Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • बीपी प्रतिष्ठानको सहमतिबिना सिभिल अस्पतालमा नियुक्ति, डा.रेग्मीबिरुद्ध अख्तियारमा उजुरी


    शनिबार, साउन २४ २०८२
    1.9K
    Shares
    नेपाल फेस
  • १० मिनेट पाठ
  • काठमाडौं । वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले ठूलो लगानी गरी प्राध्यापक डाक्टर बनाएका मोहनचन्द्र रेग्मीले उक्त प्रतिष्ठानको सहमति नै नलिई निजामती कर्मचारी अस्पताल (सिभिल सर्भिस हस्पिटल) कार्यकारी निर्देकशकमा नियुक्त भएको खुलेको छ ।

    डा. रेग्मीले सिभिल अस्पतालको कार्यकारी निर्देशकमा आवेदन दिनुअघि र नियुक्ति हुनका लागि पनि आफू कार्यरत निकायको सहमति नलिएकाले उनलाई बर्खास्त गर्नका लागि बीपी प्रतिष्ठानले प्रक्रिया अगाडि बढाएको छ ।

    वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानले डा. रेग्मीलाई पटक–पटक हाजिर हुनका लागि पत्राचार गरिसकेको छ । तर बीपी प्रतिष्ठानमा हाजिर नभएको, सम्पर्कमा नआएकाले प्रतिष्ठानको नियमावली, २०५५ को नियम १०.७ अन्तर्गत सेवाबाट स्वतः खारेज गर्ने कारबाही प्रक्रिया अगाडि बढाउनका लागि प्रतिष्ठानका निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष प्रा.डा. सञ्जीवकुमार शर्मासमक्ष पेश गरेको छ ।

    सिभिल अस्पतालको कार्यकारी निर्देशक नियुक्ति हुनका लागि डा. रेग्मीले नियम अनुसार कार्यरत निकाय बीपी प्रतिष्ठानबाट सहमति लिनैपर्ने कानुनी ब्यवस्था उल्लंघन गरेकाले उनीसँग ३ लाख रुपैयाँ असुलेर बर्खास्तीको प्रक्रिया अगाडि बढाएको छ ।

    नियमविपरीत निजामती कर्मचारी अस्पताल (सिभिल सर्भिस हस्पिटल) को कार्यकारी निर्देशक बनेका डा. रेग्मीका बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि बिभिन्न निकायमा उजुरी परेको छ ।अख्तियारमा २०८२ साउन २१ गते परेको उजुरीको दर्ता नम्बर सी–००६४८१ हो । डा. रेग्मी वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत छन् । तर नियमबिपरीत निजामती अस्पतालको कार्यकारी निर्देशक नियुक्त भएकाले कारबाही गर्नुपर्ने उजुरीमा उल्लेख छ ।

    बिरामी बिदा, घर बिदा, पर्व बिदा तथा बेतलबी बिदा लिएर सिभिल अस्पतालमा २ वर्षदेखि काम गर्दै आएका डा. रेग्मी प्रतिष्ठानको नियमविपरीत निजामती अस्पतालको कार्यकारी निर्देशक बनेको उजुरीमा उल्लेख छ ।

    रेग्मी विगत ४ महिनाअघि सिभिल अस्पतालका कार्यकारी निर्देशक नियुक्त भएका थिए । ४ वर्षको करार सेवामा उनी कार्यकारी निर्देशक बनेका हुन् । तर, उनी स्थायी जागिरे भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका हुन् । रेग्मी धरानस्थित उक्त प्रतिष्ठानको अब्सटेट्रिक्स एन्ड गाइनेकोलोजी विभागमा प्रोफेसर पदमा कार्यरत थिए ।

    स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानलाई २०८० वैशाख १५ गते पत्र पठाएर रेग्मीलाई काजमा पठाइदिन भन्यो । २०८० वैशाख १७ गते प्रतिष्ठानले स्वास्थ्य मन्त्रालयलाई प्रतिष्ठानको नियमावली २०५५ बमोजिम प्रतिष्ठानका कर्मचारीलाई काजमा पठाउन नमिल्ने जवाफ दिएको थियो ।

    रेग्मीले सिभिलमा काम गर्नका लागि प्रतिष्ठानमा २०८० वैशाख २७ गते २ बर्षका लागि स्वअध्ययन बिदाको आवेदन दिएका थिए । २०८० जेठ १६ गतेदेखि लागू हुनेगरी बिदा माग गरिएको उनको निवेदनमा तत्काल कुनै निर्णय भएन ।

    त्यसपछि पुनः उनले २०८० जेठ १० गते प्रतिष्ठानको नियमानुसार जुनै किसिमको बिदा आफूलाई स्वीकार्य हुने जानकारीसहित निवेदन दिए ।

    त्यसपछि २०८० जेठ १० गते प्रतिष्ठानको कार्यकारिणी समितिको निर्णयबाट उनलाई स्वअध्ययन बिदा दिन नमिल्ने भएपछि २०८० जेठ १५ गतेदेखि लागू हुने गरी २ वर्षका लागि सञ्चित घर बिदा, बिरामी बिदा र बेतलबी बिदा प्रतिष्ठान ले दियो ।

    ‘प्रतिष्ठानको नियमानुसार उक्त प्रयोजनका लागि स्वअध्ययन बिदा दिन नमिल्ने भएको हुँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नियमावली, २०५५ को नियम १०.१८ बमोजिम रेग्मी २०८० जेठ १५ सम्म सञ्चित घर बिदा र बिरामी बिदा गरी जम्मा ३३३ दिन र बाँकी अवधि ३९७ दिनलाई बेतलबी बिदा स्वीकृत गर्ने निर्णय गरियो’ प्रतिष्ठानको कार्यकारी समितिले २०८० जेठ १० गते गरेको निर्णयमा उल्लेख छ ।

    बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानले डा. रेग्मीलाई हाजिर हुनका लागि गरेको पत्राचार

    काज नमिलेपछि बिदा स्वीकृत गराएका रेग्मी यता सिभिल अस्पतालमा स्त्री तथा प्रसूति रोग बिभागमा चिकित्सकको रुपमा काम गर्न थाले । त्यतिबेला उनको मासिक तलव ७० हजार रुपैयाँ तथा तलवको ७५ प्रतिशत मासिक भत्तासमेत दिनेगरी सिभिल अस्पतालले उनलाई करार सेवामा नियुक्त गरेको थियो । तर, अहिले कार्यकारी निर्देशकको रूपमा मासिक २ लाख रूपैयाँ तलब, भत्ता, गाडीको सुविधा, ३७–३८ करोड रूपैयाँको बजेट सञ्चालन गर्न पाउनेदेखि अस्पतालको कार्यालय प्रमुखसमेत हुन पाउने भएकाले उनले प्रतिष्ठानको प्राध्यापकको जागिरभन्दा सिभिलको कार्यकारी निर्देशक रोजेका छन् ।

    त्यसका लागि उनले पहिले प्रतिष्ठानबाट राजीनामा दिनुपथ्र्यो । तर, उनले राजीनामा पनि नदिने र दुवैतर्फको जागिर कायम राख्ने बदनियतका साथ काम गरिरहेको छन् । उता प्रतिष्ठानमा बिदा स्वीकृत गराएका रेग्मी यता सिभिलमा चिकित्सकको रूपमा काम गर्दै आएका थिए । २०८२ फागुन २५ गते सिभिल अस्पतालका तत्कालीन कार्यकारी निर्देशक विधाननिधि पौडेलको ४ वर्षे करार पदावधि समाप्त भएपछि पदपूर्ति समितिले रिक्त रहेको कार्यकारी निर्देशकका लागि निकालेको विज्ञापनमा रेग्मीले आवेदन दिए ।

    १५ जना उम्मेदवारले आवेदन दिएकोमा डा. प्रमोद यादव, डा. रुद्र मरासिनी र डा् मोहनचन्द्र रेग्मी गरी तीन जनाको नाम सिफारिस भयो । ती तीन जनामध्ये रेग्मी ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त भए ।

    बीपीमा स्थायी प्राध्यापक रहेका रेग्मी विगत २ वर्षदेखि करारमा चिकित्सकको रूपमा तथा पछिल्लो ४ महिनादेखि करारमा कार्यकारी निर्देशकको रूपमा कार्यरत छन् ।

    सिभिलमा कार्यकारी निर्देशक पदका लागि उम्मेदवार हुन रेग्मीले प्रतिष्ठानबाट विभागीय स्वीकृति लिनुपर्नेमा त्यो पनि नलिएको उजुरीमा उल्लेख छ ।

    ‘उहाँले सिभिलमा कार्यकारी निर्देशक पदका लागि उम्मेदवार हुन प्रतिष्ठानबाट विभागीय स्वीकृति लिएको भन्ने कुरा विभागको अभिलेखबाट देखिँदैन’ प्रतिष्ठान कर्मचारी भन्छन्–‘अभिलेख हेर्दा उहाँले माग गरेबमोजिम अनुभवको प्रमाणपत्र भने दिएको देखिन्छ । अनुभवको प्रमाणपत्रलाई नै उहाँले प्रतिष्ठानले विभागीय स्वीकृति प्रदान गरेको भनेर पदपूर्ति समितिलाई छल्नुभएको छ ।ु
    यता २ वर्षको बिदा लिएका रेग्मीको बिदाको अवधि सकिएपछि उनी २०८२ जेठ १५ गते प्रतिष्ठानमा हाजिर हुनुपर्नेमा हाजिर भएनन् । त्यसपछि प्रतिष्ठानले उनलाई हाजिर हुन पटक–पटक पत्र लेख्यो । तर, पनि उनी त्यहाँ हाजिर भएका छैनन् ।

    प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा. सूर्यप्रसाद संग्रौलाले रेग्मीलाई २०८० जेठ १४ गते हाजिर हुन इमेलमार्फत् पत्राचार गरेका थिए । रेग्मी हाजिर हुन नआएपछि रजिस्ट्रार संग्रौलाले पुनः २०८२ जेठ २० गते हाजिर हुन आउनेबारे पत्र पनि लेखे ।

    ‘तपाईंको बिदाको अवधि २०८२ जेठ १४ मा पूरा भएकाले प्रतिष्ठानको नियमानुसार २०८२ जेठ १५ गतेदेखि हाजिर हुन निर्णयानुसार जानकारी गराई सो पत्र तपाईंको इमेल ठेगानामा पठाइएकोमा तपाईं प्रतिष्ठानको कार्यालयमा हालसम्म हाजिर हुन नआउनुभएकाले हाजिर हुन पुनः जानकारी गराइन्छ । प्रतिष्ठानमा हाजिर हुन नसक्ने अवस्था भएमा स्पष्ट कारणसहित जानकारी उपलब्ध गराइदिनहुन अनुरोध गरिन्छ । अन्यथा प्रतिष्ठानको नियमानुसार प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत अवगत गराइन्छ’ जेठ २० गते रजिस्ट्रार संग्रौलाले रेग्मीलाई पत्रमा उल्लेख गरेको छ ।

    पत्राचार पश्चात् हालसम्म पनि प्रा. डा. मोहनचन्द्र रेग्मीज्यू प्रतिष्ठानमा हाजिर हुनका निम्ति सम्पर्कमा नआउनुभएको र कुनै जानकारी समेत नगराउनुभएको हुनाले उहाँसँग गरिएको पत्राचार यसै साथ संलग्न राखी प्रतिष्ठानको नियमावली, २०५५ को नियम १०.७ अन्तर्गत सेवाबाट स्वतः खारेज गर्ने कारबाही प्रक्रिया अगाडि बढाउन पेश गरिएको व्यहोरा अनुरोध छ’ संग्रौलाले निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष प्रा.डा. सञ्जीवकुमार शर्मासमक्ष पेश गरेको टिप्पणीमा उल्लेख छ ।

    प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा. सूर्यप्रसाद संग्रौला भने कार्यकारी निर्देशकका लागि प्रतिष्ठानबाट कुनै पनि सहमति प्रदान नगरेको बताउँछन् । ‘प्रतिष्ठानले उहाँलाई कुनै किसिमको सहमति वा नो अब्जेक्सन लेटर प्रदान गरेको छैन’त्यतिबेला पनि स्वास्थ्य मन्त्रालयले काजमा मिलाइदिन भनेपछि नियमवालीअनुसार नमिल्ने भएकैले उहाँको बिरामी बिदा, पर्व बिदा, घर बिदासहित सबै बिदा कटाएर बेतलबी बिदा कार्यकारिणी समितिबाट स्वीकृत गरिदिएको हो ।’ तर, त्यसपछि बिदा सकिए पनि प्रतिष्ठानमा हाजिर हुन नआएपछि कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।

    ‘उहाँले सिभिल अस्पतालमा कार्यकारी निर्देशकको रूपमा अप्लाई गर्नु नै गैरकानूनी काम हो’ संग्रौलाले भन्नुहुन्छ ‘यहाँ उहाँ प्रतिष्ठानको स्थायी प्राध्यापक हुँदा उहाँमाथि प्रतिष्ठानको थुप्रै लगानी भएको छ । हामीले त असुलउपर गर्नुपर्छ । यहाँ उहाँले २ वर्षदेखि न आवास फिर्ता गर्नुभएको छ, न त अन्य फिर्ता गर्नुपर्ने सामान नै फिता गर्नुभएको छ ।

    प्रतिष्ठानको नियमावलीबमोजिम रेग्मीको थप बिदा स्वीकृत गर्न कुनै पनि हिसाबले नमिल्ने रजिस्ट्रारले बताए । ‘रेग्मीसँग ३ लाख रूपैयाँ जति असुल गर्नेगरी सेवाबाट बर्खास्त गर्न मैले फाइल पठाएको छु,ु उनले भने–‘उहाँको बिदा सकिएपछि प्रतिष्ठानमा हाजिर हुन आउनुको साटो शक्ति केन्द्र धाइरहनु भएको छ ।’ डा रेग्मीमाथि तत्काल छानबिन गरी निलम्बन गर्न माग गर्दछौं ।’

    बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानसँग सहमति नलिई निजामती अस्पतालको कार्यकारी निर्देशक नियुक्ति भएकोे र २ बर्षदेखि बिदा स्वीकृत नगराएकोबारेमा प्रतिक्रिया लिन शनिबार बिहान १० बजेर ९ मिनेट जाँदा सिभिल अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीसँग प्रतिक्रियाका लागि पटक–पटक सम्पर्क गर्दा उनले मोवाइल नै रिसिभ गरेनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार