Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • विवादै विवादमा मधेशका डीआईजी, पूर्वअसईको योजनामा घुमुवा परिचालन


    शनिबार, साउन १० २०८२
    2.4K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय मातहतका ८ जिल्लामा तस्करी बढिरहेका समाचार उजागर भइरहेका छन् ।

    भन्सारछलीका सामान भित्र्याउनेसँग प्रहरीले घुस डिल गरेको अडियो नै सार्वजनिक भइरहेका छन् । सर्लाहीको हिरापुर ब्यारेज चौकीका इन्चार्ज सई बैद्यनाथ दासले तस्करीको लाइन दिएर घुस मागेको अडियो बाहिरिएपछि उनलाई निलम्बन नै गर्नुपरेको छ ।

    मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी उमाप्रसाद चतुर्वेदीले नै सादा पोशाकका प्रहरी मातहतका जिल्ला र चौकीमा खटाउने गरेको आरोप छ ।

    डीआईजी चतुर्वेदीले नेपाल प्रहरीका पूर्वअसई श्यामसुन्दर साहको सल्लाहमा सादा पोशाकमा प्रहरी खटाउने गरेको आरोप छ । पूर्वअसई साहले घुमुवाको सूची बनाउने र डीआईजी चतुर्वेदीले त्यही सूचीअनुसार मधेशका ८ वटै जिल्लामा खटाउने गरेको स्रोत बताउँछ ।

    डीआईजीका विश्वासपात्र पूर्वअसई साहले डीआईजीको आडमा अबैध हुन्डीदेखि ट्रान्सपोर्ट संचालकहरुसँग डिल गर्ने गरेका छन् ।

    जागिरका दौरानमा अधिकांश समय मधेश प्रदेश र त्यस अन्तर्गत सर्लाही र रौतहट जिल्लामा घुमुवा बसेका पूर्वअसई साहलाई बसन्तबहादुर कुँवर आईजीपी भएपछि ताप्लेजुङ सरुवा गरेका थिए । ताप्लेजुङ सरुवा भएपछि १ बर्षअघि उनले प्रहरीबाट राजीनामा दिएका थिए । चतुर्वेदी मधेशको डीआईजी भएपछि उनका विश्वासपात्रका रुपमा साहले मधेश प्रदेशका ८ वटै जिल्लामा सादा पोशाकमा खटिने प्रहरीको सूची तयार गर्दै खटाउने गरेका छन् । मधेशका ८ जिल्लामा साहले अबैध हुन्डी कारोबारीदेखि भन्सारछलीका सामान भित्र्याउनेहरुसँग समेत डीआईजीको नाम लिएर लाभ लिने गरेको आरोप छ ।

    डीआईजीका विश्वासपात्र पूर्वअसई श्यामसुन्दर साहले पर्साका होटल ब्यवसायी देवप्रकाश चौरसियादेखि नेपाल प्रहरीका पचासौं जनासँग अबैध नेटवर्किङ ब्यापारको नाममा करोडौं रुपैयाँ लिएर फिर्ता नगरेको आरोप छ । नेपाल प्रहरीका डीआईजी, एआईजीका श्रीमतीहरु रहेको कम्पनी हो भनेर करोडौं पैसा उठाएर पैसा फिर्ता नगरेको चौरसियाले बताए । बीरगंज बसपार्कमा देबदरबार होटल चलाउँदैआएका  चौरसियाले भने–‘मसँग राम्रो फाइदा हुने ब्यापार गर्नुपर्छ, डीआईजी एआईजीका श्रीमती छन् भनेर साढे ७ लाख रुपैयाँ लियो । लामो समयसम्म फिर्ता दिएनन् । ४ बर्ष भइसक्यो, साढे ७ लाख फिर्ता पाउन सकिनँ । पैसा अनलाइनमार्फत् दिएको प्रमाण पनि छ ।’

    पूर्वअसई साहले नेपाल प्रहरीका राजमंगल सिंहसँग ५०–६० लाख, सुरेश यादवको ३० लाख र निरज सिंहको ५ लाख रुपैयाँ खाइदिएको बताए । सुरेश यादवले त घर बेचेर दिएको रकम साहले खाइदिएको देवप्रकाशले बताए । देवप्रकाश भन्छन्–‘राजमंगलसहितका ५० औं प्रहरीसँग साहले करोडौं ठगी गरेको छ, त्यही रकमले क्रेटा गाडी चढेर हिंड्ने गरेको छ । बीरगंज महानगरपालिका–१४ नं. वडाको राधेमाईमा करोडौंको घर बनाएको छ । हामीजस्तालाई ठगेको रकमले काठमाडौंमा समेत घर बनाएको छ रे भन्ने सुनिंदैछ । साहले लगेको रकम नदिएकाले सबै पीडितहरु उजुरी दिन जाँदैछौं ।’

    अबैध नेटवर्किङको नाममा थुप्रै प्रहरीलाई ठगी गरेकोबारेमा पूर्वअसई श्यामसुन्दर साहको प्रतिक्रिया यस्तो छ–‘सबै गलत कुरा हुन् । नेटवर्किङ ब्यापारको नाममा धेरै प्रहरीसँग ३ लाख ५० हजारदेखि ७ लाख ५० हजारसम्म लिएको र फिर्ता नगरेकोबारेमा उनले भने–‘त्यस्तो गरेको छैन, गलत हो ।’

    पूर्वअसई साह र बारा–पर्सामा जरा गाडेर बसेका सई सागर राणाको जोडीले नाकाबाट भन्सारछलीका सामान भित्र्याउने ब्यापारी र अपराधिक समूहलाई संरक्षण गरी अथाह लाभ लिने गरेको आरोप लागेको थियो । १० बर्षसम्म यो जोडीले मधेश प्रदेशका डीआईजी र आईजीपीको संरक्षणमा तस्करी साम्राज्य चलाएको थियो । बसन्तबहादुर कुँवर आईजीपी भएपछि साह र राणालाई ताप्लेजुङ र रामेछाप सरुवा गरिदिएका थिए । ताप्लेजुङ सरुवा भएपछि साहले प्रहरी सेवाबाटै राजीनामा दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार