नेपालगञ्ज । नेपालीलाई क्यासिनोमा प्रवेश निषेध गरिएको छ । क्यासिनोमा गएर जुवा खेलेर सम्पूर्ण सम्पत्ति सकिएपछि अपराध कर्ममा लाग्ने गरेका घटना बढेपछि सरकारले क्यासिनोमा नेपालीको प्रवेशमा रोक लगाएको हो । नेपालीलाई प्रवेश गराउने र जुवा खेलाउने क्यासिनोको अनुमतिपत्र नै रद्द गर्ने नियमावलीमा ब्यवस्था छ । तर प्रहरीसँग सेटिङ मिलाएर क्यासिनोमा नेपाली प्रवेश गराउने र जुवा खेलाउने क्रम पछिल्ला दिनमा बढेको छ ।
नेपालगञ्जका क्यासिनोहरूमा निर्वाधरूपमा नेपालीलाई प्रवेश गराउने र जुवा खेलाउने गरिएको छ । कानूनलाई लत्याउँदै नेपालगञ्जमा सञ्चालनमा रहेका क्यासिनोहरूले जुवा खेल्न नेपालीलाई प्रवेश गराइरहे पनि बाँके प्रहरी भने मूकदर्शक बनेको छ ।
नेपालगञ्जमा करिब आधा दर्जन क्यासिनो सञ्चालनमा छन् । यहाँ सञ्चालित क्यासिनोहरूले निर्वाध रूपमा नेपाली प्रवेश गराउने र जुवा खेलाउने गरेता पनि पनि प्रहरीले देखेको नदेख्यै गर्दैआएको छ । प्रायः क्यासिनोहरूमा पूर्व प्रहरीहरू जागिरे रहेका छन् । प्रहरी, प्रशासनमा सेटिङ मिलाउन सजिलो होस् भनेर क्यासिनोमा पूर्व प्रहरी अधिकृतहरूलाई राख्ने गरिएको पाइएको छ ।
नेपालगञ्जका सीमावर्ती क्षेत्रमा सञ्चालनमा रहेका क्यासिनोहरूमा पछिल्लो समय खुलेआम नेपाली नागरिकलाई प्रवेश दिन थालिएको छ । नेपाल सरकारले नेपाली नागरिकलाई देशभित्रका क्यासिनोहरूमा जुवा खेल्न प्रतिबन्ध लगाए पनि नेपालगञ्जका केही क्यासिनोहरूमा यो नियम पूर्णतः बेवास्ता गरिएको देखिन्छ । यी क्यासिनोमा नेपाली नागरिकलाई जान र जुवा खेल्न कानुनतः निषेध छ । नेपालको कानून अनुसार, नेपाली क्यासिनोमा विदेशी नागरिकलाई मात्र जुवा खेल्न अनुमति छ । तर कानुनको खिल्ली उडाउँदै नेपाली नागरिक यस्ता क्यासिनोमा जाने गरेका र त्यसरी क्यासिनो छिरेका नेपाली घरबारविहीन भएका घटना आइरहन्छन् ।
नेपालगञ्जमा करिब आधा दर्जन क्यासिनो सञ्चालनमा छन् । भारतीयलाई लक्षित गरी नेपालगञ्जलगायत सीमावर्ती सहरमा बग्रेल्ती क्यासिनो खुलेका छन् । बाँके प्रहरीलाई नेपालगञ्जका क्यासिनोमा जुवा खेल्न नेपाली प्रवेश गरिरहेका छन् भन्ने थाहा नभएको भने होइन । तर, बाँके प्रहरी ती क्यासिनोमा न छापा हान्न चाहन्छ, न जुवा खेल्नेलाई पक्राउ गर्न नै चाहन्छ ।
नेपालगञ्जमा तारे होटलपिच्छे ‘क्यासिनो’ खुलेका छन् । होटल सोल्टीमा महाजोङ, सिद्धार्थ भ्यूमा ज्याकपट, स्टारलाइटमा लक्की स्टार, स्नेहमा ब्लिज, कल्पवृक्षमा एसएन ब्लु, ड्रिमल्यान्डमा ह्याप्पी आवर र सिटी प्यालेसमा सिटी गेमिङ सञ्चालनमा छन् ।
पछिल्लो एक दशकमा भारतीयलाई लक्षित गरेर यहाँ आधा दर्जन बढी क्यासिनो खुलिसकेका छन् । थप होटलमा क्यासिनो सञ्चालन गर्न पूर्वाधार निर्माण गर्ने काम भइरहेको छ । क्यासिनो खुलेपछि नेपालगञ्जका होटलहरूमा चहलपहल बढेको छ । तर नेपालीसमेत प्रवेश गराएर उनीहरूको उठिबास हुने अवस्था देखापरेको छ ।
क्यासिनो रोजगारी, भारतीय मुद्रा आर्जन र तारे होटलको आम्दानीको स्रोत बनेका छन् । अहिले बाँके प्रहरी नथपाएझैँ गरी चुपचाप बसेपछि क्यासिनो सञ्चालकले पनि निर्वाध रूपमा नेपाली प्रवेश गराई जुवा खेलाइरहेका छन् भने खेल्ने नेपालीहरू पनि मस्तसँग खेलिरहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले अहिलेसम्म कुनै क्यासिनोमा पनि छापा हानेको छैन । निर्वाध रूपमा क्यासिनोले नेपाली प्रवेश गराइरहँदापनि बाँके प्रहरी टुलुटुलु हेरिरहेको छ ।
नेपालगञ्जका क्यासिनोका २५ प्रतिशत ग्राहक त नेपाली नै हुन्छन् । आउँछन्, मज्जाले जुवा खेल्छन अनि जान्छन् । तीमध्ये होटल स्नेहाभित्र रहेको वेलिज क्यासिनो र होटल सिद्धार्थ भ्यूमा रहेको ज्याकपट गेमिङ क्यासिनोमा बढी नेपाली जुवा खेलिरहेका छन् । क्यासिनोमा जुवा खेल्न जाने कतिपय नेपालीले त क्यासिनो जानलाई भारतीय आधार कार्डसमेत बनाउने गरेका छन् ।
स्थानीय स्रोतका अनुसार, भारतसँग सिमाना जोडिएको क्षेत्र भएका कारण ती क्यासिनोहरूमा भारतीय पर्यटकसँगै नेपालीहरू पनि सहजै प्रवेश गरिरहेका छन् । रातको समयमा विशेषगरी युवा पुस्ता क्यासिनोमा आकर्षित भई जुवातास खेलिरहेको देखिन्छ, जुन सामाजिक र आर्थिक दृष्टिले चिन्ताको विषय बन्न थालेको छ । सामाजिक अभियन्ता र स्थानीय नागरिकहरूले यसप्रति चासो व्यक्त गर्दै क्यासिनो नियमनमा कडाइ गर्न माग गरेका छन् । उनीहरूले सरकारलाई यस्ता गतिविधि तुरुन्त रोक्न र नेपाली युवालाई जुवाको दलदलमा फस्नबाट जोगाउन आवश्यक कदम चाल्न आग्रह गरेका छन् ।
नेपाल सरकारले लामो समयदेखि नै नेपाली नागरिकलाई देशभित्र सञ्चालनमा रहेका क्यासिनोहरूमा प्रवेश गर्न निषेध गरेको छ । यो नियम मुख्यतः नेपाली समाजमा जुवा र सट्टाबाजीकालागि पर्ने नकारात्मक असरहरूलाई न्यूनीकरण गर्नका लागि ल्याइएको हो ।
हाल लागू भएको कानुनी व्यवस्थाअनुसार, नेपालमा रहेका क्यासिनोहरू विदेशी पर्यटकहरूलाई लक्षित गरेर मात्र सञ्चालन गर्न पाइन्छ । नेपाली नागरिकहरूले क्यासिनोमा प्रवेश गर्न नपाउने यो प्रावधान ‘क्यासिनो नियमावली’ मा स्पष्ट रूपमा उल्लेख गरिएको छ । यदि कुनै क्यासिनोले नेपाली नागरिकलाई प्रवेश गराएको पाइएमा सो क्यासिनोलाई जरिवाना तिराउने, सञ्चालकको अनुमतिपत्र खारेज गर्ने वा अन्य कानुनी कारबाहीसमेत गर्न सकिने व्यवस्था गरिएको छ ।
लुम्बिनी प्रदेशका डिआइजी राजेन्द्रप्रसाद भट्टको नाममा समेत नेपालगञ्जका क्यासिनोबाट मासिक १ लाख उठाउने गरिएको क्यासिनोका मालिकहरूले नै बताउँदै आएका छन् । डिआइजीको रकम उठाउने जिम्मेवारी सई रबिन्द्र बमले पाएको आरोप छ । उनको नाम जोडिँदै आएको छ । तर उनले भने उक्त कुरा गलत भएको बताए । आफू कोहलपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत रहेको र उक्त समाचार असत्य भएको बताए । धनगढी घर भएर नेपालगञ्ज बिहे गरेर बाँके बस्दै आएका उनी लामो समय जनपथ प्रहरीतर्फ कार्यरत रहँदा नेपालगञ्जमै कार्यरत थिए । पछि ट्राफिक तालिम गरेपछि उनी अहिले बाँके जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरमा कार्यरत छन् ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी रामप्रसाद घर्तीको तर्फबाट क्यासिनोको रकम उठाउने काम वरिष्ठ सई बम रावलले गर्ने गरेको आरोप लाग्दै आएको छ । उनी गत असार मसान्तसम्म नेपालगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा लेखापालको रूपमा कार्यरत थिए । त्यसो त उनी बाँकेमै झण्डै दस वर्षभन्दा बढी समयदेखि कार्यरत छन् । दरबन्दी बाहिर जहाँ परे पनि उनी सिफारिस लगाएर नेपालगञ्ज बस्न सफल भइरहेका छन् । अहिले पनि उनको दरबन्दी कर्णाली प्रदेशको सुर्खेतस्थित गणमा हो । तर पनि उनी दरबन्दीमा नगई नेपालगञ्जमै बसिरहेका छन् ।
लुम्बिनी प्रदेशका नलप्रसाद उपाध्याय पछिका डिआइजीहरूको तर्फबाट बाँकेको घुमुवा (क्यासिनो समेत हेर्नेगरी) का रूपमा रावल परिचालित भएको समाचारहरू यसअघि पनि धेरै सञ्चारमाध्यमहरूमा आइसकेका थिए । तर अहिले भने उनी एसपी घर्तीको क्यासिनो हेर्ने घुमुवाको रूपमा परिचालित भएका छन् । दरबन्दी अन्यत्र भए पनि दशकौं वर्षसम्म एकै ठाउँमा बसिरहन दिने काम उनलाई घुमुवाको रूपमा परिचालित यिनै पूर्व र बहालवाला डिआइजी, एआइजीहरूले गरिरहेको समेत खुलेको छ ।
यस सम्बन्धमा वरिष्ठ सई बम रावलसँग जिज्ञासा राख्दा उनले उक्त कुरा असत्य भएको दाबी गरे । उनले भने–‘मेरो फोन त एसपी सापले उठाउनु हुन्न भने मैले उहाँको काम गर्ने कुरा भएन। म जिल्ला प्रहरी कार्यालय बाँकेमा काजमा आउन लागेको छु, त्यसैले कोही पछि लागेको होला। मेरो अहिले क्यासिनोसँग सम्पर्क छैन ।’
स्मरण रहोस्, नेपालगन्जका क्यासिनोमा खुलेआम नेपाली प्रवेश गर्ने र प्रहरीले छापा नहाने दिएबापत क्यासिनो सञ्चालकहरूले जिल्लाका एसपीको नाममा दुई लाख र डिआइजीको नाममा एक लाख मासिक रकम दिँदै आएका छन् ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend