Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • सन्तोषनारायणलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउन दीपक भट्टको चलखेल, अर्थमन्त्रीलाई बिष्णु पौडेलको दबाब


    बिहिबार, जेष्ठ ३ २०८१
    3.2K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा आवेदन दिने ५ जनाको नाम सर्टलिष्टमा निकालेको १ महिना बितिसक्दा पनि नियुक्ति हुनसकेको छैन । बोर्डको अध्यक्षका लागि सर्टलिष्टमा पर्ने ५ जनामा डा.नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ, कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ र सन्तोषनारायण श्रेष्ठ छन् ।

    धितोपत्र बोर्डको अध्यक्ष बनाउन अर्थमन्त्री बर्षमान पुन भन्दा पनि बिचौलियाहरुको स्वार्थ बढी देखिएको छ । आवेदन दिएकामध्ये सन्तोषनारायण श्रेष्ठलाई बोर्ड अध्यक्ष बनाउन बिचौलिया दीपक भट्टले चलखेल गरिरहेका छन् । श्रेष्ठ बुटवलका हुन् । उनलाई अध्यक्ष बनाउनका लागि भट्टले एमाले उपाध्यक्ष बिष्णुप्रसाद पौडेलमार्फत् पनि अर्थमन्त्री बर्षमान पुनदेखि प्रधानमन्त्रीसम्म लबिङ गरिरहेका छन् ।
    भट्टले नयाँ स्टक एक्सचेन्जको अनुमति लिनका लागि पनि बोर्डमा आफ्ना निकट श्रेष्ठलाई अगाडि सारेका छन् । भट्टकै चलखेलका कारण बोर्डको अध्यक्ष नियुक्ति नै रोकिन पुगेको छ ।

    श्रेष्ठलाई बोर्ड अध्यक्ष बनाएर भट्ट हिमालयन स्टक एक्सचेन्जको अनुमति लिने दाउमा छन् । भारत र चीन जस्ता विशाल अर्थतन्त्र भएका देशमा २ वटा स्टक एक्सचेन्जमात्र छन् । तर नेपालजस्तो सानो देशमा एउटा स्टक एक्सचेन्जले नै पर्याप्त बजार पाएको छैन भने अर्को आवश्यकै नभए पनि भट्टले बोर्डमा आफूअनुकूलको अध्यक्ष बनाएर लिन लागिरहेका छन् । उनले अदालतदेखि संसदको अर्थसमितिसम्म चलखेल गरी नयाँ स्टकको लाइसेन्स लिन खोजिरहेका छन् । त्यसका लागि उनले अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्यलाई बोर्डको सदस्यका रुपमा लगेका छन् ।

    शाक्य सधैं अर्थमन्त्रालयमा रजाई गर्ने सहसचिव हुन् । उनलाई लाइसेन्स माफियाका रुपमा पनि चिनिन्छ । दीपक भट्टले अर्थको सहसचिवका रुपमा बिमा प्राधिकरणबाट दीपक भट्ट, सुलभ अग्रवालहरुको हिमालयन रिइन्स्योरेन्सको लाइसेन्स दिए । ७ वटा प्रदेशमा लघुवीमाको लाइसेन्स पनि उनी नै प्राधिकरणको सदस्य हुँदा दिइयो । हिमालयन रि र लघुवीमाको लाइसेन्स दिंदा अरब भन्दा बढी घुस लेनदेन भएको चर्चा अद्यापि चलिरहेको छ । केपी शर्मा ओलीको सरकारको पालामा भएको ठूला नीतिगत भ्रष्टाचारमा हिमालयन रि को लाइसेन्सलाई पनि लिने गरिन्छ ।

    भट्टले यसअघि नै रमेश हमाल अध्यक्ष हुँदा हिमालयन स्टक एक्सचेन्जको अनुमति लिन खोजेका थिए । स्टकको लाइसेन्स लिनकै लागि जनार्दन शर्मा अर्थमन्त्री हुँदा भट्टले हमाललाई नियुक्त गराउन सफल भएका थिए । भट्टले भिनाजु नाताका र आफ्नै लगानीको होटलका म्यानेजर हमाललाई बोर्डको अध्यक्ष बनाएर स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स जारी गराउने योजना बनाएका थिए ।

    ३७ वटा ब्रोकर लाइसेन्स ठूलो आर्थिक चलखेल गरी भट्टले  जारी गराउन सफल भए । तर स्टकको लाइसेन्स लिन भने बोर्ड सदस्यहरुको असहमतिका कारण उनले सकेका थिएनन् । गएको पुसदेखि बोर्डको अध्यक्ष रिक्त छ । रिक्त अध्यक्षमा भट्टकै योजना अनुसार श्रेष्ठ, कृष्णबहादुर कार्कीले पनि आवेदन दिए । सर्टलिष्टमा पनि पारियो ।

    श्रेष्ठलाई यसअघि बिद्युत प्राधिकरणको बोर्ड सदस्य पनि भट्टले नै बनाएका थिए । तिनै श्रेष्ठलाई पुनर्बीमा कम्पनीको अध्यक्ष बनाउन भट्ट अहिले एमालेका बिष्णु पौडेलदेखि माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालसम्मलाई मिलाइसकेका छन् ।

    सन्तोषनारायणलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउनका लागि लबिईङ गर्न भट्टले केही दिनअघि केही दैनिक र अनलाइनका पत्रकारहरुसँग डिनर मिटिङ समेत गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार