काठमाडौं । सशस्त्र प्रहरी बलका ४ डीआईजी म्यादथप गर्ने अन्तिम कसरतमा छन् । डीआईजीको ४ बर्षे पदावधि पुस २२ गते अवकाश हुने भएपछि डीआईजीहरु कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी १ बर्ष म्यादथप गर्नका लागि शक्तिकेन्द्रमा दौडधूपमा छन् । चारै जना डीआईजी आ– आफ्नो पहुँच भएका नेताहरुकोमा म्यादथप गरिदिनका लागि अनुनय बिनय गरिरहेका छन् । डीआईजीहरुले शक्तिकेन्द्र चाहार्ने क्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् पनि म्यादथप गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएको खुलेको छ ।
२ दिनमात्र कार्यकाल बाँकी भएकाले उनीहरु सोमबार(पुस २२ गते) सम्म म्यादथप गर्न सबै संयन्त्र प्रयोग गरिरहेका छन् । तर प्रधानमन्त्री केपी शर्मा ओली भने म्यादथपको पक्षमा नभएकाले उनीहरुको प्रयास सार्थक नहुने बालुवाटार स्रोत बताउँछ ।
गएको मंगलबारकै मन्त्रिपरिषद बैठकमा सशस्त्रका डीआईजीहरुको म्यादथपका लागि गृहमन्त्री रमेश लेखकको निर्देशन अनुसार मुख्यसचिव एकनारायण अर्यालले फाइल पेश गरेका थिए । मन्त्रिपरिषदले बिशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति लगायतका निर्णय गरे पनि सशस्त्रका डीआईजीको म्यादथपको निर्णय नगरी टुंगिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले सो दिन पछि सल्लाह गरौंला भनेपछि उक्त प्रस्तावमा निर्णय हुनसकेन । प्रधानमन्त्रीले मुख्यसचिव, गृहमन्त्री र गृहसचिवबीच छलफल गरेर प्रस्ताव ल्याउनू भनेपछि म्यादथपको निर्णय हुन सकेको थिएन । बिहीबार मन्त्रिपरिषदको बैठक बस्न सकेन । अब सोमबारको मन्त्रिपरिषद बैठकबाट म्यादथप गराउने कोसिसमा चारै डीआईजी छन् ।
एक बर्ष म्यादथप गर्न सकिने नियमावलीको ब्यवस्था रहेको छ । जुन ब्यवस्था अनुसार यसअघि तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले डीआईजी किशोर प्रधानको म्यादथप गरिदिए । तर त्यसअघिका अर्का डीआईजी प्रवीणकुमार श्रेष्ठको म्यादथप नहुँदा उनी ४ बर्षे कार्यकालमै अवकाश भएका थिए । यदि म्यादथप भएको भए उनी आईजीपीका दाबेदार हुने थिए । चार प्लस एकको प्रावधानले सशस्त्र प्रहरीमा चलखेल हुँदैआएको छ ।
म्यादथपका लागि शक्तिकेन्द्रमा चलखेल
म्यादथप गराउने प्रयास सफल भएमा आईजीपी हुने भएकाले डीआईजी गिरी, ठाडामगर, नेम्वाङ र सुवेदी आईजीपीका प्रतिस्पर्धी हुनेछन् । आईजीपी हुने भएको पनि म्यादथपमा बढी दौडधूप उनीहरुले गरिरहेका छन् । चारमध्ये पहिलो वरियताका डीआईजी कमल गिरीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नै गुहारेका छन् । स्रोतका अनुसार विद्या भण्डारीको माइतीगाउँ भोजपुरको मानेभञ्ज्याङ घर भएका गिरीले म्यादथपका लागि भनसुनका लागि उनलाई भेटेरै अनुरोध गरेका थिए । बिहीबार चपलीहाइटस्थित निवासमा भेट्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वराष्ट्रपति भण्डारीले डीआईजी गिरीको म्यादथपका लागि समेत आग्रह गरेको स्रोतको दाबी छ ।
भण्डारीलाई ‘दिदी’ भनेर सम्बोधन गर्ने गरेका गिरी चपलीमै प्रधानमन्त्री भेट्न पुगेपछि अन्तिम दिन पुस २२ को मन्त्रिपरिषदले म्यादथप गर्नेमा अझै पनि आशावादी नै छन् । तर पूर्वराष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीको दूरी पछिल्ला दिनमा बढ्दै गएकाले उनको भनसुनले काम गर्ने संभावना कमै देखिन्छ । प्रधानमन्त्री ओलीले आफ्नो ढुंगोलाई गल लगाएर पल्टाउनतिर नलाग्न एमालेका नेताहरुलाई सार्वजनिक कार्यक्रममै चेतावनी दिएकाले पनि उनले भण्डारीको कुरा सुन्ने संभावना क्षीण छ ।
डीआईजीहरुको दौडधूप जति चर्को भए पनि प्रधानमन्त्री ओली उनीहरुको म्यादथपको पक्षमा नभएको बताइन्छ । एक डीआईजीले एमालेलाई हराउन भूमिका खेलेको र अर्का डीआईजी माओवादीनिकट भएको रिपोर्टिङपछि प्रधानमन्त्री ओली सकारात्मक नभएकाले २२ गतेको मन्त्रिपरिषदबाट पनि म्यादथपको निर्णय हुने संभावना कम रहेको स्रोत बताउँछ ।
गएको २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनताका कोशी प्रदेशका डीआईजी रहेका गिरीले सुनसरी ४ बाट एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियतलाई हराउँदै ज्ञानेन्द्रबहादुर कार्कीलाई जिताएको रिपोर्टिङ सांसद भगवती चौधरीसहितका नेताहरुले प्रधानमन्त्रीलाई गरिसकेका थिए । गिरीकै कारण एमालेले एक सिट गुमेको निष्कर्ष सुनसरीको एमाले नेतृत्वको रहँदैआएको छ ।
ज्ञानेन्द्र कार्की सुनसरीमा जाँदा बाहिनीमै खानपिनदेखि सबै सुविधा उपयोग गर्थे । कार्कीले ११२ मतले जितेको घोषणा गरिएको थियो । यद्यपि गिरीलाई सशस्त्रभित्र भने एमालेनिकट भनेर चिनिन्छ ।
गिरीले एमाले हराएको र अर्का डीआईजी गणेश ठाडामगर माओवादीनिकट भएको, नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीसँग भाइटीका लगाउने गरेका जस्ता कारणलाई पनि म्यादथपमा बाधकका रुपमा चर्चा पनि सशस्त्रमा हुँदैआएको छ ।
सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले ४ डीआईजीमध्ये २ जनाको मात्र म्यादथपको सिफारिस गरेका थिए । डीआईजीद्वय गणेश ठाडामगर र शम्भु सुवेदीको मात्र म्यादथपको सिफारिस गरेको सूचना पाएपछि कमल गिरी र कुलबहादुर नेम्वाङले गृहमन्त्रीलाई भेट्न पुगेका थिए । आफूहरुलाई छुटाई ठाडामगर र सुवेदीको मात्र सिफारिस गरी अन्याय गर्न लागिएको गुनासोपछि गृहमन्त्री रमेश लेखकले ४ जनाकै सिफारिस गर्न निर्देशन दिएका थिए । गृहमन्त्रीको निर्देशनपछि ४ जनाकै म्यादथप सिफारिसको फाइल आईजीपी अर्यालले लगेका थिए ।
सुवेदी ब्याचमेट भएको र ठाडामगर छिन्नमस्ता बाहिनीपति हुँदा सँगै काम गरेकाले पनि उनीहरुको मात्र सिफारिस गरेको आरोप आईजीपी अर्यालमाथि लागेको छ । छिन्नमस्ता बाहिनीमा एसएसपी हुँदादेखि १८ महिना डीआईजी भएका ठाडामगरमाथि घुुमुवा परिचालन गरी तस्करीको लाइन चलाएर अकूत सम्पत्ति कमाएको आरोप छ । सुवेदी म्यादथप भए पनि आईजीपी राजु अर्यालसँगै आगामी बैशाख १० गते अवकाश हुनेछन् ।
२४ बर्षसम्म सशस्त्रमा भर्ना भएकाहरु नेतृत्वमा पुग्न सकेनन्
सशस्त्र प्रहरी गठन भएको २४ बर्ष पुगिसकेको छ । संगठन स्थापनापछि भर्ना भएका सशस्त्रका अधिकृतहरु अहिलेसम्म पनि नेतृत्वमा पुग्न सकेका छैनन् । सशस्त्रमै भर्ना भएका अधिकृतलाई नेतृत्वमा पुर्याउनका लागि पनि ४ डीआईजीको म्यादथप गर्नु नहुने लबिङ भइरहेको छ । चार डीआईजीको म्यादथप भए चार उनीहरुमध्येबाटै सशस्त्र प्रहरी बलको नेतृत्वमा पुग्नेछन् । म्याद थपिए उनीहरूमध्ये एकजना संगठन प्रमुख आईजीपी बन्नेछन् ।
सशस्त्र प्रहरी नियमावलीअनुसार ४ वर्षे कार्यकाल पूरा गरेर राजु अर्याल २०८३ वैशाखमा अनिवार्य अवकाश हुनेछन् । त्यसपछि अहिले एआईजी रहेका नारायणदत्त पौडेल, बंशी दाहालमध्येबाट एकजना आईजी बन्नेछन् । २०५४ चैत १८ मा प्रहरी इन्सपेक्टरमा भर्ना भएका उनीहरू ३० वर्षे सेवा अवधिका कारण २०८४ चैत १७ अनिवार्य अवकाशमा जानेछन् । त्यसपछि भने गिरी, मगर र नेम्वाङ पालैपालो एआईजी हुँदै एक आईजी बन्नेछन् । चार डीआईजीको म्यादथप भएमा आगामी ६ बर्षसम्म पनि सशस्त्रमा भर्ना भएका सि.स. १ का सुरेश श्रेष्ठ, अन्जनीकुमार पोखरेल, दीपेन्द्र शाह, पुरुषोत्तम थापाहरु आईजीपी नभई अवकाशमा जानेछन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend