Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घुस प्रकरणः हाकिमका दुबै मोवाइल अख्तियारले लगेपछि कलंकी नापीमा भागाभाग


    मंगलबार, साउन २७ २०८२
    2.4K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नापी कार्यालय कलंकीका कार्यालय सहयोगी एकेन्द्र कुँवर सोमबार सेवाग्राहीसँग घुस लिंदालिंदै पक्राउ परेपछि नापी टोलीका प्रमुख योगेन्द्र यादव र कार्यालय प्रमुख केशवराज लेखकसमेत छानबिनमा तानिने भएका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार सेवाग्राहीको काम गर्नका लागि १३ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कुँवरलाई नियन्त्रणमा लिएको थियो । नापी टोलीमा खटिएका कार्यालय सहयोगी घुस लिंदालिंदै पक्राउ परेपछि टोली प्रमुख रहेका नापी अधिकृत योगेन्द्र यादव र एक सर्भेक्षकको मोवाइल बरामद गरेको छ । कार्यालय प्रमुख लेखकका दुबै मोवाइल अख्तियारले छानबिनका लागि लगेको छ । जुन मोवाइल कार्यालय सहयोगीसँग घुसको कनेक्सन भएको हुनसक्ने आशंकामा आयोगको टोलीले बरामद गरेको छ ।

    कलंकी नापी कार्यालयका प्रमुख केशवराज लेखकले मातहतका कार्यालय र टोलीका कर्मचारीलाई मासिक आफूलाई बुझाउनुपर्ने घुसको दररेट तोक्ने गरेको आरोप बिगतदेखि नै लाग्दैआएको छ । सेवाग्राहीलाई अति नै दुःख दिएर घुस मोलमोलाइ गर्ने र घुस नदिएसम्म नियमबमोमिका काम समेत नगर्ने गरेको गुनासोपछि अख्तियारले कलंकी नापी कार्यालयमा अनुगमन बढाएको थियो ।

    कार्यालय प्रमुखको माग बमोजिम घुस बुझाउन नापी कार्यालय र टोलीका कर्मचारीहरुले सेवाग्राहीलाई एकाध आना जग्गा तलमाथि भए पनि २५ लाख, ३० लाख घुस मागेर हायलकायल पार्ने गरेको गुनासो भूमिब्यवस्था मन्त्रालयदेखि हेलो सरकामरमा पनि पुगेको छ ।

    नापी कार्यालयका प्रमुख लेखकले गृहमन्त्री रमेश लेखक आफ्नो भतिजो नाता पर्ने भएकाले तुजुक देखाउने गरेका थिए । उनले मन्त्री लेखक सरकारका प्रभावशाली भएकाले अख्तियारले समेत केही गर्न नसक्ने भनेर मातहतका कर्मचारीलाई सेवाग्राही सताउँदै घुस असुल्न प्रेरित गर्ने गरेको आरोप छ । कार्यालय सहयोगी पक्राउ परेको र नापी अधिकृत यादव र एक सर्भेक्षकको मोवाइल लगेपछि पनि लेखकले प्रहरीले फरेन्सिक ल्याबमा लाने हो, गृहमन्त्रीलाई भनेर मोवाइल लानै नदिने आश्वासन दिइरहेको स्रोत बताउँछ ।

    अख्तियारले केही गर्न नसक्ने भ्रम छरेर लेखकले सेवाग्राहीलाई यतिसम्म सास्ती दिने गरेका थिए कि कसैको ७ आना जग्गा नपुगे फिल्डमा जग्गा पुर्याउन यति लाख चाहिन्छ भनेर हाक्काहाक्की माग्ने गरेको गुनासो छ । एक पूर्वमन्त्री तथा बहालवाला सांसदका आफन्तको जग्गा पूर्जामा ७ आना भए पनि फिल्डमा नभएको भन्दै कलंकी नापीका प्रमुखको नाम लिएर कर्मचारीले २५ लाख नै घुस मागेपछि भूमिब्यवस्था मन्त्रालयमै खल्लीबल्ली मच्चिएको थियो ।

    लेखक कार्यालय प्रमुख भएपछि कलंकी नापी कार्यालयमा जग्गा हालसाबिक गर्दा प्रतिआना दररेट तोकेरै घुस माग्ने गरिएपछि सेवाग्राही निकै मारमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार