Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जाजरकोट भूकम्प अपडेट : तीन हजार ७७० घरमा क्षति


    आइतबार, कार्तिक १९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पले तीन हजार ७७० भन्दा बढी घरमा क्षति गरेको छ ।

    गृह मन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार भूकम्पले जाजरकोट, रुकुम पूर्व, सल्यान, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, प्युठान लगायतका जिल्लाका घरमा क्षति गरेको हो ।

    उक्त भूकम्पले ९३२ घरमा पूर्ण र दुई हजार ८३८ घरमा आंशिक क्षति गरेको छ । भूकम्पले रुकुम पश्चिम जिल्लामा पनि ठूलो क्षति गरेको भए पनि त्यहाँ के कति घरमा क्षति गरेको छ त्यसको विवरण यहाँ जोडिएको छैन ।

    रुकुम पश्चिममा क्षति भएका घरको विवरण संकलन गर्ने कार्य भइरहेको शाखाले जनाएको छ ।

    शाखाका अनुसार जाजरकोटमा दुई हजार ६८५ घरमा आंशिक र ९०५ घरमा पूर्ण क्षति गरेको छ । भूकम्पले रुकुम पूर्वको १९, सल्यानको ९७, दाङको ६, प्युठानको २९ र नवलपरासी पूर्व र दैलेखका एक/एक घरमा आंक्षिक क्षति गरेको छ ।

    यस्तै, भूकम्पले सल्यानको २५, दैलेखको एक र बैतडीको एक घरमा पूर्ण क्षति गरेको छ ।

    शाखाको विवरणअनुसार हालसम्म भूकम्पपछि संरचना भत्किँदा १५७ जनाको मृत्यु भएको छ भने २५६ जना घाइते भएका छन् ।

    भूकम्पका कारण जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।

    भूकम्पले संरचना भत्काउँदा जाजरकोटमा ११२, रुकुम पश्चिममा १३२, सल्यानमा दुई, रोल्पामा एक, दैलेखमा तीन, बैतडीमा तीन र जुम्लामा तीनजना घाइते भएका छन् ।

    भूकम्पपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा एक हजार ५६० जना सुरक्षाकर्मी परिचालन गरिएको शाखाले जनाएको छ ।

    भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा सशस्त्र प्रहरी वलका ४८५, नेपाल प्रहरीका ८७४ र नेपाली सेनाका २०२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । सबै सुरक्षाकर्मी जाजरकोट र रुकुम पश्चिममा परिचालन गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार