Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रसुवाबाट भन्सारछलीका सामान भित्र्याउन अर्थमन्त्रीकै भान्जा र कार्यालय प्रमुखका ड्राइभरका भाइको समूह सक्रिय


    बिहिबार, कार्तिक २३ २०८०
    3.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राजस्व लक्ष्य अनुसार असुली हुन नसकिरहेको बेला भन्सार कार्यालयमा अर्थमन्त्री र भन्सार हाकिमकै आफन्त र निकटस्थहरुको सेटिङमा भन्सारछलीका सामान भित्रने गरेको छ । घटना रसुवा भन्सार कार्यालयको हो । रसुवा भन्सारबाट अरुण थापा र वाङ छिरिङको समूहले ब्रान्डेड सामान ल्याउने र कमसल सामानको मूल्यांकन गरी भित्र्याउने गरेका छन् ।

    २०८० कात्तिक १५ गते ब्रान्डेड सामानलाई कमसल भनेर ल्याएको सूचना भन्सार विभागमा पुग्यो । विभागले भन्सार अधिकृतको नेतृत्वमा अनुगमन टोली पठायो । अनुगमन टोलीले पुनः ती सामानको जाँच गर्दा गलत घोषणा गरिएको पुष्टि भएको छ । भन्सार विभागको अनुगमन टोली टिमुरेबाट फर्किसकेको छ ।

    त्यसरी एउटा सामान ल्याएर अर्कै सामान घोषणा गरी भन्सार छली गर्नेमा अर्थमन्त्री डा. रामशरण महतका भान्जा बताउने अरुण थापा, रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका सवारी चालक छे छिरिङ तामाङका भाइ वाङ छिरिङ तामाङ र जनार्दन खतिवडाको समूहले रसुवा भन्सारबाट भन्सार छली गरी सामान भित्र्याउने गरेको आरोप छ ।

    कात्तिक १५ गते पनि अर्थमन्त्रीकै भान्जा थापा र कार्यालय प्रमुखका सवारी चालकका भाइ वाङ छिरिङको समूहले ब्रान्डेड सामान ल्याएर कमसलको भन्सार तिरी भित्र्याएको सूचना भन्सार विभागमा पुगेपछि अनुगमन टोली खटाइएको थियो ।

    थापा र वाङछिरिङको समूहले ब्रान्डेड सामान ल्याउने र कमसल घोषणा गरी निरन्तर टिमुरे भन्सार कार्यालयबाट सामान भित्र्याउने गरेको छ । कात्तिक १५ गते भन्सार विभागको टोलीले अनुगमन गर्दा त्रुटि फेलापरेपछि सामान चेक गर्ने अधिकृतसहित नायबसुब्बाको सरुवा गरी केस सामसुम पार्न लागिएको छ ।

    रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले भन्सार विभागको नियमित अनुगमन भएको प्रतिक्रिया दिए । उनले भने–त्यस्तो कैफियत देखिएको छैन । देखिएको भए त कर्मचारीलाई कारबाही भइहाल्छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार