Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शिक्षामन्त्री राईले भने- गाईघाटमा मेडिकल कलेज सञ्चालन गरिन्छ


    शनिबार, माघ २७ २०८०
    990
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले त्रियुगा नगरपालिकाको गाईघाटमा मेडिकल कलेज सञ्चालनका लागि अनुमति प्रदान गर्न सरकार तयार रहेको स्पष्ट पारेका छन् ।

    आज बिहान नगरपालिकाको कार्यक्रम हलमा आयोजित कार्यक्रममा मन्त्री राईले वर्तमान सरकारले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रको विकासमा जोड दिइरहेको भन्दै गाईघाटमा मेडिकल कलेज सञ्चालनका लागि सङ्घीय सरकार प्रतिबद्ध रहेको बताए ।

    जिल्लामा मेडिकल कलेज सञ्चालनका लागि स्थानीयले पटकपटक सरकारसँग माग गर्दै आएका छन् । मन्त्री राईले भने, “लामो समयदेखि उदयपुरमा एउटा मेडिकल कलेज सञ्चालन गर्ने विषयमा यसअघिका सरकारलाई पनि यहाँका सरोकारवाला निकाय तथा नागरिकले माग ज्ञापन बुझाउनुभएको थियो । यस विषयमा वर्तमान सरकारले अनुमति प्रदान गर्नेछ ।” स्थानिय सरकारले उचित स्थानमा कलेज सञ्चालनका लागि जग्गा उपलब्ध गराए सरकार स्वीकृति प्रदान गर्न तयार रहेको उनको भनाइ थियो ।

    वर्तमान सरकार शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायत क्षेत्रको विकासमा जोड दिइरहेको मन्त्री राईले बताए । “यहाँका मेडिकल अध्ययन गर्न चाहने विद्यार्थीका लागि एउटा मेडिकल कलेज आवश्यक छ । यसमा शिक्षा मन्त्रालयको तर्फबाट कलेज स्थापना गर्न सरकारले सहयोग गर्नेछ”, उनले भने ।

    देशभरि छ वटा मेडिकल कलेज सञ्चालनका लागि सरकारले स्वीकृति प्रदान गर्ने तयारी गरिरहेको भन्दै मन्त्री राईले स्थानीय सरकारले उचित स्थानमा जग्गा उपलब्ध गराएपछि सरकारले स्वीकृति प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले यस क्षेत्रमा कम्तिमा एउटा मेडिकल कलेज आवश्यक रहेकाले सोहीअनुसार जग्गा उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए । एक महिनाभित्र जग्गा निर्धारण गरी कलेज स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारी गरिने उनले प्रतिबद्धता जनाए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार