Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आज आईफोन १५ सिरिज सार्वजनिक हुँदै, के के होलान् फिचर ?


    मंगलबार, भाद्र २६ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । आज (मंगलबार) एप्पलले आईफोन १५ सिरिज सार्वजनिक भएको छ । नेपाली समय अनुसार राति पौने ११ बजेदेखि सुरु हुने एप्पल इभेन्टमा आईफोन १५ लाइनअप अन्तर्गतका विभिन्न मोडेल सार्वजनिक हुने भएका हुन् ।

    एप्पल इभेन्ट क्यालिफोर्नियामा रहेको स्टिभ जब्स थ्रियटरमा हुनेछ । अघिल्लाे वर्ष सार्वजनिक भएकाे आईफोन १४ मा ब्याट्री हेल्थ चाँडै घटेको भन्दै प्रयोगकर्ताले गुनासो गरेका थिए । आईफोन १५ का माेडेलहरूका लागि एप्पलले विशेष सतर्कता अपनाएकाे विभिन्न रिपाेर्टहरूले उल्लेख गरेका छन् ।

    कम्पनीले आफ्नो आधिकारिक वेबसाइट, एप्पल टिभी, र युट्युब च्यानलबाट नयाँ प्रडक्ट सार्वजनिक भएको भिडिओ प्रत्यक्ष प्रसारण गर्नेछ । यसअन्तर्गत यहाँ क्लिक गरी एप्पलको वेबसाइटमा गएर वा यहाँ क्लिक गरी एप्पलको युट्युब च्यानलबाट लाइभ हेर्न सकिनेछ ।

    आजको कार्यक्रम प्रविधि क्षेत्रमा रुचि राख्नेहरूका लागि विशेष हुने अपेक्षा गरिएको छ ।

    विशेषगरी एप्पलले ११ वर्षपछि आईफोनको चार्जिङ पोर्ट परिवर्तन गर्न लागेको छ । त्यस्तै नयाँ चिपसहितको आईफोन १५ प्रो र प्रो म्याक्स, एप्पल वाच सिरिज नाइन, एयरपड्स प्राे लगायतका प्रडक्ट सार्वजनिक हुँदैछन् ।

    यी हुन आज सार्वजनिक हुने प्रडक्टः

    आईफोन १५ सिरिज

    एप्पल इभेन्टमा सार्वजनिक हुने प्रडक्टमध्ये आईफोन १५ सिरिजकाे चर्चा धेरै छ । आईफोन १५ लाइनअप अन्तर्गत आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स (वा आईफोन १५ अल्ट्रा) सार्वजनिक हुने अनुमान छ ।

    आईफोन १५ को बेस भेरियन्टमा ए१६ बायोनिक चिप हुनेछ भने प्रो मोडेलमा ए१७ बायोनिक चिप हुने छ ।

    आईफोन १५ मा हुने यूएसबी टाइप-सी पोर्टलाई सबैभन्दा आकर्षक र बढी खोजिएको फिचरका रूपमा हेरिएको छ । विभिन्न लिकरका अनुसार आईफोन १५ का सबै मोडेलमा टाइप-सी पोर्ट समावेश हुनेछ ।

    विभिन्न सूचना र लिकरहरूले सार्वजनिक गरेको जानकारी अनुसार आईफोन १५ को डिजाइनमा त्यति धेरै परिवर्तन गरिएको छैन । आईफाेन १४ को प्रो र प्रो म्याक्स मोडेलमा मात्र उपलब्ध डाइनामिक आइल्यान्ड फिचर भएकाेमा आईफोन १५ का सबै लाइनअपमा याे फिचर हुनेछ ।

    आईफोन १५ प्रो र १५ प्रो म्याक्सलाई विशेष बनाउन एप्पलले टाइटानियम बडीलाई हटाएर स्टेनलेस स्टिल राखेको लिकरले उल्लेख गरेका छन् । त्यस्तै कस्टमाइज गर्न मिल्ने एक्सन बटनहरू हुनेछन् । अन्य मोडेलभन्दा यी दुई मोडेलको बेजल पातलाे हुने बताइएको छ ।

    आईफोन १५ र आईफोन १५ प्लस एउटै कलरमा उपलब्ध हुनेछन् । विशेषगरी मिडनाइट ब्ल्याक, स्टारलाइट ह्वाइट, रेड, लाइट ब्लु र लाइट पिङ्क कलरमा उपलब्ध हुनेछ ।

    आईफोन १५ प्रो र प्रो म्याक्स मोडेल भने टाइटन ग्रे, डार्क ब्लु, सिल्भर र स्पेस ब्ल्याक कलरमा उपलब्ध हुनेछ ।

    एप्पलले हरेक नयाँ मोडेल सार्वजनिक गरेसँगै नयाँ प्रोसेसर उपलब्ध गराउने गर्छ । गत वर्ष आईफोन १४ प्रो र प्रो म्याक्समा दिइएको ए१६ बायोनिक चिपसेट अब आईफोन १५ र आईफोन १५ प्लस उपलब्ध हुनेछ ।

    आईफोन १५ प्रो र १५ प्रो म्याक्समा भने एप्पलको नयाँ प्रोसेसर ए१७ बायोनिक चिप रहनेछ ।

    आईफोन १५ मा एप्पलले उपलब्ध गराउने उच्चतम र्‍याम ६ जीबी हो । तर, यस पटक प्राे माेडेलहरूमा ८ जीबी र्‍याम उपलब्ध गराउने चर्चा छ ।

    इन्टर्नल स्टोरेजको सन्दर्भमा यो वर्ष एप्पलले आईफोन १५ प्रो र प्रो म्याक्समा १२८ जीबी, २५६ जीबी, ५१२ जीबी र १ टीबी इन्टर्नल स्टोरेज उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

    आईफोन १५ र १५ प्लस भने १२८ जीबी, २५६ जीबी र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ ।

    क्यामेराको सन्दर्भमा आईफोन १५ र आईफोन १५ प्लसमा ४८ मेगापिक्सेलको मुख्य र १२ मेगापिक्सेलको अल्ट्रावाइड एङ्गल लेन्स हुनेछ । आईफोन १५ प्रोमा ४८ मेगापिक्सेलको मुख्य, १२ मेगापिक्सेलको अल्ट्रावाइड र १२ मेगापिक्सेलको टेलिफोटो लेन्स हुने बताइएको छ ।

    आईफोन १५ प्रो म्याक्समा भने ४८ मेगापिक्सेलको सोनी आईएमएक्स ९०३ सेन्सर, १२ मेगापिक्सेलको अल्ट्रावाइड एङ्गल लेन्स र १२ मेगापिक्सेलको टेलिफोटो पेरिस्कोप लेन्स रहनेछ ।

    यी सबै मोडेलमा १२ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध हुने लिकरले उल्लेख गरेका छन् ।​ आईफोन १५ लाइनअपको मूल्य अघिल्ला मोडेलहरूको तुलनामा केही बढी हुने चर्चा छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार