राजबिराज । घुस माग्दा नदिएपछि सेवाग्राही प्रमोद साह राणालाई फिल्डबुक च्यातेको झुटो आरोप लगाई प्रहरी बोलाएर पक्राउ गराएपछि विवादमा तानिएका नापी कार्यालय सप्तरीका प्रमुख सुमनकुमार मिश्र जनआक्रोश थामिनसक्नुभएपछि काठमाडौं भाग्नुपरेको छ ।
मिश्रले आफैंले २ नम्बर नापी टोलीका कर्मचारी रामु राउतलाई फिल्डबुक च्यात्न लगाएर फसाउने नियतले राणालाई प्रहरी बोलाएर पक्राउ गराएपछि नागरिकहरु नापी कार्यालय घेराउ गरी बिरोध प्रदर्शनमा उत्रिएपछि नापी हाकिम मिश्र काठमाडौंमा भागेका छन् ।
जुन कार्यालयमा कार्यरत रहँदा पनि सेवाग्राहीलाई हप्काउने, सताउने र घुस नलिएसम्म कुनै पनि काम नगर्ने प्रबृत्तिका प्रमुख नापी अधिकृत मिश्रले सप्तरीमा प्रमोद शाह राणालाई दुःख दिने र झुटा मुद्दामा फसाउन खोजेका थिए । प्रभु साह अध्यक्ष रहेको आजपाका केन्द्रीय सदस्य राणा गएको भदौ १८ गते रामपुरमजुवा वडा नम्बर ३ को ब्लक नम्बर २६२ अन्तर्गतको मोहम्मद अनबरको जग्गा दर्ताका लागि सहजीकरण गर्न गएका सप्तरीको २ नम्बर नापी टोलीमा गएका थिए । टोलीका कर्मचारी रामु राउतले अनवरको जग्गा दर्ता गर्न मानेनन् । ठूलो रकम घुस मागे । उनले कार्यालय प्रमुख मिश्रको नाम लिएर घुस मागेका थिए । प्रमोदले प्रक्रियासम्मत काममा किन घुस दिन भनेर अडान लिए ।
प्रमोदले घुस दिन नमानेपछि २ नम्बर नापी टोलीका प्रमुखलाई सप्तरी नापीका प्रमुख मिश्रले फिल्डबुक आफैं च्यात्न लगाए । सरकारी कागज कर्मचारीलाई नै च्यात्न लगाएर प्रहरीकोमा रिपोर्ट गरी शाहलाई पक्राउ गराइयो । कार्यालय प्रमुख मिश्रले आफ्नै कर्मचारीलाई फिल्डबुक च्यात्न लगाएर सेवाग्राही प्रमोदलाई पक्राउ गराएपछि नागरिक आक्रोशित भई गएको भदौ २३ गते नापी कार्यालय सप्तरी घेराउ गरे ।
प्रमुख जिल्ला अधिकारीकोमा ज्ञापनपत्र दिनेदेखि हीबार(असोज १० गते) गृहमन्त्री रमेश लेखकलाई पनि ध्यानाकर्षण गराएपछि नापी कार्यालय सप्तरीका प्रमुख मिश्र काठमाडौं भागेका छन् । उनी पुनः सप्तरी फर्किन भूमिब्यवस्था मन्त्रालयमा मन्त्री र सचिवकोमा धाइरहेका छन् ।
सेवाग्राहीमैत्री ब्यवहार नगर्ने कर्मचारीका रुपमा मिश्र चिनिन्छन् ।
घनुषामा कुटाइ खाएर लखेटिए, गैरकानुनी रुपमा इनारको जग्गा दर्ता
यसअघि नापी कार्यालय धनुषाको प्रमुख हुँदा सेवाग्राहीलाई प्रक्रियासम्मत काममा घुस मागेपछि कुटाइ नै खाएर मिश्र लखेटिनुपरेको थियो । धनुषा नापीको प्रमुख हुँदा मिश्रले सार्वजनिक इनारको जग्गा व्यक्तिको नाममा गैरकानुनी रुपमा दर्ता गरेका थिए । अनुचित लाभ लिएर जनकपुरधाम उपमहानगरपालिका २१ को सार्वजनिक इनारलाई नै लुप्त बनाएर ब्यक्तिको नाममा दर्ता गरेपछि ब्यापक बिरोध भएको थियो ।
सार्वजनिक इनारको ९ धुर जग्गा कार्यालय प्रमुख मिश्रले घुस लिएर जगदीश झाको नाममा दर्ता गरेका थिए । नापी टोली प्रमुख दिलीपकुमार साह र नापी कार्यालय प्रमुख मिश्रले मोटो रकम लिएर सार्वजनिक इनार रहेको ७ धुर जग्गा थप गरी १६ धुरको प्रमाण पुर्जा बनाएको स्थानीयले प्रमाणसहित सार्वजनिक गरेपछि उनी सप्तरीमा सरुवा भएका थिए ।
०६९ कार्तिक २० मा इनारको जग्गा दर्ता रोक्न मागसहितको निवेदन नापी कार्यालयमा दर्ता भएको थियो । तर त्यो निवेदनदेखि सबै प्रमाण भए पनि मोटो रकम घुस लिएर मिश्रले दर्ता गरेपछि उनी विवादमा तानिएका थिए ।
सबै प्रमाणपत्र नक्कली, सेवाग्राही सताउँदै घुस असुली
नेपालमा सबैभन्दा बढी नक्कली प्रमाणपत्र पेश गरी जागिर खाने नेपाली सेनामा थिए । दरबारको आडमा राणा शाहले आफ्ना पुल्पुलिएर नपढेका सन्तानलाई भारतबाट प्रमाणपत्र किनेर ल्याउँदै जागिर खुवाएका थिए । सेनामा त त्यस्ता नक्कली प्रमाणपत्रधारीहरु प्रायः बाहिरिसकेका छन् । तर नापी विभाग अन्तर्गत भने अझै पनि केही नक्कली प्रमाणधारीहरुको चकचकी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस्ता नक्कली प्रमाणपत्रधारीहरुको खोजी गर्नुपर्ने देखिन्छ । यस्तै एसएलसीदेखि बीएसएसीसम्मकै नक्कली प्रमाणपत्र पेश गरी प्रमुख नापी अधिकृत(उपसचिव) भइसकेका कर्मचारी हुन्, सुमनकिशोर मिश्र । उनले नक्कली प्रमाणपत्र पेश गरी २०५९ माघदेखि २०६१ जेठसम्म सिनियर नापी तालिम लिएका थिए । तालिम लिएपछि २०६२–०६३ मा पोखरामा अमिनमा नापी बिभागको जागिरमा प्रवेश गरे । त्यसपछि सर्भेक्षक भए ।
२०६८ मा नापी अधिकृत भएर डिल्लीबजार नापी कार्यालयमा सरुवा मिलाए । पढ्दै नपढी बीएस्सीको प्रमाणपत्र ल्याएर २०७७ मा प्रमुख नापी अधिकृतमा बढुवा हुन सफल भए । प्रमुख नापी अधिकृत भएपछि बर्दिया पदस्थापन भए पनि गएनन् । हाल लोसपाका अध्यक्ष महन्थ ठाकुरको सोर्स लगाएर नगई पदस्थापन समेत संशोधन गराएका थिए । उनी महन्थ ठाकुरको नातेदार भएकै आधारमा सधैं भनेको ठाउँमा सरुवा गराउँदैआएका छन् ।
धनुषामा कुटाइ खाएर सप्तरी नापी कार्यालयमा सरुवा भएपछि पनि उनको घुसखोर बानीमा कुनै परिवर्तन हुन सकेन । उल्टै फिल्डबुक आफैं कर्मचारीलाई च्यात्न लगाएर सेवाग्राहीलाई फसाउन खोज्दा जनता आक्रोशित भएर संघीय सरकारका गृहमन्त्रीसम्म कुरा पुगेको छ ।
राजबिराजमा सेवाग्राहीलाई झुटा मुद्दा लगाउनेमात्र होइन, उनले सप्तरीका गाउँ–गाउँमा ब्लक नापी गरी दर्ता गर्न प्रतिकित्ता १० लाख रुपैयाँ दरले पैसा उठाउन बिचौलियाहरुलाई परिचालन गरेको आरोप पनि लाग्दैआएको छ । सेवाग्राही फसाउन खोज्दा जनआक्रोश बढेपछि सप्तरीबाट भागेका प्रमुख नापी अधिकृत मिश्रले सचिवदेखि मन्त्री र कर्मचारी प्रशासन महाशाखाका सहसचिवसमेतलाई बुझाउनुपर्छ भनी सप्तरी नापी कार्यालयका कर्मचारीहरुबाट २ लाखका दरले उठाएको आरोप छ । अमिनसँग १ लाख र सर्भेक्षक र नापी अधिकृतसँग २ लाखका दरले उठाएको गुनासो कर्मचारीले गरेका छन् । सरुवा रोक्नका लागि उनले उक्त घुस संकलन गरेको आरोप छ ।
एसएलसी(म्याट्रिक)देखि आईएसी र बीएस्सीसम्मको प्रमाणपत्र नक्कली पेश गरी जागिर खाएका मिश्र ४ बाक्य राम्रोसँग बोल्न र लेख्न समेत नजाने पनि धनुषा वा सप्तरी जहाँ गए पनि पहिलाका कार्यालय प्रमुखको कमजोरी खोतल्ने र उनीहरुको बिरुद्ध पोल लगाउने काममा भने निपूर्ण नै मानिन्छन् ।
सप्तरी नापीबाट सेवाग्राही फसाएर विवादमा तानिएका बिभाग तानिएका उनी मन्त्रालयमा मन्त्री र सचिवलाई कुरा लगाएर फेरि फर्कने र घुसको खेती गर्ने खेलमा छन् ।
डिल्लीबजारमा नापी अधिकृतदेखि धनुषा र सप्तरी कार्यालयको प्रमुख भइसकेका मिश्रले अनिवार्य क्लास लिनुपर्ने आईएस्सी र बीएस्सीको जागिर खाँदै कसरी प्रमाणपत्र ल्याए ? अख्तियारले उनले कुन कलेजमा हाजिर भएर पढे, त्यो खोजी गरे उनको प्रमाणपत्र नक्कली भएको खुल्ने उनीमातहत काम गरेका एक नापी अधिकृत नै नेपालफेसलाई बताउँछन् ।
कार्यालय प्रमुख मिश्रको भनाइ
नापी कार्यालय सप्तरीका प्रमुख सुमनकिशोर मिश्रले फिल्डबुक च्यात्न लगाएर प्रमोद साह राणालाई फसाएको र पक्राउ गराएको कुरा अस्वीकार गरेका छन् । उनले भने–‘म काजमा एक साताका लागि काठमाडौं आएको हुँ । फिल्डबुक च्यात्न लगाएर कर्मचारी पक्राउ गराएको छैन । जग्गा अदालतमा मुद्दा परेकाले दर्ता नगरिएको हो । नापी कार्यालयले विज्ञप्ति निकालेको छ । सबै त्यसमा उल्लेख छ ।’ एसएलसीदेखि सबै प्रमाणपत्र नक्कली पेश गरी जागिर खाँदैआएकोबारेमा उनले हप्काउँदै भने–‘फोन राख्नु्स् । म कुरा गर्दिनँ ।’
काठमाडौं । बोरिङ र मोटर जडान गर्ने कार्यका लागि ७ लाख ५० हजार घुस लिने भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन...
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । एक अर्ब भन्दा बढी मूल्य पर्ने काठको अबैध र अनियमित कटान, मुछान, घाटगद्दी र लिलाम गर्ने ३ जनाबिरुद्ध उजुरी परेको र अख्तियार...
काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। अध्यादेश ल्याएर भूपेन्द्र भण्डारीलाई अध्यक्षबाट पदमुक्त गरिएपछि घिमिरे नै निमित्त अध्यक्षको जिम्मेवारीमा थिए। पछिल्लो मन्त्रिपरिषद्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend