७ वटा ग्यास उद्योग चलाएका छन् । उनले सरकारको निकम्पापनका कारण गुणस्तरहीन सिलिण्डर प्रयोग गर्दै आए पनि छुट पाएका छन् ।
निगमका निवर्तमान कार्यकारी निर्देशक व्यवसायीको आतिथ्यमा सरकारी गाडीमा
२०८२ साल चैत १४ गते शनिबारका दिन दिउँसो करिब २ बजे नेपाल आयल निगमका निवर्तमान कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट श्रीकृष्ण ग्यासका मालिकको आतिथ्य ग्रहण गर्न जाँदा आफैले सरकारी गाडी डिभाइडरमा ठोक्काएर दुर्घटना गराएका थिए ।
बीएए ७६५४ नम्बरको सरकारी गाडी काठमाडौँको कलङ्की चोकमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो । ग्यास कम्पनीका मालिक राजेन्द्र डल्लाकोटीका ग्यास कम्पनीहरु श्रीकृष्ण ग्यास र साइबाबा ग्यासको कार्यालय पनि कलंकीमै छन् । त्यसपछि भट्टलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।
मापसे गरेर गाडी चलाएका गोरखाका भट्टलाई लम्जुङमा जन्मघर भएका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमख नवराज अधिकारीले बचाउ गरेका थिए । सरकारी कर्मचारीले सेवाग्राहीसँग के गर्न हुने र नहुने आचारसंहिता पनि पालना नहुँदा ब्यवसायीहरुबाट प्रभावमा परेका थुप्रै उदाहरण छन् ।
पटक–पटक मूल्यबृद्धि विद्यार्थी संगठन मौन
पेट्रोलियम पदार्थमा एकलौटी ब्यापार कायम गर्दै आएको नेपाल आयल निगमले कतिपय विषयमा पारदर्शीता कायम गरेको छैन । भारतीय आयल निगमसँगको सम्झौता पनि आमजनताले पढ्न पाएका छैनन् । पुराना पार्टीहरुको सरकार हुँदा १ सय ५० को आसपासमा मूल्य कायम गरिएको डिजेल र पेट्रोलको मूल्यमा इरान– अमेरिका युद्धको कारण देखाएर मूल्य बढाए तापनि अहिलेसम्म घटाइएको छैन । दक्षिण एशियामा सबैभन्दा महंगो मूल्यमा पेट्रोलियम पदार्थ नेपाल सरकारको मातहतमा रहेको नेपाल आयल निगमले बेचिरहेको छ । तथापि एक रुपैयाँ मूल्य बढ्दा आन्दोलन गर्ने विद्यार्थी संगठन एक शब्द उचारण गरेका छैनन् ।
विवादित ब्यवसायीकै हालीमुहाली
करिब १४ बर्षअघि अर्थात् २०६९ सालमा बजार अनुगमनका क्रममा अन्य ग्यास कम्पनीका सिलिण्डरहरूको तल्लो भाग (फुटरिङ/पीध) काटेर वा स्वरूप परिवर्तन गरेर आफ्नै कम्पनीको सुगम ग्यासको लोगो राखेर अवैध रूपमा बजारमा पठाएको भन्दै शिवप्रसाद घिमिरेलाई कालाबजारी ऐन अन्तर्गत कारबाहीका लागि मुद्दा दायर भएको थियो । तर, सुनसरीका तत्कालीन प्रमख जिल्ला अधिकारी चुडामणि शर्माले सामान्य धरौटीमा छाडिदिएका थिए ।
उनी पटक–पटक ग्यास ब्यवसायी उद्योग संघमा अध्यक्ष पनि भए । उनका एभरेष्ट, सुगम, सहारा, त्रिशुल, प्रिमालगायतका ग्यास कम्पनी छन् । उनको ग्यास कम्पनीले सुदूरपश्चिममा पुरै बजार कब्जा जमाएको छ । आफूलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भान्जा बताएर फाइदा लिने गोकुल भण्डारीका नेपाल ग्याँस, एचपी, त्रिवेणी, लोकप्रियलगायत ७ वटा ग्यास कम्पनी छन् । बजारमा उनीहरुकै दबदबा छ ।
उद्योगमन्त्री यादवका कारण प्रधानमन्त्रीको बद्नाम
उद्योगमन्त्री गौरीकुमारी यादवकै कारण प्रधानमन्त्री बालेन्द्र शाह ग्यासको अभाव र मृल्यबृद्धिमा बद्नामी भएका छन् । मन्त्रीका श्रीमान डा. शिवजी यादवको बिभिन्न उद्योगी र व्यवसायीसँगको मिलेमतोका कारण प्रधानमन्त्री शाहले आइजीपी कार्कीलाई उद्योगमन्त्रीलाई पक्राउ गर्न आदेश नै दिएको चर्चा मिडियामा आएको थियो । झण्डै दुई सय तोला सुन सम्पत्ति विवरणमा देखाएकी मन्त्री यादवका श्रीमान शिवजी यादव संघीय समाजवादी पार्टीबाट समानुपातिक सांसद बनेका थिए । उनी पछि एमालेमा प्रवेश गरी केन्द्रीय तहका नेतासमेत भएका थिए ।
ग्यासको कालोबजारी तर नियमन छैन
उद्योगीहरुले आयल निगमलाई नियन्त्रणमा लिएर झण्डै पचास हजार सिलिण्डर सिधै उपभोक्तालाई बिक्री गरे । जसबाट बजारमा ग्यासको अभावको अन्त्य भएन । किनकि कालोबजारी बढ्यो । उद्योगीहरुको टोल–टोलमा भएका खुद्रा डिपोबाट बिक्री गर्दा उपभोक्ताकहाँ सिधै पुग्छ । किनकि सधै आउने ग्राहकहरु उनीहरुले चिनेका हुन्छन् । तर, आयल निगमले उद्योगीसँगको मिलेमतोमा ग्यास बेचेपछि बजारमा टोले गुण्डा, बिचौलियाहरुले कालोबजारीमा ग्यास बेचिरहेका छन् । अहिले टेकू र साल्ट ट्रेडिङबाट राजु लामा लगायतका व्यक्तिहरुले ग्यास लिएर ३ हजार देखि ३ हजार ६ सय रुपैयाँमा ग्यास बेचिरहेको स्थानीयहरु बताउँछन् । नेपाल ग्यास, सिता ग्यास र साल्ट ट्रेडिङबाट ग्यास उठाएर यसरी महंगो मूल्यमा बिक्री गरिए पनि अहिले बजार अनुगमन शून्य नै छ ।
दुई रङको ग्यास सिलिण्डर भएन कार्यान्वयन
तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले व्यवसाय र घरायसी प्रयोजनका लागि छुट्टछुट्टै दुई रंगको सिलिण्डर बजारमा ल्याउने भनी उद्योगी र विक्रेताहरुसँग सहमति गरे । तर, लागू भएन । यसमा पनि ग्यास उद्योगी र होटल व्यवसायीहरुको साँठगाँठमा रोकियो । यसरी ग्यास उद्योगीहरुको नियन्त्रणमा सरकारले काम गर्दै आएको थियो । ग्यास विक्रेता संघका कार्यवाहक अध्यक्ष विष्णु दुलालसँग सम्पर्क गरी प्रतिक्रिया माग्न खोज्दा सफल हुन सकेन । उनले पटक–पटक फोन काटिमात्रै रहे ।
के भन्छन् उपभोक्तावादी माधव तिमिल्सिना ?
अहिले देशमा बाढी–पहिरोले जनता आक्रान्त छन् । यो अवस्थामा सहजीकरण गर्नुपर्नेमा सात दिनपछि नै खुल्ने बाटोको कारण देखाएर मूल्य बढाइएको छ । सरकार जिम्मेवार भएन र राज्यलाई नै चुनौती दिएर मूल्य बढाउनु कुनै हालतमा जायज हुँदैन । सरकारले यो विषयमा ध्यानै दिएन । आपूर्ति व्यवस्थालाई चुस्त दुरुस्त बनाउनुपर्ने ढुवानीको कारण देखाएर मूल्यवृद्धि गर्नु राम्रो मान्न सकिँदैन । डायरी एक्सप्रेस साप्ताहिकबाट
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३५७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend