Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • जाजरकोट भूकम्पबाट ५९ हजार परिवार प्रभावित


    बुधबार, मंसिर २७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। जाजरकोट भूकम्पबाट ५९ हजार १६२ परिवार प्रभावित भएका छन्।

    उक्त भूकम्पबाट प्रभावित पाँच जिल्लाका स्थानीय तहले संकलन गरेको तथ्यांकअनुसार, उनीहरूको आवासको व्यवस्था गर्नुपर्ने देखिएको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार शुरुआतमा २८ हजार देखिएका थिए। सबै जिल्लाबाट स्थानीय तहले विवरण संकलन गरेर पठाएका हुन्।

    भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माण गर्न नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको निर्णयबमोजिम विपद् व्यवस्थापन कोषबाट प्रभावित पाँच जिल्ला जाजरकोट, रुकुम पश्चिम, बझाङ, बाजुरा र सल्यानमा एक अर्ब ४१ करोड रकम निकसा भइसकेको प्रवक्ता खड्काले बताए।

    जिल्लामा भूकम्पपीडितले सबै रकम अझै प्राप्त गर्न सकेका भने छैनन्। निकासा रकममध्ये आजसम्म एक अर्ब चार करोड आठ लाख २५ हजार स्थानीय तहको खातामा पुगिसकेको उनले बताए।

    स्थानीय तहले कायम गरेकामध्ये १० हजार १५३ लाभग्राहीले अस्थायी आवास निमाण गर्ने सम्झौता गरेका छन्। सम्झौता गरेका भूकम्प प्रभावितलाई स्थानीय तहले २४ करोड ६२ लाख ७५ हजार उपलब्ध गराएको प्रवक्ता खड्काले बताए।

    रकम प्राप्त गर्ने लाभग्राहीमध्ये रुकुम पश्चिममा दुई हजार ४२३ र सल्यानमा ४० गरी दुई हजार ४६३ परिवार आफ्नै नवनिर्मित अस्थायी आवासमा बस्न थालेका छन्। स्थानीय तहमा कायम भएका लाभग्राहीमध्ये सम्झौता गर्न बाँकीलाई प्रथम किस्ता तथा सबैलाई दोस्रो किस्ताबापत लाग्ने रकम दुई अर्ब ६० करोड ५० लाख थप निकासा गरिदिन सम्बन्धित जिल्लाबाट माग आएको प्रवक्ता खड्काले बताए।

    अर्थ मन्त्रालयमा गृह मन्त्रालयले यसरी माग भइआएको रकम निकासाका लागि पत्राचार गरिसकेको छ। निकासाको प्रक्रियामा रहेको रकम विपद् व्यवस्थापन कोषमा प्राप्त हुनासाथ कायम भएका लाभग्राहीको सङ्ख्याको आधारमा सम्बन्धित जिल्लामार्फत स्थानीय तहमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपलब्ध गराउने जानकारी गराएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार