Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति निर्वाचनमा खुलेनन् यी पाँच दल


    बुधबार, फाल्गुन २४ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि सङ्घीय संसद् र प्रदेश संसद्मा आबद्ध सबै राजनीतिक दलले पक्षधरता देखाए पनि केही राजनीतिक दलले कसलाई मत दिने भन्नेबारे अझै खुलेका छैनन् । बिहीबार हुने राष्ट्रपति निर्वाचनका लागि सङ्घीय संसद्मा रहेका तीनवटा दल र प्रदेश संसद्मा रहेका २ दल गरी पाँच राजनीतिक दलले राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्नेबारे नखुलेका हुन् ।

    यसरी खुल्न नसकेका सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेका छन् भने प्रदेश संसद्मा प्रतिनिधित्व गर्ने हाम्रो नेपाली पार्टी र सङ्घीय समाजवादी पार्टी रहेका छन् ।

    राष्ट्रपति निर्वाचनको बारेमा निर्णय गर्नका लागि राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ भने रास्वपाले सङ्घीय संसदीय दलको बैठक बोलाएको छ । दुवै पक्षले राष्ट्रपति निर्वाचनबारे आवश्यक निर्णय दिने भएका छन् ।

    राष्ट्रपति निर्वाचनका लागि सत्तारुढ ९ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेल उम्मेदवार छन् भने प्रतिपक्षी दलबाट नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

    आचारसंहिताले खुल्न नपाइने

    राष्ट्रपति निर्वाचनका लागि गत फागुन १७ गतेबाट नै निर्वाचन आचारसंहिता लागु भएकाले कुनै उम्मेदवारको पक्षमा खुल्न भने पाइने छैन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता लागु भइसकेकाले राजनीतिक दलले पक्षधरता देखाउन नपाउने बताए ।

    ‘गत फागुन १७ गतेबाट नै राष्ट्रपति निर्वाचनका लागि आचारसंहिता लागू भईसकेको अवस्था छ, आचारसंहिता लागू भईसकेकाले अब कुनै पनि राजनीतिक दलले राष्ट्रपतिको उम्मेदवारको पक्षधरता देखाएर निर्णय लिन पाउँदैनन,’ उनले भने, ‘अब कुन उम्मेदवारको पक्षमा खुल्ने भन्ने कुरा प्रचार हुन्छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार