कुमार दाहाल
अस्टिन फाइल्स अहिले पश्चिमा राजनीतिमा निकै चर्चित छ । अमेरिकी न्यायिक समितिले खुला गरेको अस्टिन फाइलका केही अंशहरू अहिले चर्चित छन् । यसमा राजनीति ,व्यापारी उद्योगपति र दलालहरूको बीचको सम्बन्ध मानवीय स्तरबाट कतिसम्म तल चलखेल गर्छ, चलचित्रझैँ पटाक्षप भएको छ ।
पैसा र शक्ति मानवताभन्दा माथि छ । मानवताको रक्षा कवचको रुपमा रहेका यी शक्तिहरू देखावटी मात्र हुन् । पैसा र शक्ति मान्छेका कमजोरी हुन् । यसले दया भावना प्रेम देखाउँछ मात्र यो बिषय अस्टिन फाइल्सले प्रष्ट पार्छ । हाम्रोमा पनि अहिले कमल मालपानी चर्चित छन् । राजनीति र लाइन कर्मचारीतन्त्रका नेतृत्वमा उनको नीति र निर्देशन खुल्लमखुल्ला छ ।
म बाणिज्य विभागको महानिर्देशक हुँदा उनका फाइलमा अनुसन्धान गरेको थिएँ । उनको सम्बन्ध राजनीति र प्रशासनिक क्षेत्रका व्यक्तित्वसँग अनुमान गरेभन्दा माथि छ। कुनै पनि दल वा संगठन वा राजस्व प्रशासनका प्रभावशाली व्यक्तिसँग उनको नजिकैको सम्बन्ध छ ।

सूर्ती र गुर्खाका प्याकेटमा तौलको ठगी र राजस्वको अपारदर्शी व्यवहार उनको थामी नसक्नु छ । यसबाट अर्बौं होइन वर्षमा खर्बौं राजस्वको अनियमितता हुने गर्छ । र, यसमा सबैको मिलोमतो छ । अमेरिकामा अस्टिन फाइल्स खुल्दा राजनीति नेतृत्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति नेतृत्वमा निकै खैलाबैला हुँदैछ ।
मान्छेको इच्छाले कतिसम्म तल्लो स्तरमा र्पुयाउँछ उदाहरण देखाएको छ । अहिले व्यापारी र राजनीति र दलालको बीचमा त्रिकोणात्मक सम्बन्ध छ । नेपालमा मात्र होइन विश्व राजनीतिलाई नै यसले गिजोलेको छ। र सीमान्त र भूमि मान्छेहरु यसको दर्शक बनेर बसेका छन् । सायद पुँजीवादको उत्कर्ष यही हो । यदि व्यक्तिगत स्वतन्त्रता राजनीति र अर्थशास्त्रमा समकालीन सुधार र चिन्तन गरिएन भने यसैको उत्कर्षले क्रमश विश्वमै राजनीतिक क्षयीकरण गर्ने निश्चित छ । नेपाल त यसको अनुयायी दर्शकमात्र हो ।
अवकाशपछि म केही पर्यटकीय स्थलहरूमा घुम्न ,रमाउन थाले । त्यहाँ एसियन, युरोपियन, अमेरिकन थुप्रै मानिसहरूसँग मेरो भेट भयो । एकजना नर्वे दम्पत्तिसँग खुब गफिन पाइयो । चेल्सी र जोन बर्ड । उनी नेपालको राजनीतिमा खुब चासो राख्थे । उनले मलाई मुस्कुराउँदै सोधे, तपाईँहरुको यति राम्रो भूगोल भइकन किन जताततै खराबी मात्र देखिन्छ । मेरो उत्तर केही थिएन । मैले कतै नीति र नेतृत्वमै समस्या हो कि भनेर आफ्नो कुरा स्पष्ट राखेँ । उनको उत्सुकता थियो, तपाईँहरू किन व्यापारीलाई राजनीति जिम्मा दिनुहुन्न ? हामीले दिइसक्यौं ।
हामी ढुक्क छौँ । हामीलाई राजनीति र जनताको बीचमा तेस्रो पक्ष राख्न त्यति रुचि लागेन । हाम्रा नेताहरु आखिरमा व्यापारी दलाल र उद्योगपतिबाटै बाँचेका छन् । अन्ततः चन्दा सहयोग वा मनोरञ्जन सबै उनीहरुबाटै प्राप्त गर्छन् । जनताबाट मात्र भोट र आश्वासन । अन्ततः राजनीति पैसामा गएर एकाकार हुन्छ । नेताले पूँजीपति वर्गसँग पैसा मागेर राजनीति गर्ने हो भने सिधै उनीहरुलाई राजनीतिक नेतृत्वमा किन नलैजाने ? मेरो मन झसङ्ग भयो । वास्तवमा चेत खुल्यो । नेपालमा शासन व्यापारीले गरेका छन् ।
शासकहरु व्यापारीसँग लम्पसार भएका छन् । अहिले मालपानीले भित्र्याएका लेनरोबर गाडीहरू नेपालकै भन्सारले अनुमति दिएका हुन् । मालपानी त सधैं यो चाहन्छन्। तर नेपालको भन्सार कर्मचारीतन्त्र कसको संरक्षण गरेर बसेको छ ।
साधारण जनताले एउटा मोटरसाइकलसम्म आफ्नो इच्छामा खरिद गर्न सक्दैन । यसका लागि डिलर, कर, भन्सार लगायतका सबै नियम पार गर्नुपर्छ तर कमल मालपानी लगायत थुप्रै अनुहारहरू करोडौंका ल्यान्डरोवर मात्र होइन खरबौंका वस्तुहरू भन्सार नतिरी सोझै बजारमा प्रवेश गराउँछन् । खरबौंको अनौपचारिक अर्थतन्त्र चलाएका छन् । खर्बौं राजस्व उनीहरू तिर्दैनन् । तर जनताले कर राजस्व तिरेका छन् ।
राजनीतिमा अर्थशास्त्र गणित होइन, व्यवहार हो । जनताका लागि अर्थशास्त्र व्यवहार होइन, गणित हो । सीमान्त श्रमिकले पैसालाई जीवन ठान्छ, यही पैसा राजनीतिमा गएर मनोरञ्जन बन्छ । यो मनोरञ्जन सिमान्त जनताका लागि अभिभावकको खेल ठानिन्छ । यहीबाट थुप्रै विकृति, विद्रोह, आन्दोलन र अन्ततः युद्धको अवस्था सिर्जना हुन्छ । राज्यको उत्पत्तिदेखि नै राजनीति र अर्थशास्त्र एक आपसका पूरक हुन् । यसैको वरिपरि सिद्धान्त नीति र दर्शन जन्मिएका छन् ।
अर्थशास्त्र व्यापारी वा उद्योगबाट सञ्चालन हुनुपर्छ भन्ने औद्योगिक क्रान्तिभन्दा अगाडिको सोचलाई त्यसपछिका विचार र सिद्धान्तले यो विषयलाई राजनीतिभित्र ल्यायो । तर राजनीतिका नीति नेतृत्व र नेताहरू यसको स्वार्थबाट अलग हुन सकेनन् । अहिले त पुँजीको धुर्वीकरणले यसलाई क्रमश उत्कर्षमा पुर्याएको छ। र यसका विकृतिहरू साधारण लाग्न थालेका छन् ।
अहिले प्रजातन्त्रका कवच र राजनीतिका संरक्षक संयन्त्र, भ्रष्टाचार आतंकवाद र मानव अधिकार हुन् । यी अस्त्रले जस्तोसुकै खराबी राजनीति र प्रजातन्त्रलाई पनि संरक्षण गरेका छन् । आफ्ना खराबीहरूलाई ढाकछोप गर्न भ्रष्टाचार मुद्दाहरू पर्याप्त छन किनकि राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय कानुनले समेत यिनलाई स्वीकार्छ । तर यथार्थमा यी विषय प्रजातन्त्र र राजनीतिका बाइप्रोडक्ट इफेक्ट हुन् । यस्ता बाइ प्रोडक्ट असरहरु अस्टिन फाइल्स, मालपानीहरूका प्रवृत्तिभित्र लुकेका छन् । जब राजनीति इमान्दार हुँदैन ।त्यसपछि व्यापारीहरू इमान्दार हुने गर्छन् । यो पुरातन मानव स्वभाव हो ।
मैले एउटा अन्तर्वार्तामा भनेको थिएँ । एक वर्षमा २० खर्ब राजस्व सरकारको एक पैसा खर्च नगरिकन उठाउन सकिन्छ । तर यसमा कुनै नेतृत्व, नेता, राजनीतिक दल वा नागरिक समाजले प्रश्न उठाएनन् । सायद म एक्लो बृहस्पति भएँ । तर यो अहिले पनि यथावत छ ।
भर्खरै पूर्वमेयर बालेन साहले दमकमा चढेको गाडीले नेपालको अर्थतन्त्रलाई नंग्याइदिएको छ । तर नेपालको भन्सार प्रणाली राजस्व र कर्मचारीतन्त्र मौन छन् । उनीहरुलाई यो चिन्ता छ कि कतै मेरो हातबाट पो यो फाइल चिप्लिएको छ कि । तर फाइलमात्र होइन क्रमशः देश चिप्लिँदैछ । जसले नेपालका सबै राजनीतिक दल नेता र नेतृत्वलाई पैसा दिन्छन् ।
चुनाव लडाउँछन् । नेतृत्वमा लैजान्छन र आफू अनुसारको नीति बनाउँछन् । नाका र नीतिमा बसेका नेतृत्वले मालपानीलाई भगवान ठान्छन्, दाता ठान्छन् । अस्टिन फाइल्स पुँजीवादको उत्कर्ष हो । व्यक्तिगत स्वतन्त्रता र पैसाको चमत्कार यो भन्दा फरक हुँदैन ।
अहिले हामी चुनावको संघारमा छौँ । सबै दलका नेता नेतृत्व र नीतिको अवलोकन गरिरहेका छौँ । तर यी विकृतिको विषयमा कुनै दल, नेता नेतृत्वले एक शब्द पनि बोलेको पाइँदैन । नेपाल अनौपचारिक अर्थतन्त्रमा चलेको छ । यही सूचकको कारण हामी अविकसित देशबाट विकासशील देशमा फड्को मार्न सकेका छैनौँ ।
बर्षको झन्डै २० खर्ब भन्दा बढी व्यापारीहरुले राजस्व घोटाला गर्छन् । अहिले झण्डै ११ खर्बको राजस्व जनताबाट उठाइएको राजस्व होइन । यो व्यापारीहरुले सरकारलाई दिएको अनुदान हो । के यो विषय अहिलेका अर्थमन्त्री र उद्योगमन्त्रीज्यूलाई थाहा छैन । संरचनात्मक परिवर्तन र छुटको परिवर्तनमा देशको अर्थतन्त्र बलियो हुँदैन ।
सबैभन्दा ठूलो बलियो अर्थतन्त्र भनेको जनताको कर र राजस्वको संरक्षण गर्नु हो । जनताले प्रत्येक दिन उपयोग्य, ग्राहस्थ या जुनसुकै प्रयोगको लागि किनेका सामानहरुमा कर तिरेका छन् । के त्यो कर व्यापारीहरूले राज्यलाई तिर्छन् ? के व्यापारीले ग्राहकलाई बिल उपलब्ध गराउँछन् । अधिकतम मूल्य बिक्री गर्ने वस्तुमा राखेका छन् । थुप्रै प्रश्नहरू छन् न ग्राहकले प्रश्न गर्छन् न नेतृत्वले धारणा राख्छ एउटा यस्तो कवच बजारले तयार गरिदिएको छ । जसलाई जनता वा राजनीतिले आफ्नो सुरक्षाको अवस्था छ । यही कवचभित्र ठूलाठूला खराबीहरू छन् ।
यहीँबाट राजस्वको घोटाला सुरु हुन्छ । यो प्राविधिक विषय होइन । तर व्यापारीहरू यसलाई हतोत्साह गरेको ठान्छन् । र सधैंभरि सहजीकरण गरिदिनुपर्ने माग राख्छन् । यसैमा मन्त्रीहरू र सम्बन्धित कर्मचारीहरु अलमलिन्छन् वा प्रभावमा पर्छन् ।
नेपालको तराईमा भारतीय जिएसटी कर तिरेर झन्डै ७०५ सामानहरूको उपभोग हुन्छ । तर नेपाली भ्याट वा अन्य करहरू तिरिँदैन । कारण चोरी बजार । यो चोरी बजारमा नेपालको प्रशासन राजनीति र सुरक्षा सबैले आँखा चिम्म गरेको छ । यदि जेएसटी सिमानामै फिर्ता गरेर नेपाली भन्सार भ्याट लगाउने हो भने खर्बौं राजस्व तराईको व्यापारिक खरिद बिक्रीले मात्र दिन्छ ।
यो पैसा कहाँ गएको छ । हुन्डीको कारोबारले हुने व्यापारमा कसैले कर तिर्दैन । म बाणिज्य विभागको डीजी हुँदा यी विषयहरुमा धेरै सञ्चार माध्यमबाट मैले आफ्ना रायहरु प्रकट गरिसकेको छु । हुन त धेरै मिडियाहरूको मालपानी यसैबाट चलेको छ । उनीहरूको ग्याल्मर्स र समाचारका पृष्ठभूमिहरू यिनै अनौपचारिक बजारको फाइदाले चलेको छ । त्यसैले यो विषयमा बोल्न त्यति मन पराउँदैनन् । जबसम्म अनौपचारिक अर्थतन्त्र र आन्तरिक बजार सुधार गर्न सक्दैनौ। जस्तोसुकै राजनीतिक परिवर्तन, अनुहार परिवर्तनले देशको मुहार फेरिने वाला छैन ।
आन्तरिक सुधारमा उत्तर दक्षिण, पूर्व पश्चिम कुनै देशको दबाव रहँदैन । साधारण बिल बिजक मात्र लागू गर्ने हो भने २० खर्बभन्दा बढी राजस्व ट्रेजरीमा जम्मा हुन्छ । यसलाई कसले रोकेको छ । मात्र तिनै मालपानी अनुहारहरूको अघोषित पैसा जसले भदौ र २३ र २४ को आन्दोलन निम्त्यायो । बजारका खराबीहरूले राजनीति खराबीहरूमा झन प्रोत्साहन गर्दै जान्छ । किनकि बजारका खराबीहरूमा बढी घुर्की र आश्वासन हुने गर्छ ।
लुकेको विषय यही हो । यही विषयले जताततै खेल खेलेको छ । अहिले नेपाल सरकारले पाँच लाख रुपैयाँको नगद सीमा कायम गर्दा व्यापारीहरुले किन विरोध गरे । अनौपचारिक अर्थतन्त्र बैंकिङ कारोबारबाट भन्दा बढी अनौपचारिक ढंगबाट सञ्चालन हुन्छ । पूर्वको सुपारी र अलैचीको तस्करीले भारतीय पैसालाई नै अवमूल्यन गरिदिएको छ । यसको अर्थ त्यहाँ खर्बौंको तस्करी हुन्छ । सुपारी, सूर्ती, भेप, पोष्टदाना, केराउलगायत थुप्रै वस्तुहरू नेपालमा सोझै प्रवेश हुन्छ ।
नाकामा भ्रष्टाचार हुन्छ । नाकाका कर्मचारीले पैसाका लागि सिमानामा अपराध गरेका छन् । यो अपराधको थुप्रै अंश राजनीति व्यापारी र उद्योगीहरुले देशकै अपघातका लागि काम गरेका छन्, यो प्रत्यक्ष छ । अस्टिन फाइल जस्तै तर खुला हुन मात्र बाँकी ।
अहिलेका अर्थमन्त्रीज्यूलाई के कुरा यो कुरा थाहा छैन । उहाँ राजस्व प्रशासनको ज्ञाता हुनुहुन्छ । के जनताले तिरेको कर राज्यको ट्रेजरीमा पुगेको छ ? कानुनमा सबै विषय स्पष्ट छ । नेपालका कानुन लागू हुँदैनन् । जसको स्वार्थ छ, उसको इच्छा अनुसार मात्र लागू हुन्छ ।
उद्योग र अर्थ मन्त्रालयको मात्र पहल हुने हो भने २० खर्ब राजस्व सरकारको ट्रेजरीमा बर्षैपिच्छे जम्मा हुन्छ । यो गुणात्मक रुपमा बढेर जान्छ । हामीले कसैसँग हात थापिरहनुपर्दैन । भारतको कर नीति र नेपालको कर नीतिले सिमानामा कति असर गरेको छ भन्ने कुरा आजसम्म कुनै लेख दस्तावेज वा सरकारी नीतिमा देखिँदैन । यसको फाइदा कसले लिइराखेको छ । किन हामी समसामयिक कर नीतिमा जागरुक छैनौँ । यो विषय तिनै डिपस्टेटका व्यापारीहरूलाई थाहा छ । उनीहरु यो विषयमा चुइक्कसम्म बोल्दैनन् । तर कर छुट र सुविधाका विषयहरूमा एक मिनेट पनि सहनशीलता देखाउँदैनन् ।
व्यापारीहरू करदाता होइनन् । करदाता जनता हुन्। व्यापारीहरु कर संकलक मात्र हुन् । तर उनीहरू करदाता भएको बहानामा सरकारी नीतिमा दबाब सिर्जना गर्छन् । तर यो दबाब जनताबाट हुनुपर्ने हो । व्यापारीहरुले आफ्नो नाफा लिन्छन् । कर जम्मा गर्छन् । इमान्दारी साथ सरकारलाई कर बुझाउँछन् । यो उनीहरूको व्यापारिक धर्म हो । तर धर्म नष्ट भएपछि नाफा यिनीहरूको कर्म बन्छ । अमेरिकामा त अस्टिन फाइल खुल्यो । यसले विश्वकै राजनीति नेतृत्व, शक्तिशाली व्यक्तिहरू सबैलाई प्रभाव पारेको छ । नेपालमा मालपानी फाइल्स कसले, कहिले खुल्ने हो प्रतीक्षा गरौं ।
(लेखक बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित बिभागका पूर्वमहानिर्देशक हुन् ।)
अच्युतकृष्ण शरण राष्ट्रको इतिहास र भूगोलको कालखण्डमा केही यस्ता यक्षप्रश्नहरू खडा हुन्छन्, जसले केवल राजनीतिक नक्साको सिमाना मात्र कोर्दैनन्, बरु राष्ट्रिय स्वाभिमान, नेतृत्वको नैतिक चरित्र...
वालेन शाह सरकार गठन भएको भए ४० दिन भयो । सपनाको सय बुँदा बाचा प्रतिबद्वता जे भए पनि कार्यशैली प्रजातान्त्रिक देखिएन । १. प्रधानमन्त्री पद...
कुमार दाहाल काठमाडौं । राजनीतिभित्रको मनोविज्ञान र विचारले कर्मचारीतन्त्रको स्वरूप निर्धारण गर्छ । कर्मचारीतन्त्रको इतिहास र दर्शन जे भएपनि यसको संरचना र सङ्ख्या राजनीतिको इच्छा...
सन्तोष चिमरिया ज्ञानेन्द्र शाह पनि साइत र नायकत्व दुबैमा बेजोड आस्था राख्थे । उस्तो बोल्दैनथे तर नमस्कारसम्म चाहिँ होलसेलमा सबैको फर्काउँथे । राम्रो पक्ष चाहिँ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रुपमा प्रस्तावित बालेन्द्र साह (बालेन) ले यही चैत १३ गते शपथ खाँदैछन् । प्रधानमन्त्रीको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend