काठमाडौं । एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको राजीनामापछिको राजनीतिक निकास संविधानसम्मत् र लोकतान्त्रिक विधिबाट खोज्न आग्रह गरेका छन् ।
पोखरेल र ज्ञवालीले बुधबार साँझ जारी गरेको बिज्ञप्तिमा सार्थक संवाद सुरु गर्न एवं परिणाममुखी संवादकै माध्यमबाट सुशासन, सहज सेवा प्रवाह र तीव्र विकासको आकाङ्क्षा लगायतका युवापुस्ताका मागलाई संविधानसम्मत रुपमा संबोधन गर्न आवश्यक पहलका लागि राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन् ।
लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई कुनै पनि अर्थमा कमजोर गर्नु नहुने र समाधानका प्रत्येक प्रयासले लोकतन्त्रलाई थप सुदृढ गर्नुपर्छ भन्ने एमालेको मान्यता रहेको उल्लेख गरिएको छ ।
दुवै नेताले पार्टी पंक्तिलाई बिचलित नहुनका लागि अपिल गरेका छन् । यस्तो विषम परिस्थितिमा सिङ्गो पार्टी पङ्क्तिलाई अविचलित, एकताबद्ध र भविष्यप्रति आशावादी भएर अगाडि बढ्न आग्रह गरिएको छ ।
विज्ञप्तिमा उल्लेख छ–‘मुलुकमा उत्पन्न असामान्य परिस्थितिबारे यहाँहरु अवगत नै हुनुहुन्छ । भ्रष्टाचारको विरोध लगायत विभिन्न माग राखेर सञ्चालित जेन–जेड पुस्ताको प्रदर्शनका क्रममा प्रहरीको गोली प्रहारबाट भएको १९ जना युवाहरुको दुःखद निधन र ४ सय भन्दा बढी घाइते भएको घटनाले सिङ्गो मुलुक मर्माहत बनेको छ । मारिनु हुने सबैप्रति हामी पुनः श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । सन्तान वियोगका पीडामा रहनुभएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ । घटनाको निष्पक्ष छानबिन हुनुपर्छ र दोषीमाथि कानुनबमोजिम कार्बाही हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।
त्यस पीडाको घाउ ओभाउन नपाउँदै हिँजो देशैभरि भएका आगजनी, तोडफोड, हिँसा र लुटपाटका घटनाले मुलुक पुनः स्तब्ध भएको छ । सङ्घीय संसद भवन, राष्ट्रपति भवन, ऐतिहासिक सिँहदरबार, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, प्रहरी कार्यालय लगायत सयौँ संरचनाहरु ध्वस्त भएका छन । बहुमूल्य र दुर्लभ अभिलेख, दस्ताबेज र लिखतहरु जलेर नष्ट भएका छन । होटल, डिपार्टमेन्टल स्टोर, केबुल कार, गाडीका शोरुम, ब्याङ्क लगायत सार्वजनिक र निजी सम्पत्तिमा खर्बौँको नोक्सानी भएको छ । जेलबाट गम्भीर कसुरमा दोषी साबित भएका सहित हजारौँ कैदीबन्दीहरु बाहिरिएका छन् । राजनीतिक दलका नेता कार्यकर्ता तथा कार्यालयहरु निशाना बनाइएका छन् । विकासका दृष्टिले मुलुकलाई दशकौँ पछाडि धकेल्ने यी घटनाक्रमबाट सिङ्गो समाज निकै आहत भएको छ ।
प्रदर्शन शान्तिपूर्ण रहने आयोजकहरुको पूर्व घोषणाविपरीत र यसमा कुनै सङ्लग्नता नरहेको उहाँहरुको स्पष्टोक्तिका बाबजुद यस्ता विध्वंसात्मक र विनाशकारी घटनाहरु कसबाट र कसरी घटाइए, यसको यथार्थ छानबिन हुनैपर्छ । यसक्रममा राज्यका सुरक्षा निकायहरुको भूमिकाको पनि समीक्षा हुनुपर्छ ।
यस्तो विषम परिस्थितिमा सिङ्गो पार्टी पङ्क्तिलाई अविचलित, एकताबद्ध र भविष्यप्रति आशावादी भएर अगाडि बढ्न हामी आग्रह गर्दछौँ । हामीहरु निरङ्कुशतन्त्र, सशस्त्र द्वन्द्व, सामाजिक विद्वेषको चरम अवस्था र प्राकृतिक एवं मानव–निर्मित विपत्ति जस्ता असामान्य चुनौतीसँग जुझ्दै र तिनीहरुमाथि विजय हासिल गर्दै यस बिन्दुसम्म आइपुगेका हौँ । यो प्रतिकूल अवस्था सधंै रहने छैन, अवश्य बदलिएर जानेछ ।
सङ्कटको यस घडीमा सबै कमरेडहरुलाई नियमित सम्पर्कमा रहन, समस्याको सामूहिक समाधानको प्रयास गर्न, प्रशासनसँगको समन्वयमा सार्वजनिक तथा निजी सम्पत्तिको रक्षा गर्न, शान्ति सुरक्षा कायम राख्न र जनतालाई परेको पीरमर्कामा आवश्यक राहत प्रदान गर्र्न आग्रह गर्दछौँ ।
समग्र स्थितिको वस्तुनिष्ठ विश्लेषण र यसक्रममा हाम्रा कुनै कमी रहेका भए तिनको पनि समीक्षा उपयुक्त समयमा हुने नै छ । तर यतिबेला सम्हालिनु, एकताबद्ध हुनु र दृढ विश्वासका साथ अगाडि बढ्नु बढी महत्वपूर्ण छ । राष्ट्र, लोकतन्त्र र कम्युनिष्ट आन्दोलन सबैका सामु गम्भीर चुनौती उत्पन्न भएको प्रतिकूल अवस्थामा यिनको रक्षाका लागि कमरेडहरुको रचनात्मक भूमिका रहने छ भन्ने विश्वास लिएका छौँ ।
प्रधानमन्त्रीको राजीनामापछिको राजनीतिक निकास संविधानसम्मत् र लोकतान्त्रिक विधिबाट खोजिनुपर्छ । सार्थक संवाद सुरु गर्न एवं परिणाममुखी संवादकै माध्यमबाट सुशासन, सहज सेवा प्रवाह र तीव्र विकासको आकाङ्क्षा लगायतका युवापुस्ताका मागलाई संविधानसम्मत रुपमा संबोधन गर्न आवश्यक पहलका लागि सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौँ । लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई कुनै पनि अर्थमा कमजोर गर्नुहुँदैन र समाधानका प्रत्येक प्रयासले लोकतन्त्रलाई थप सुदृढ गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ ।
असामान्य स्थितिको लाभ उठाउँदै देशभरि भइरहेको लुटपाट, आगजनी र तोडफोड नियन्त्रण गर्न एवं जनताको जिउधनको सुरक्षा प्रभावकारी रुपमा गर्न नेपाली सेना लगायत सबै सुरक्षा अङ्गहरुलाई हार्दिक आह्वान गर्दछौँ ।’
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend