Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जाडोमा छालाको समस्याबाट कसरी जोगिने?


    मंगलबार, पुष १७ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौँ। विशेषगरी जाडो मौसममा न्यानो भएर बस्ने चाहना सबैको हुन्छ। तर, आफूलाई न्यानो बनाउन, बाक्लो कपडा लगाउने, एसीमा बस्ने र हिटर वा आगो ताप्ने गरिन्छ। तर आफूलाई न्यानो बनाउने सही तरिका जानिएन भने हाम्रो कपाल, अनुहार तथा शरीरको छाला लगायत शरीरको सौन्दर्यतामा पनि असर पर्न सक्छ।

    त्यस्तै जाडोमा छालाको आद्रता (मोइस्चर)मा कमी हुने गर्छ। त्यसैले प्रायः मानिसमा छाला सुख्खा हुने समस्या हुन्छ। जाडोमा छाला सुख्खा हुनुमा शरीरको तापक्रम र वातावरणको तापक्रमसँग अन्तर सम्बन्धित हुन्छ। शरीरको तापक्रमभन्दा वातावरणको तापक्रम कम भएमा शरीर उक्त तापक्रमसँग समायोजित हुन खोज्छ। शरीरभित्र रहेको तापलाई बाहिर फाल्न थाल्छ। त्यसले तापसँगै शरीरमा पानीको मात्रा घट्न थाल्छ र छाला सुख्खा हुन्छ।

    छालामा आएको सुख्खापनका कारण छाला चिलाउने, रातो डाबर आउने, पोल्ने जस्ता समस्या देखिन्छन्। जसलाई डर्माटाइटिस भनिन्छ।

    कुनै डर्माटाइटिस हुने कारण छालाको सुख्खापन मात्रै होइन। छालामा हुने एक प्रकारको रोग सोराएसिसले पनि हुन्छ। सोराएसिस जिनको खराबीको कारणले देखिने रोग हो। यो एक प्रकारको अटोइम्युन डिजिज पनि हो। मोटो मानिसमा तुलनात्मक रुपमा यो समस्या बढी देखिने गर्छ। जाडोमा सोराएसिसको समस्या बढ्ने गरेको पाइन्छ। पछिल्लो समय यस समस्याका लागि विभिन्न प्रकारका बायोलोजिकल इन्जेक्सनहरुको समेत प्रयोग हुने गरेको छ। यो जिनको खराबीका कारण हुने समस्या भएकोले खानपिनमा विशेष ध्यान दिनु आवश्यक छ।

    छाला रातो हुने, दाद जस्तो देखिने, सुक्खापन हुने र छालामा कत्ला देखिने समस्या हो। सुगर, थाइरोइड सम्बन्धी समस्या भएकाहरुमा यस्तो समस्या बढी देखिन्छ। जाडोमा धेरैलाई चाया–पोतोको समस्या देखिने गर्छ। जाडोमा छाला सुख्खा भएका कारणले चाया–पोतो आउने गर्छ।

    जाडोमा छालाको स्याहार कसरी गर्ने?

    जाडोमा मौसममा अत्यधिक तातोपानीले नुहाउने बानी धेरैको हुन्छ। यसरी धेरै नै तातोपानीले नुहाउँदा छाला एकदमै सुख्खा हुने गर्छ।
    जाडोको समयमा बाक्लो खालको मोस्चराइजर क्रिमको प्रयोग गर्नुपर्ने हुन्छ। यस्ता मोस्चराइजरले शरीरमा पानीको मात्रालाई नियन्त्रणमा राखिरहन्छ।
    नुहाइसकेपछि तुरुन्तै मोस्चराइजर क्रिम वा तेल लगाउनुपर्छ, जसले छालालाई सुख्खा हुनबाट केही मात्रामा बचाउँछ।
    बढी जाडो भयो भन्दैमा हिटरको नजिक धेरै समय बस्नु हुँदैन। कोठालाई न्यानो बनाउनका लागि भेन्टिलेसन भएको कोठाको कुनै कुनामा हिटर बाल्न सकिन्छ।
    जाडो छ भन्दैमा सन्सक्रिमको प्रयोग गर्न छोड्नु हुँदैन।

    जाडोमा हात, गोडा, औंला किन सुन्निन्छ?

    जाडोमा केही मानिसमा हात–गोडा सुन्निने, एलर्जी हुने चाया–पोतो आउने जस्ता समस्या देखा पर्छन्। त्यसमध्ये चिलब्लेन्स वा पोर्नियो भन्ने समस्याले पनि जाडो महिनामा दुःख दिने गर्छ। यसमा हात–गोडा वा शरीरका बाहिरी अंग रातो हुने, सुन्निने, फोका उठ्ने, घाउ हुने जस्ता समस्या आउँछन्।

    कसरी जोगाउने?

    चिसोबाट जोगिनु नै पहिलो उपाय हो। चिसोमा बाहिर निस्किनु परेमा गोडामा मोजा तथा हातमा पन्जा लगाउनुपर्छ। चिसोबाट आएपछि एक्कासि आगोमा हात–गोडा सेक्नु हुँदैन। यस्तो अवस्थामा रक्त सञ्चार बढाउन लागि हात–गोडालाई मालिस गर्नु राम्रो मानिन्छ। मनतातो पानीमा हात–गोडालाई डुबाउने तथा लोसन तथा तेलको प्रयोग गरी मालिस गर्नुपर्ने हुन्छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार