Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३ लाख घुससहित समातिएका एमाले कर्मचारी नेता धनेश्वर प्रसाई दोषी ठहर


    बुधबार, असार ३२ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । शिक्षकको पेन्सनपट्टा बनाउन ३ लाख घुससहित रंगेहात पक्राउ परेका राष्ट्रिय किताबखानाका शाखा अधिकृत धनेश्वर प्रसाईंसहित २ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

    उनले अवकाशप्राप्त शिक्षकको नियमानुसार बन्नुपर्ने पेन्सनपट्टा बनाइदिनका लागि विभिन्न बहाना बनाई घुस मागेका थिए । बिचौलियामार्फत घुस लिएपछि उनी अख्तियारको फन्दामा परेका थिए ।

    विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले घुस लिएको अभियोगमा अधिकृत प्रसाई र बिचौलिया सुदर्शन न्यौपानेलाई दोषी ठहर गर्दै कैद तथा जरिवानाको सजाय सुनाएको छ । उनीहरूले कसुर गरेको पुष्टि हुन आएकाले घुस लिएको बिगो ३ लाख रुपैयाँको दामासाहीले हुने १ लाख ५० हजारका दरमा बिगो, त्यति नै जरिवाना र ६ महिनाका दरले कैद सजाय हुने फैसला भएको विशेष अदालतले जनाएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको पुस १४ गते प्रसाईलाई ३ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा प्रसाईंसँग कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेको पनि मिलेमतो पुष्टि भएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    प्रसाई एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको शिक्षा मन्त्रालय विभागीय कार्यसमितिका कोषाध्यक्ष हुन् ।

    उनी यसअघि पनि घुससहित पक्राउ परेपछि मुद्दा जितेर पुनः शिक्षक कितावखानामा सरुवा भएका थिए । मुद्दा जितेर पुनः कितावखानामा पुगेका थिए प्रसाई । कितावखानामा पुगेपछि पनि उनले शिक्षकको पेन्सनपट्टा बनाउनका लागि घुस खाने क्रमलाई झन् तेज गतिका साथ अगाडि बढाएपछि भोजराज भट्टराईले अख्तियार बोलाएर उनलाई ३ लाख घुस दिएर पक्राउ गराएका थिए । तर तिनै

    शिक्षक भोजराज भट्टराईले बिशेष अदालतमा उल्टो बकपत्र गरेपछि अख्तियारले उनलाई समेत मुद्दा दायर गरेको थियो ।

    प्रसाई र न्यौपानेको बीचमा भएको श्रव्य दृश्य संवाद पनि अख्तियारले इजलासमा पेस गरेको थियो । सोही प्रमाण नै अकाट्य ठहरिएको छ ।

    कार्यालय सहयोगी भवानी अधिकारी भने पेनसन पट्टा बनाउने कर्मचारी नरहेको भन्दै विशेषले उनलाई सफाइ दिएको छ ।

    धनेश्वर प्रसाई र सुदर्शन न्यौपानेले निवेदकको पेन्सनपट्टा बनाउने कार्यको लागि घुस माग गरेको, प्रसाई पेन्सन पट्टा बनाउने कामसँग सम्बन्धित कर्मचारी भएको, उनको कार्यकक्षको दराजबाट ३ लाख रूपैयाँ बरामद भएको र उक्त रकम सुदर्शन न्यौपाने नामका बिचौलियामार्फत् लिएको पुष्टि भएको ठहर छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार