पोखरा । अबर्जन ट्रेडिङ प्रा.लि. नामक संस्थाले ब्यापारको आवरणमा अबैध नेटवर्किङ कारोबार गरी सयौं ब्यक्तिहरुबाट एक अर्ब रुपैयाँ भन्दा बढी असुलेकोे छ । गोल्डक्वेष्ट, एमवे, हर्वो र युनिटी इन्टरनेशनकै शैलीमा पोखरामा अबर्जनले नेटवर्किङ कारोबारमार्फत् सर्वसाधारणलाई अरबभन्दा बढी संकलन गरेको आरोप लागेको छ ।
काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा कार्यालय राखी पोखराबाट नेटवर्किङ कारोबार गर्दैआएको अबर्जनले ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा संलग्नमाथि कारबाहीको माग गर्दै ठगिएको रकम फिर्ता गरइदिनका लागि उजुरी पनि परिसकेको छ ।
अबर्जनले अबैध नेटवर्किङ कारोबारमार्फत् अर्बजन प्रा.लि.ले ८ सय ८० जनाभन्दा बढी पीडितको ३ लाखदेखि २० लाख रुपैयाँसम्म लिएको खुलासा भएको छ । अबर्जनको नेटवर्किङ कारोबारमा अहिलेसम्म ८ सय ८० जना फसिसकेको विवरण नेपालफेसलाई प्राप्त भएको छ ।
कम्पनी रजिष्टार कार्यालय र बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागमा ब्यापारीक संस्थाको नाममा दर्ता भएको अबर्जनले पिरामिड शैलीको नेटवर्किङ कारोबार गरिरहेको छ । सुरुमा केही ब्यक्तिलाई आकर्षक फाइदा देखाएर अबर्जनमा आवद्ध गराएर पछि उनीहरुमार्फत् नै एकपछि अर्को ब्यक्तिलाई सदस्य बनाउँदै ८ सय ८० जनाबाट रकम असुली गरेको तथ्य नेपालफेसलाई प्राप्त भएको छ । यो संख्या अझ बढी हुनसक्ने पीडितमध्येका एकले नाम उल्लेख नगर्ने सर्तमा बताए ।
ब्यापारको आवरणमा अबर्जनको नेटवर्किङ कारोबार
अबर्जन प्रा.लि. नामक समूह बाह्य रूपमा व्यवसायिक कम्पनी जस्तो देखिए पनि यसको वास्तविक काम नेटवर्किङको कारोबारमार्फत् सर्वसाधारणलाई फसाउने र असुल्ने नै रहेको एकपछि अर्को तथ्यहरु आउन थालेका छन् । सुरुमा ‘अवार्जना’ नाम प्रयोग भए पनि पछि ‘अबर्जन ट्रेडिङ प्रा.लि.’ भनेर परिचित भएको यो समूहले मानिसलाई विभिन्न प्रलोभनमा पारेर पैसा असुल्ने काम गर्दै आएको छ ।
अबर्जनले मानिसलाई फोन गरेर आकर्षक लाभ देखाउने र करोडपति बन्ने सपना देखाएर फसाउँदैआएको छ ।

फसाइएका व्यक्तिलाई उनीहरूको हालचाल र पृष्ठभूमि अनुसार ‘तिमीले यति कमाउँछौ’ भनेर लोभ देखाइन्छ । पछि भनिन्छ–तिम्रो नजिकका साथी वा नातेदारलाई पनि ल्याए तिमीलाई अझ बढी लाभ हुन्छ ।’ यसरी एकपछि अर्को व्यक्तिलाई फसाउँदै लगेर ठूलो चक्रव्यूह तयार पारिन्छ र धेरै मानिसहरूलाई झुक्याइन्छ ।
अबर्जनको यो नेटवर्किङ संजालमा नेपाली संचालकले भारतीय नागरिकहरूसँग मिलेर यो गैरकानुनी धन्दा सुरु गरेको तथ्य खुलेको छ । समाजका प्रतिष्ठित पेशामा लागेकाहरुसमेत रहेकाले उनीहरुलाई विश्वास गर्ने मान्यताका कारण उनीहरुलाई ‘ढाल’ बनाएर उनको नाम र छवि प्रयोग गरी अझ धेरै मानिसलाई झुक्याउँदै यो नेटवर्किङको संजालमा फसाउँदैआएका छन् ।
यो समूहले अबैध नेटवर्किङमार्फत् उठाएको पैसाबाट फसाइएका व्यक्तिलाई कहिलेकाहीँ महिना–महिनामा घडी वा कुनै सामान दिन्छ, ताकि उनीहरूलाई अझै विश्वास दिलाउन सकियोस् । घडी, घरजिमको सामान र साइकल दिने गरेको छ । साथै, आफूहरू सुरक्षित रहनका लागि उनीहरूले फसाइएका व्यक्तिलाई जबर्जस्ती कागजमा हस्ताक्षर गराउने र भिडियोमा बोलेर प्रमाण सिर्जना गर्ने काम पनि गर्छन् ।

पछि पीडितले पैसा फिर्ता माग्दा, यस समूहले उल्टै धम्की दिने गरिएको गुनासो एक पीडितले नाम प्रकाशित नगर्ने सर्तमा नेपालफेसलाई बताए । ती पीडितका अनुसार ‘भारतीयहरु बोलाएर लगाउँछौँ, गायब पारिदिन्छौं’ भनेर डर देखाइन्छ । साथै, प्रहरी प्रशासनसँग निकटता रहेको भनेर तर्साउने काम समेत अबर्जनको समूहले गरेको छ । ती पीडितका अनुसार अबर्जनका संचालकले ‘हामीले पोखराको सम्पूर्ण प्रहरी प्रशासन चलाउँछौँ, उजुरबाजुर गरेमा उल्टै फसाइदिन्छौं’ भनेर ठगीमा परेकाहरुलाई धम्की दिने गरेका छन् ।
अबर्जनले काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा कार्यालय राखी देशभर अबैध नेटवर्किङको कारोबार गरेको छ । काठमाडौं र पोखराका धेरै ब्यक्तिहरुलाई नेटवर्किङ कारोबारमा जोडिसकेको छ । अबर्जनका संचालकहरुले ब्यापारबाट रातारात लाखौं कमाइ हुने प्रलोभन देखाएर प्रतिब्यक्ति ३ लाखदेखि २० लाख रुपैयाँसम्म असुली गरिएकाहरु पीडितहरु नेटवर्किङ कारोबार हो भन्ने थाहा पाएपछि पनि प्रहरीमा उजुरी गर्न जान सकिरहेका छैनन् ।
अबर्जनमा फसाइएका व्यक्तिले हस्ताक्षर गरेका कागज र भिडियो प्रयोग गरेर उल्टै ‘तिमीहरूलाई नै फसाउँछौँ’ भन्दै डर धम्की दिने काम समेत यस समूहले गरेका कारण कतिपय पीडित ठगिए पनि प्रहरीमा जानबाट डराइरहेका छन् ।
पीडितमध्ये केहीले लाखौं ठगी गरेको जाहेरी प्रहरीमा दिएपछि अबर्जनका केही संचालक पछिल्ला दिनमा गायब भएका छन् ।
अबर्जनका संचालकले युवायुवतीलाई प्रयोग गरेर नेटवर्किङमा एकपछि अर्को ब्यक्तिलाई सदस्य बनाउने गरेका छन् । नेटवर्किङमार्फत् अरब रकम असुलिसकिएको आरोप अबर्जनका संचालकहरुमाथि छ ।
नेटवर्किङमा सर्वसाधारणलाई ठगी गरेको रकमबाट संचालकहरुले दैनिकजसो पोखराका होटलदेखि रात्रिक्लवमा लाखौँ रुपैयाँको रक्सी पार्टी गर्ने, भाडाका गुण्डा लिएर हिंड्ने जस्ता क्रियाकलाप गर्ने गरेको आरोप छ । विशेषगरी प्रायः पोखराको क्याटवाक क्लब र कफी ब्रेकमा रातभर पार्टी गरिरहेका देखिने गरेका छन् । क्याटवाकका संचालकले अबर्जनका संचालकहरुलाई क्लवमा ठूलो खातिरदारी गर्ने गरेको छ ।
अबर्जन समूहले भारतमा पनि क्यूनेट र ठूलो लिंक अप जस्ता नेटवर्कमार्फत् ठगीधन्दा सञ्चालन गर्दै आएको छ । अबर्जनले पनि बेला–बेला भारतबाट भारतीय व्यक्तिहरू बोलाएर नेपालमा नेटवर्किङ कारोबारमा लगाउने गरेको छ ।
अबर्जनको नेटवर्क नेपालभर छ, विशेषगरी पोखरा र काठमाडौंमा यसले आफ्नो कारोबार गरिरहेको छ । पोखरामा होटल सरोबर, कफी ब्रेक र ओपनहाउस लगायतका ठाउँमा र काठमाडौंमा होटल हिल्टन जस्ता प्रतिष्ठित होटल र रेस्टुरेन्टमार्फत् उनीहरूले आफ्नो बनाउँदै कारोबार बिस्तार अगाडि बढाइरहेका छन् । यसकै कारण पीडितहरूले समूहसँग सम्बन्धित व्यक्तिहरूको संलग्नता र सञ्जाल देखेर डर महसुस गरेका छन् ।
यस्तै, अबर्जनका संचालकहरुको डरधम्की र धाककै कारणले भयभीत भएर धेरै ठगिएकाहरुले वास्तविकता थाहा पाए पनि खुलाउन सकिरहेका छैनन् । पीडितहरू जब यो समूहको धन्दामा फस्छन्, त्यसपछि उनीहरू बाहिर भन्न पनि सक्दैनन्, परिणामस्वरूप धेरै मानिस ‘टाउको समाएर’ हिंड्न बाध्य भएका छन् । यही कारणले गर्दा अझ धेरै सोझा र सामान्य मानिसहरू दिनानुदिन यो समूहको जालमा फसिरहेका छन् । यसको गतिविधि अत्यन्त तीव्र रूपमा बढ्दै गएको छ र सोझा–सिधा मानिसहरूलाई फसाउने काम अझ बढी भइरहेको छ ।
अबर्जन ट्रेडिङ प्रा.लि का संचालकहरुले अबैध नेटवर्किङ कारोबारलाई व्यवस्थित व्यवसायको रूपमा प्रयोग गर्दै धेरै मानिसलाई झुक्याउने, धम्की दिने, पैसामात्र असुल्ने गतिविधिलाई निरन्तरता दिएको छ ।
अबर्जन प्रालिको बेबसाइटमा संचालकको नामसमेत राखिएको छैन । उक्त कम्पनीको बेबसाइटमा ग्राहकका लागि सम्पर्क गर्न एउटा नम्बर दिइएको छ । बेबसाइटमा लेखिएका ब्यवसायिक मार्केटिङ, आर्जन र आम्दानी डिस्क्लेमरजस्ता शब्दले पनि अबर्जिनको नेटवर्किङ कारोबारलाई पुष्टि गर्दछ । अबर्जन प्रालि बेवसाइटमा दिइएको नम्बरमा सम्पर्क गर्दा फोन रिसिभ नै नहुने र भइहाले पनि संचालकको बारेमा जानकारी नै दिइएन ।
कम्पनी र बाणिज्यको प्रमाणपत्र देखाएर नेटवर्किङ कारोबार
गोल्डक्वेष्ट, एमवे, युनिटीलगायतले गैरकानुनी रूपमा पिरामिड शैलीमा सञ्जाल विस्तार गरी अर्बौं ठगेको गुनासोपछि सरकारले दशकअघि त्यस्ता व्यवसायलाई प्रतिबन्ध लगाएको थियो । तर, बाणिज्य बिभागले वस्तु तथा सेवा प्रत्यक्ष बिक्री ऐन २०७४ र नियमावली २०७६ बनाएर इजाजत बाँडेपछि त्यही प्रमाणपत्रका आधारमा गैरकानुनी रूपमा पिरामिड शैलीमा सञ्जाल विस्तार गरी ठगी हुन थालेको छ ।
कम्पनी रजिष्टार कार्यालयमा २०७५ असोज १८ मा दर्ता गरी बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागमा वस्तु तथा सेवा प्रत्यक्ष बिक्रीको अनुमतिपत्र लिएको अबर्जिनले गैरकानुनी रुपमा पिरामिड शैलीमा नेटवर्किङ कारोबार गरिरहेको छ । अबैध नेटवर्किङ कारोबार गरिरहेकोबारेमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागका सूचना अधिकारी भरतप्रसाद आचार्यले भने–‘नेटवर्किङ कारोबार गरेको प्रमाणसहित पीडितले उजुरी दिए हामी तत्काल अबर्जिनलाई कारबाही गर्नेछौं ।’
अबर्जनबिरुद्ध प्रहरीमा उजुरी, एक जना पक्राउ
ब्यापारको अवरणमा ऐनबिपरीत नेटवर्किङ कारोबार गरी ८ सय ८० जनाबाट अरबभन्दा बढी रकम उठाइसकेको अबर्जिनबिरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा १ साउन, २०८२ मा उजुरी परेको छ ।
अमृत विश्वकर्माले दर्ता गरेको उजुरीमा उल्लेख छ–पोखरा महानगरपालिका–१ बगर बस्ने सुदिप सुनारले साधारण चिनजान भएकै आधारमा पटक पटक मलाई भेट्न बोलाए । र, आफूले राम्रो लाभ हुने बिजनेस गरेको छु । अत्यन्तै राम्रो फाइदा भइरहेको छ । कम्पनीको नाम अबर्जिन प्रा.लि. हो, यसको मुख्य कार्यालय काठमाडौँमा रहेको र उक्ता कम्पनीमा रकम लगानी गर्नेले करोडौं रकम कमाइसकेका छन् लोभ देखाए । तपाईले पनि यो कम्पनीको सदस्य हुनुभयो भने राम्रो हुन्छ भनिरहे । मैले नेटवर्क बिजनेस हो कि, मान्छेहरुलाई विभिन्न लोभ देखाएर फसाउने त होइन भनेँ । तर उनले ढुुक्क हुनुस् भन्दै मलाई पटक पटक भेटी शेयर हाल्नुहोस्, तपाईको रकम खेर जाँदैन भनी लोभ परिपन्चमा पारेपछि सापटी खोजेर मैले ३ लाख २८ हजार (सन् २०२४ १०।२१) मा नि सुदिप सुनारको सद्धार्थ बैंकको खाता जम्मा गराएको थिएँ । रकम हालिसकेपछि सुनारले तपाईँलाई गिफ्ट आउँछ भनी घडी ल्याएर दिएका थिए ।
पछि बुझ्दा अबर्जिन कम्पनी नभई सोझा साझालाई ठगी गर्नका लागि बिभिन्न लोभ परिपन्चमा पारी रकम जम्मा गर्न लगाउने र जम्मा गराएबापत केही कमिसन दिने नेटवर्क बिजनेश रहेछ भन्ने थाहा पाएँ । र, मैले ढाँटेर रकम लिएकाले फिर्ता गर भनेर सुदिप सुनारसँग कुरा गर्दा उनले उल्टै कोही कसैलाई यो कुरा भन्ने होइन, भनेमा तिमीलाई जे पनि हुनसक्छ भन्दै धम्की दिएका छन् । आफूले दिएको रकम माग्दा धम्की, डर त्रासमा पारेको हुँदा सुदिप सुनारलाई कार्यालयमा झिकाई आवश्यक कानुनी कारबाही गर्न र न्याय दिलाउन माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरि बस्नेतले अबर्जन ट्रेडिङ कम्पनीका बिरुद्ध उजुरी परेको बताए । उनले भने–‘अबर्जनबाट ठगीमा परेँ भनेर एउटा उजुरी परेको छ । एकजना पक्राउ पनि परिसकेका छन् । अनुसन्धान भइरहेको छ ।’
पर्याप्त मुनाफा हुने ब्यापार हो भनेर अबर्जनको सदस्य बनाउने र ३ लाख, ३ लाख ८५ हजार, ४ लाख, ५ लाखदेखि १० लाखसम्म लिने गरेको, सदस्य बनिसकेपछि थप ब्यक्तिलाई आवद्ध गराउँदै जाने, पिरामीड शैलीको नेटवर्किङ ब्यापार रहेछ भन्ने थाहा पाएको गुनासो पीडितहरुले गरेपछि समाचार बनाइएको हो । अबर्जनका संचालकहरुको नाम पीडितहरुले दिएका आधारमा लेखिएको हो । डा. कृतु सुनारले आफू संचालक नभएको र आफ्नो प्रतिष्ठामा आघात पुगेको भनेर खण्डन पठाइ नाम हटाइदिन अनुरोध गर्नुभएकाले खण्डन प्रकाशित गरी उहाँको नाम हटाएका छौं ।
नेटवर्किङ ब्यापारका माध्यमबाट ८ सय जना अबर्जनको जालमा फसेको सूची नै पीडितले नेपालफेसलाई उपलब्ध गराएकाले समाचार प्रकाशित गरेको प्रष्ट पार्न चाहन्छौं । पीडितले जिल्ला प्रहरी कार्यालय कास्कीमा दिएको उजुरीको कपी पनि नेपालफेससँग सुरक्षित छ । उजुरीकर्ताले उजुरीको पत्र सार्वजनिक नगर्न अनुरोध गरेकाले नगरिएको जानकारी गराउँदै समाचारका कतिपय कुराहरु सम्पादन गरिएको छ । जसप्रति नेपालफेस क्षमायाचना गर्दछ । सम्पादक
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend