Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वोच्चको आदेशपछि वीरमा फर्किए डा. सन्तोष पौडेल


    मंगलबार, पुष ३ २०८०
    990
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । डा. सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्यमन्त्रीको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ

    आज (मंगलबार) न्यायाधीशद्वय सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय कार्यान्वयनमा रोक लगाएको छ ।

    सर्वोच्च अदालतको उक्त आदेशसँगै वीर अस्पतालको निर्देशक पदबाट हटाएका डा. सन्तोष पौडेल पुर्नबहाली समेत भएका छन् । उनले आजैदेखि पुनः वीरको निर्देशक पद सम्हाल्ने भएका छन् ।

    सर्वोच्चको आदेशपछि आफू आजै अस्पताल पुगेर कार्यभार सम्हाल्ने डा. पौडेलले बताए ।

    डा. पौडेल नेकपा (एमाले)का सदस्य र जनसंगठनका महासचिव पदमा क्रियाशील रहेको उजुरी परेको थियो । सोही उजुरीउपर राष्ट्रिय सतर्कता केन्द्रले उनको ट्रेड युनियनसँगको संलग्नता स्वास्थ्य सेवा ऐन, २०५३ दफा ९२ (क) मा भएको व्यवस्था आकर्षित हुने देखिएकाले कानुनबमोजिम कारबाहीका लागि मन्त्रालयलाई सिफारिस गरेको थियो ।

    मन्त्रालयले डा. पौडेललाई वीरको निर्देशकको पदीय जिम्मेवारीमा नरहने भन्दै अर्को निर्णय नहुन्जेलसम्म मंसिर १५ गतेदेखि मन्त्रालयमा उपस्थित हुन पत्राचार गरेको थियो ।

    मन्त्रालयको सो निर्णयविरुद्ध उनी आफ्नो पूरा कार्यकाल पदमा रहन पाउनुपर्ने भन्दै सर्वोच्च पुगेका थिए । डा. पौडेल २०७९ फागुनमा दुई वर्षे कार्यकालका लागि वीरको निर्देशक नियुक्त भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार