Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जगदुल्लामा फेरि फसे मन्त्री, कीर्ते कागज पेश गर्ने कम्पनीलाई ठेक्का दिन बिचौलियामार्फत् सेटिङ


    बिहिबार, बैशाख १८ २०८२
    2K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । जगदुल्ला जलबिद्युत आयोजना निर्माणका लागि दोस्रो पटक गरिएको टेण्डर प्रक्रिया पनि गम्भीर विवादमा परेको छ । पहिलो पटकको टेण्डर प्रक्रियामा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का नै संलग्न सेटिङ गरी चेक बाँडिएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेपछि जगदुल्लाको ठेक्का नै रद्द भएको थियो ।

    दोस्रो पटक टेण्डर गरिएको जगदुल्लाको ठेक्का पनि फर्जी कागजात पेश गर्ने चिनियाँ कम्पनी ज्याङसी कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन(जेसीई) लाई पहिलो नम्बरमा राखेर प्राविधिक प्रस्तावमा पास गरिएको तथ्यसहितको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)मा पनि परेको छ । प्राविधिक प्रस्तावमा पास भएको दोस्रो नम्बरको कम्पनी सिनो हाइड्रो कर्पाेरेसनले पीपीएमओमा उजुरी हालेको हो ।

    त्यसैगरी ठेक्का प्रक्रियामा भाग लिएर प्राविधिक प्रस्तावमा फेल गराइएको अर्को भारतीय कम्पनी एसआईएल–थ्रीएचसी जेभीले अख्तियारमा मंगलबार उजुरी हालेको छ । जेसीई–अनक कन्सट्रक्सनलाई कीर्ते कागपत्रका आधारमा प्राविधिक प्रस्तावमा पास गरी टेण्डर दिलाउन उर्जामन्त्री खड्का र जगदुल्ला आयोजनाका प्रमुख कार्यकारी अधिृत (सिइओ) सञ्जय सापकोटा सक्रिय रहेको एसआईएल–थ्रीएचसी जेभीकोे आरोप छ ।

    एसआईएल–थ्रीएचसी जेभीले जगदुल्लाको आर्थिक प्रस्ताव खुल्नुअघि नै मूल्यसूची बाहिरिएको र फर्जी कागजातहरु पेश गरिएको जिकिरसहित टेण्डर रद्दको माग गरी अख्तियारमा उजुरी हालेको हो ।
    १ सय ६ मेगावाट क्षमताको जगदुल्ला हाइड्रोपावर कम्पनीको ठेक्का फर्जी डकुमेन्ट पेश गर्ने जेसीईलाईलाई दिनेगरी सेटिङ मिलाउने काम ऊर्जामन्त्री दीपक खड्काका विश्वासपात्र बिचौलिया अरुण केसी र हाइड्रोमा मारवाडी ब्यापारीका एजेन्ट उत्तम ब्लोनले गरेको आरोप छ ।

    बिचौलिया केसी र ब्लोनले नै पहिलो पटक गरिएको टेण्डरमा सेटिङ गरी कम्पनीहरुलाई चेक बाँडेका थिए । दोस्रो पटकको ठेक्का सेटिङमा पनि केसी र ब्लोन नै लागेका छन् । यी दुई बिचौलियाले नै फर्जी कागजात पेश गर्ने कम्पनी जेसीई–अनकलाई ठेक्का दिनेगरी सेटिङ मिलाएर उक्त कम्पनीलाई मात्र प्राविधिक प्रस्ताव पास गरिएको आरोप छ ।

    एसआईएल भारतमा हाइड्रोसम्बन्धी काम गर्ने प्रतिष्ठित भारतीय कम्पनी हो भने जेसीईले चीनमा हाइड्रोसम्बन्धी काम नै गरेको छैन । जसको आधिकारिकता जाँच गर्न एसआईएल–थीएससीले अख्तियार र पीपीएमओसँग माग गरेको छ ।

    भारतमा चौथो नम्बरमा परेको कम्पनी नेपालमा फेल हुनुलाई दुर्भाग्यपूर्ण मात्र नभई मन्त्री खड्काको स्वार्थ अनुकूल नभएको रुपमा हेरिएको छ । टेण्डरमा भाग लिएको कम्पनी नै अख्तियारको शरणमा पुगेका कारण जगदुल्लाको टेण्डर प्रक्रिया फेरि रद्द हुने अवस्था देखिएको छ । लट २ अन्तर्गत सिभिल र हाइड्रो मेकानिकलको करिव १३ अर्ब बराबरको ठेक्कामा चिनियाँ कम्पनी जेसीई–अनकले १२ अर्ब १५ करोड, सिनोले १३ अर्ब १४ करोड, भारतीय कम्पनी एसआईएल–थ्रीएचसीले १२ अर्ब ४६ करोड तथा टेण्डरमा भाग लिएको अर्को कम्पनी टु एमजी–फेवाले भ्याटसहित करिव १३ अर्ब मूल्य कबोल गरेको विवरण मिडियाहरुबाट सार्वजनिक भएको थियो ।

    २४ वैशाखमा आर्थिक प्रस्ताव खोल्ने भनिए पनि गोप्य हुनपर्ने प्रस्ताव नै बाहिरिएको भन्दै अख्तियारमा टेण्डर रद्दको माग लिएर भारतीय कम्पनी एसआईएल–थ्रीएचसीले उजुरी दिएको हो ।
    नेपाली कम्पनी अनकसँग जेभी गरेको चिनियाँ कम्पनी जेसीईले हालसम्म हाइड्रोको काम नै नगरेको र अन्य कम्पनीले अफ्रिकी देशमा गरेको कामलाई सो कम्पनीको भनेर ठेक्का हत्याउन खोजिएको आरोप लागेको छ ।

    बिचौलियाले सेटिङ मिलाएपछि कीर्ते कागजातलाई बैधता दिन मन्त्री खड्काको निर्देशनमा सिईओ सापकोटाले चिनियाँ दूतावासलाई पत्र लेखेर जेसीई–अनकलाई टेण्डर दिलाई ठूलो आर्थिक लाभ लिन खोजेको अन्य कम्पनीहरुले आरोप लगाएका छन् । जगदुल्लाको ठेक्कामा करिब १ अर्ब रुपैयाँ घोटाला हुन लागेको अख्तियारमा परेको उजुरीमा उल्लेख छ ।

    डोल्पामा निर्माण हुने आयोजना बनाउन २३ अर्ब लागत अनुमान गरिएको छ । जसमा १६ अर्ब ऋण र ७ अर्ब स्वपूँजीबाट जुटाउन लागिएको छ । अहिले सिभिल र हाइड्रो मेकानिकलको मात्रै ठेक्का निकालिएको हो । आयोजनाबाट ५ वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्य छ । पहिलो पटक मन्त्री खड्का नै सामेल भएर चेककाण्ड घटाएको जगदुल्ला जलबिद्युत आयोजना दोस्रो पटकको ठेक्का पनि रद्द हुने संभाबना बढेको हो । जसका कारण जगदुल्ला आयोजना निर्माणमा बिलम्ब हुने र लागत पनि बढ्ने निश्चित छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार