Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्लाहीमा एसपीकै संरक्षणमा तस्करी, प्रहरी नै स्कर्टिङ एजेन्ट !


    बिहिबार, साउन १५ २०८२
    2.9K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • सर्लाही । मधेसको सर्लाहीमा सीमावर्ती क्षेत्र हुँदै बर्षौंदेखि लुकीछिपी हुँदै आएको तस्करी अहिले प्रहरीकै संरक्षणमा, खुलमखुला र संगठित ढंगले सञ्चालन भइरहेका प्रमाण फेलापरेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्र खड्काको निर्देशनमा तस्करी संस्थागत रूपमा सञ्चालन भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता स्व. खुमबहादुर खड्काको आफन्त  रहेका एसपी खड्काले “कसैले जे भने पनि मलाई केही हुँदैन” भन्ने घमण्डसाथ तस्करीको कमाण्ड सम्हालिरहेको प्रहरी वृत्तमै चर्चा छ ।

    नाकामा प्रहरी होइन, पासिङ एजेन्ट !

    जिल्लाभरका सीमा नाका— हिरापुर ब्यारेज, फेनहरा, मधुवनी गोठ, बहादुरपुर, अर्नाहा, बलरा लगायतका ठाउँहरूबाट दैनिक रूपमा ल्याइने कपडा, किराना सामान र खाद्यान्न बरहथवामा जम्मा गरिन्छ । त्यसपछि ती सामानहरू पिकअप र ट्रकमार्फत काठमाडौं, हेटौंडा र बागमतीसम्म ढुवानी गरिन्छ ।

    हिरापुरका पूर्व इन्चार्ज सई बैजनाथ दासको तस्करसँगको बार्गेनिङ अडियो सार्वजनिक भएपछि निलम्बनमा परे पनि अहिलेका इन्चार्ज सई नागेन्द्र यादव आएसँगै तस्करी झनै तीव्र बनेको स्थानीय व्यापारी बताउँछन् ।

    बरहथवा प्रहरीको सेटिङमा वरिष्ठ घुमुवा हवल्दार राम यादव र सहायक हवल्दार शशीनन्दन पाण्डे संलग्न रहेको खुलेको छ । स्रोतका अनुसार यी दुवैको दरबन्दी सिरहा र ढल्केवरमा भए पनि प्रदेश प्रहरी प्रमुख डीआईजी उमा चतुर्वेदीको मौखिक आदेशमा उनीहरू बरहथवामा खटिएका हुन् ।

    तस्कर–प्रहरी गठजोड ः गाडी पास गर्न सेटिङ

    स्थानीय व्यापारी, तस्कर र प्रहरी मिलेमतोमा सञ्चालित तस्करीमा कपडा तस्करहरूमध्ये हिरालाल साह, ईन्दु शहनी, रामेश्वर साह, करन्जित बैठाव, अमामुल, सुरेश यादव, प्रमोद यादवजस्ता व्यक्तिहरू अग्रमोर्चामा छन् । किराना सामानमा बृज यादव, मुकेश शाह, बिनोद शाह, सुरेन्द्र यादव, रौसन यादव, कन्हाई पण्डित, रसिया यादवलगायत सक्रिय छन् ।

    यी तस्करहरूको मालवाहक गाडीलाई प्रतिगाडी हजारौँ रुपैयाँ लिएर ’लाइन मिलाउने’ काम इन्स्पेक्टर, सई र घुमुवा हवल्दारले गर्दै आएका छन् ।

    गडहिया प्रहरी पनि संरक्षणमै व्यस्त

    इलाका प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर उज्वल कार्कीको निर्देशनमा जवान बालबीर पासवान तस्करी स्कर्टिङमा सक्रिय छन् । व्यापारीहरूका अनुसार उनीहरू स्कर्टिङ, पास र सुरक्षा मिलाउने काममा दिनभर खटिन्छन् ।

    नयाँ नाम–पुराना धन्दा

    नामुद तस्कर नवीन चौधरी ’मुना’ को नाममा कपडा, मकै, बीउ र काठपलाइ तस्करी गर्छन् । राजेश ठाकुर भारतबाट मकै, पटाका, बीउ ल्याउँछन् भने नेपालबाट स्याउ पठाउँछन ्। विजय यादव, दिनेश चौधरी, सन्तोष डिलर, कृष्ण यादव, अजय दास, अजय शहनी सबै यसै कारोबारमा छन् ।

    प्रहरी प्रशासन मौन, कारबाही शून्य

    तस्करीको सम्पूर्ण रुट, नाम, नाका, गाडी, संलग्न प्रहरी र तस्कर सबै खुलेका छन् । तर जिल्ला प्रशासन, प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय लगायत जिम्मेवार निकायहरू बेखबरझैँ छन् । अहिलेसम्म कुनै अनुसन्धान वा कारबाही नहुँदा तस्करहरू झनै खुला भएका छन् ।

    एसपीको संरक्षणमा भइरहेको तस्करीले राज्यसंयन्त्रको विश्वसनीयता र कानुनी शासनमाथि गम्भीर प्रश्न उठाएको छ । प्रहरीजस्तो संवैधानिक निकायको नेतृत्वमै तस्करी सञ्चालन हुँदा राज्यकै ढाँचा खिया लाग्दै गएको संकेत देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार