Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भवन विभागको लाज निमित्तले छोपे, धनुषाले गर्यो ८४ प्रतिशत प्रगति


    मंगलबार, साउन ६ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । आर्थिक वर्ष २०८१-0८२ मा सहरी विकास तथा भवन निर्माण विभागले गरेको वित्तीय प्रगतिलाई हेर्दा विभागको लाज निमित्त आयोजना प्रमुखहरूले छोपेको देखिएको छ ।

    दरबन्दी अनुसार खटाइएका विभाग मातहतका डिभिजन/आयोजना कार्यालयहरुले निकै कम प्रगति गरेका छन् भने निमित्त कार्यलय प्रमुखले उल्लेख्य प्रगति गरेका छन् । उक्त आ.व.मा कामको हिसाबमा ‘कन्फर्म’ कार्यालय प्रमुखले भन्दा निमित्तले धेरै काम गरेको तथ्यांकले देखाएको छ । यसबाट कार्यसम्पादन मूल्यांकनमा निमित्त प्रमुख अघि देखिएका छन् ।

    आ.व. २०८१-८२मा सुर्खेतस्थित विभाग मातहतको संघीय आयोजना कार्यालयले ८५ दशमलब ३२ प्रतिशत प्रगति गरेको छ । यस हिसावबाट सुर्खेतले सबैभन्दा बढी प्रगति गरेको छ । दोस्रोमा संघीय आयोजना कार्यालय धनुषा देखिएको छ । संघीय आयोजना कार्यालय धनुषाका आयोजना प्रमुख विनोद यादवले उक्त आ.व.मा ८३ दशमलब ४३ प्रतिशत प्रगति गरेका छन् ।

    आ.व. २०८१-८२मा धनुषामा कुल बजेट १ अर्ब ७१ करोड ३७ लाख ४० हजार रुपैयाँ छुट्याइएको थियो । त्यसमध्ये धनुषा आयोजना कार्यालयले १ अर्ब ४२ करोड ९८ लाख २७ हजार रुपैयाँ खर्च गरेको पाइएको छ । यो भनेको कुल बजेटको ८३ दशमलब ४३ प्रतिशत खर्च हो । काठमाडौं, धादिङ र जुम्ला आयोजना कार्यालयले निकै कम प्रगति गरेका छन् ।

    यीमध्ये काठमाडौं आयोजना कार्यालयमा कार्यालय प्रमुख सहसचिव सरहका इन्जिनियर हुने व्यवस्था छ । सहसचिवले गरेको प्रगति झनै लाजमर्दो छ । काठमाडौंमा ५४ दशमलब ४४, धादिङमा ५२ दशमलब ८७ तथा जुम्लामा ५७ दशमलब १० प्रतिशत प्रगति गरेको पाइएको छ ।

    धुनषा र सुर्खेतले गरेको प्रगति जोडेर विभागको समग्र प्रगति बढी देखिएको छ । नभए विभागको प्रगति झन् कमजोर देखिने थियो । यस हिसाबमा भवन विभागमा निमित्त कर्मचारी अब्बल देखिएका छन् ।
    चालु आ.व. २०८१-८२ को असारमसान्तसम्म विभागको समग्र प्रगति ५३ प्रतिशतको हाराहारीमा मात्र छ । योे विभागको इतिहासमा सबैभन्दा कम प्रगति हो । यसअघिका बर्षहरूलाई हेर्दा आ.व. २०८०-८१ मा विभागको प्रगति ७०.२८ प्रतिशत थियो ।

    यसैगरी आ.व. २०७९-८० मा ५९ प्रतिशत, आ.व. २०७८-७९ मा ६९.७६ तथा आव २०७७-७८ मा विभागको प्रगति ७८.७१ प्रतिशत पुगेको थियो । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले भवन विभागको प्रगति बढाउन सुरुदेखि नै चासो राखेका थिए ।

    यस बिषयमा उनले मन्त्रालयमा उच्चपदस्थ कर्मचारीहरूसँग पटक–पटक बैठक गरेका थिए । विभागको प्रगति नभएकोमा उनले कर्मचारीहरूसँग आक्रोश पोखेका थिए । गत जेठको पहिलो साता उच्चपदस्थ कर्मचारीहरूसँग भेट गरी तीन दिनभित्र प्रगति बढाउने गरी कार्ययोजना पेस गर्न सिंहले विभागीय प्रमुखहरूलाई निर्देशन दिएका थिए ।

    मन्त्रीको निर्देशनपछि विभागीय प्रमुखहरूले मन्त्रीसमक्ष कार्ययोजना पेस गरेका थिए । कार्ययोजना पेस भएपछि पनि मन्त्रालयको प्रगतिमा खासै सुधार हुन सकेन । गत जेठ ५ गतेसम्म विभागको प्रगति २९ प्रतिशत थियो । दुई महिनामा विभागको प्रगति २९ बाट ५३ प्रतिशत पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार