Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • सशस्त्रका दुई शक्तिशाली एसएसपी, ज्वाइँलाई बढुवा गर्न डीआईजीको दरबन्दी थप्ने तयारी


    बुधबार, पुष ११ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । सुरक्षा निकायमा बरिष्ठताका आधारमा बढुवा गर्दा फौजको मनोबल सधैं उच्च रहने गर्दछ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा पछिल्ला दिनमा कार्यक्षमतालाई पनि बढुवाको आधार मान्न थालिएको छ । यद्यपि कार्यक्षमताका नाममा सुरक्षाफौजमा राजनीतिक हस्तक्षेप बढ्दै गएका तर्क पनि आउने गरेका छन् ।

    सशस्त्र प्रहरी बलमा बरिष्ठता र कार्यक्षमता दुबै मापदण्डमा नपरे पनि उच्च तहका नेताको नातेदार भएकै कारण दीपेन्द्र्र कुँवर शक्तिकेन्द्रको आशीर्वादमा आफ्नो ब्याचलाई उछिनेर नियमावली नै संशोधन गरी एसएसपी बढुवा भए । एसएसपी बढुवा भएको डेढ बर्षमै उनी डीआईजी बढुवा हुने चलखेलमा लागेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाका निजी सचिव भानु देउवाका बहिनीज्वाइँ कुँवरलाई बढुवा गर्नका लागि सशस्त्र प्रहरीमा डीआईजीको एउटा थप दरबन्दी थप गर्न चर्को दबाब परेको छ ।

    २०५९ मा सशस्त्र निरीक्षकमा भर्ना हुँदा ७५ जनामा ७० औं वरियतानमा रहेका कुँवरलाई देउवाकै जोडमा डीएसपीबाट एसपी बढुवा गर्दा १० औं नम्बरमा र एसएसपी बढुवा गर्दा १ नम्बरमा ल्याइएको छ । कुँवरलाई एसपीबाट एसएसपी बढुवा गर्दा सशस्त्र प्रहरी नियमावली नै संशोधन गरिएको थियो ।

    एसपी बढुवा भएको ४ बर्षपछि एसएसपी बढुवाको लागि आवेदन दिन पाउने ब्यवस्था रहेकोमा कुँवरलाई एक नम्बरमा एसएसपी बढुवा गर्नकै लागि संशोधन गरी ३ बर्ष अवधि कायम गरिएको थियो । उनका ब्याची राजेश उप्रेती लगायतका १२ एसपी त एक बर्षपछि २०८० भदौमा बल्ल एसएसपी बढुवा भएका छन् । सि.स. ३ नम्बर टोलीका एकसे एक क्षमतावान एसपी थिए । तर उनीहरुलाई पछि पार्दै देउवाको दबाबमा एसएसपी बढुवा गरियो । कुँवरलाई नियमावली संशोधन गरी बढुवा गर्दा राम्रो सन्देश नजाने बिषयमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गर्दा उनी कन्भिन्स भएका थिए । तर पछि भानुले सशस्त्र नेतृत्वलाई दबाब दिएपछि अन्ततः उनी बढुवा भएका थिए ।

    देशमा आर्थिक मन्दी छ, तर भानु देउवाका ज्वाईका लागि डीआइजीको दरबन्दी थप गरी थप ब्ययभार पार्न लागिएको छ । विगत ६ बर्षदेखि सशस्त्रको बन्दोबस्तीका लत्ताकपडा लगायतका सामान खरिद गर्ने प्रबन्ध महाशाखाका प्रमुख रहेका कुँवर डीआईजीको दरबन्दी थप गरी सिंगल बढुवा भई भावी आईजीपीको दौडमा लागेका छन् । आईजीपी हुनका लागि जेठान भानुको आडमा प्रबन्धमा बसी ठेक्कापट्टाबाट आर्थिक स्रोत समेत कुस्त जम्मा गरिरहेका छन् ।

    यसैबीच, सशस्त्र प्रहरी बलमा लेखा उपसमूहका नाममा ब्याचीलाई उछिनेर एसएसपीमा छलाङ हानेका होम ज्ञवाली पनि डीआईजीमा सिंगल बढुवा हुने दाउमा छन् । उनी लेखामै डीआईजीको दरबन्दी ल्याउने र बढुवा हुने खेलमा छ्न । लेखामा दरबन्दी ल्याउन नसके प्रशासनतिर हाम्फालेर ब्याचीभन्दा २ बर्षअघि नै डीआईजी बढुवा हुने प्रयत्नमा छन् ।

    हाल लेखा उपसमूहको प्रमुखमा एसएसपीको दरबन्दी छ । शैलेन्द्र खनाल आईजीपी हुँदासम्म लेखा उपसमूहका नाममा छिटोछिटो बढुवा हुने ज्ञवाली र कानुनका युवराज अर्यालको योजना तुहिएको थियो । खनालको बहिर्गमनपछि ज्ञवाली लेखाको एसएसपी बढुवा भएका थिए । ज्ञवालीका ब्याची ३१ जनाभन्दा बढी अहिले पनि एसपीमै छन् ।

    सशस्त्रका आकर्षक मानिने लेखा र प्रबन्धका एसएसपीद्वय ज्ञवाली र कुँवर बीच आपसमा मेल भने नरहेको स्रोत बताउँछ । दुबैले एक अर्काका बिषयमा आईजीपी राजु अर्याललाई पोेल लगाउने गरेका छन् ।
    एसएसपी ज्ञवालीले त गत आर्थिक बर्षमा हिमाली आइटम खरिदका क्रममा अर्थमन्त्रालयबाट नियमित भन्दा छुट्टै २६ करोड रुपैयाँ बजेट निकासा गराएका थिए । उक्त बजेट सार्वजनिक खरिद ऐन नियम छलेर टुक्रा टुक्रा पारी २० करोडको हिमाली आइटम खरिद गर्ने क्रममा ठूलै अनियमितता भएको थियो । चितवनका माओवादी कार्यकर्ता भाइकाजी घिमिरेमार्फत् तत्कालीन अर्थमन्त्री जनार्दन शर्माबाट २६ करोड रुपैयाँ बजेट सशस्त्रमा ल्याइएको थियो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य बिष्णुकमार श्रेष्ठ र जेएमबीडीलाई २० करोडको ठेक्का दिइएको थियो । नियमित भन्दा छुट्टै बजेट ल्याउने क्रममा अर्थ मन्त्रालयको बजेट महाशाखा र गृहमन्त्रालयका सहसचिवसम्म मिलाउनुपर्ने आधा करोड हिसाब देखाएर आईजीपी राजु अर्याललाईसमेत गुमराहमा राखिएको स्रोतले बताएको छ । स्रोतका अनुसार अर्थ र गृह मिलाउने भनेर हिसाब देखाए पनि उक्त रकम ज्ञवालीले नै लिएको चुरो कुरो आइजीपी अर्यालले पछि मात्र थाहा पाएका थिए ।

    यसैबीच, चालु आर्थिक बर्षमा पनि नेपाल प्रहरीमा जस्तै जेएमबीडीबाट तेब्बर मूल्यमा म्याट्रेस खरिद गर्नेगरी थप बजेट ल्याउनका लागि ज्ञवाली लागिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार