सूर्यवदना घिमिरे पण्डित
काठमाडौं । हामीलाई कैलाश मनसरोवरको महत्व र परिचर्चा पहिला त्यति धेरै थाहा थिएन । साँच्चै भन्नुपर्दा ‘कैलाशमा शिवजी छन् त छन्, दर्शन दिन्छन् दिँदैनन् जाऊँ जान त’ भन्ने भजन गाइन्थ्यो । कोही मान्छेको देहावसान हुँदा वैकुण्ठ बास होस्, कैलाशमा बास होस् भनेको पनि सुनिन्थ्यो । कैलाश भनेको कता हो कता भनेजस्तो लाग्थ्यो । चार बर्षअघि हाम्रा छिमेकी दम्पति कैलाश मानसरोवर यात्रा गरेर आएको कुरा थाहा भयो । हामीले पनि यस विषयमा खोजी गर्न थाल्यौँ ।
अब कैलाश र मानसरोवरको विषयमा थोरै चर्चा गरौँः कैलाश र मानसरोवरको विषयमा स्कन्ध पुराण अन्तर्गत मानस खण्ड र हिमवत खण्डमा बर्णन गरेको पाइयो । हामी सनातन हिन्दूधर्मका अनुयायीहरू प्राकृतिक दृश्य हेर्न मात्र भन्दा पनि धार्मिक महत्व जोडिएको स्थानलाई दिव्यधामको रूपमा लिन्छौँ । यसकारण त्यहाँ जान इच्छुक नहुने कुरै आएन ।
भौगोलिक रूपमा भन्दा कैलाश गुर्लामान्धाता पर्वत श्रृंखलामा पर्ने तिब्बतको दक्षिण–पश्चिम क्षेत्रमा रहेको हिमाच्छादित पर्वत हो र मानसरोवर भनेको कैलाशबाट करिव ५२ किलोमिटर दक्षिणमा रहेको सफा पानीको ठूलो कुण्ड हो । पर्वत देख्दा पूर्णकलश आकारको भएकोले कैलाश भनिएको हो भन्ने पनि उल्लेख गरेको पाइन्छ । यो कैलाश पर्वत खोक्रो भएकोले भित्रबाट ॐकारको ध्वनी गुञ्जन्छ भन्ने पनि उल्लेख छ । हाम्रो शास्त्रीय मान्यता अनुसार कैलाश पर्वत शिव पार्वतीको बासस्थान हो । मानसरोवरलाई शिव पार्वती लगायत सबै देवीदेवताहरूले स्नान गर्ने कुण्ड भनिएको छ । यो सरोवर करिब ४५५९ मिटरको उचाइमा रहेको छ । यसको फैलावट ३२० वर्ग किलोमिटर एवं करिब १०० मिटर गहिरो छ भनिन्छ ।
यसैगरी मानसरोवरलाई क्षिरसागरका रूपमा भगवान विष्णुको बासस्थान भनेर पनि लेखिएको छ । यस्ता कुराहरूको जानकारी पाएपछि त्यता जानको लागि मनले उत्प्रेरित गरिरह्यो । उक्त यात्राका लागि बिभिन्न ट्राभल एजेन्सीहरूले हरेक बर्ष व्यवस्थापन गराइरहेको सुनिन्थ्यो । कोभिड १९ शुरु भएपछि त्यो व्यवसाय ठप्पै भयो । स्टेरिङ झिकेका गाडी जसरी थन्किए व्यवसायीहरू । कोभिडले धेरैको रोजीरोटी खोस्यो । कतिको ज्यान लग्यो । संसारका अधिकांश मान्छेलाई घरैमा नजरबन्दमा राख्यो । कोही आपूmलाई वा परिवारलाई कोभिड लागेपछि दुव्र्यहारको शिकार भए । कोही विदेश यात्राबाट फर्केको कारणले रोगै नलागे पनि प्रताडित भए ।

जति आतंक मच्चाए पनि सन् २०२३ अर्थात् बि.सं. २०७९ तिर आइपुग्दा कोभिड भाग्यो । जनसमुदायले टाउको उठाउन थाले, अर्थात् थालियो । हामीले चार बर्षअघिदेखि सम्पर्क गरिरहेको संस्था नमस्ते होलिडेजले अब कैलाश मानसरेवर यात्रा खुल्ने भयो भनेर खवर ग¥यो । कैलाश मानसरोवरको यात्रा गर्न आफन्त, साथीभाइ, छिमेकीहरूलाई पनि सूचना दियौँ । सूचना पाएका मध्ये भतिजी पार्वता र ज्वाईं शालिकराम न्यौपाने, सुशीला भाञ्जी र ज्वाईँ विष्णु घिमिरे, बहिनी पार्वती कोइराला र भाउजू कल्पना शर्मा पनि जान इच्छुक हुनुभयो ।
यात्राका विषयमा बुझ्न २०७९ चैत्र २० गते नागपोखरी नजिक रहेको नमस्ते होलिडेजको कार्यालयमा पुग्यौँ । मेनेजिङ डाइरेक्टर बसन्त बरालसँग कुराकानी भयो । त्यहाँबाट प्रकाशित ब्रोसर र सन् २०२३ को यात्रातालिका लियौँ । हामी जानको लागि असार ३ गतेको मिति निर्धारण ग¥यौँ । उक्त होलिडेजले निर्माण गरेको युट्युबमा भएको भिडियो घरमा आइपुग्नासाथ खोलेर हे¥यौँ । बैशाख १४–१५ गतेतिर भिषाको तयारी शुरु भयो । चाइनिज भिषाका लागि २० एमएम अनुहार देखिने फोटो चाहिने रहेछ । नजिकैको स्टुडियोमा खिचेर नमस्ते होलिडेजमा पठाइदिने गरी छोड्यौँ ।
हामीभन्दा अगाडि मेरो एकजना साथीका कैलाश मानसरोवरबाट फर्केपछि यात्राका क्रममा खिचिएका तस्विरहरू फेसबुकमा देखेर फोन गरेँ । यस अगाडिका वर्षहरूमा हिँडेर कैलाश परिक्रमा गर्न असहज हुनेहरूले घोडा चढ्थे रे । तर यसवर्ष त्यहाँ घोडा थिएनन् रे । घोडा चढेर परिक्रमा गर्ने मनस्थितिमा रहेका हामी बुढाबुढीलाई थोरै खल्लोेजस्तो लाग्यो । भिषा लिएपछि सरसामान तयार पारौँला भनेर बस्दाबस्दै भिषाको काम ढिला भयो । तैपनि सुने, बुझे अनुसार तयारी गर्दै रह्याँै । यसअघि २०७४ सालमा ४५ दिनको लागि बाह्र ज्वोतिर्लिङ र तीनधाम यात्रामा जाँदाभन्दा पनि यसपटक तयारी बढी गरियो ।
यत्तिकैमा ३० गते मंगलवार, बिहान ९ बजे कमलादीको राइजिङ मलमा चिनिया भिषाको प्रक्रिया पूरा गर्नेकाम र दिउँसो २ बजे अग्रवाल भवन कमलपोखरीमा कैलाश यात्राको विषयमा ब्रिफिङ भयो ।
लम्जुङ सुन्दबजार लक्ष्मीनारायण मन्दिरका पुजारी दिनेश अधिकारी लगायत सँगै जाने पैँतीस जनासँग भेट भयो । यात्रा समाप्त भएपछि फिर्ता गर्नेगरी ज्याकेट र फिर्ता गर्न नपर्नेगरी एउटा एउटा ठूलो र सानो झोला अनि टोपी पनि नमस्ते होलिडेजबाट प्राप्त भयो । यस होलिडेजले १८–१९ वर्ष अघिबाट कैलाश मानसरोवरको यात्रा गराएको रहेछ । शुरुमा भारतीयहरूमात्र त्यसतर्फ जान्थे रे । बितेका ६–७ वर्ष अघिदेखि मात्र नेपालीहरू पनि जान शुरु गरेका हुन् भन्ने बुझियो ।
हरेक तीर्थयात्राको लागि तन, मन र समय मिल्नै पर्छ । त्यसमाथि पनि यस यात्रामा एक दम्पति मात्र जाँदा पनि उक्त तीन कुराका अतिरिक्त धनको व्ययस्थापन गर्नुपर्ने रहेछ । शुरुमा यात्राका लागि होलिडेजलाई प्रतिव्यक्ति रु. १,६५,०००।– बुझाउनुपर्ने भन्ने ब्रोसरहरूमा लेखिएको भए पनि पछि रु.१,५०,०००।–मा लैजाने कुराको टुंगो लागेको थियो । चीनमा फेसबुक लगायत अरू मोबाइल एपले नेपालमा सम्पर्क गर्न सहज नहुने हुनाले ‘विच्याट’ भन्ने एप डाउनलोड गर्न भनियो । यो एप डाउनलोड गरेर सञ्चालनमा ल्याउन एक महिनाअघिदेखि ‘विच्याट’ चलाएको मान्छेले सिफारिसजस्तो गर्नुपर्ने रहेछ ।
यात्राको लागि यस होलिडेजबाट हाम्रो ३५ जनाको टिममा गाइड र भान्छे गरेर छ–सातजना जाने रहेछन् । होलिडेजले यात्रा गराउन शुरु गरेदेखि हरेकवर्षको ७–८ पटक गएका भान्छे तथा गाइडको रूपमा गएका मान्छेलाई पनि भेट्यौँ । हाम्रो टिममा जाने गाइड मनोज तामाङको पनि कैलाश मानसरोवरको यात्रा धेरैपटक पुगेको रहेछ । यस्ता अनुभवी व्यक्ति गाइड पाएकोमा धेरै खुसी लाग्यो ।
भोलिपल्ट अर्थात् जेठ ३२ गते भिषा अझै हातमा आएको थिएन । चिनियाँ युआनको कुरा बुझ्न ठमेलका बैँकहरू र मनिचेञ्जरहरूमा बुझ्यौँ । जता सोध्दा पनि आजकल चाइनिज आएका छैनन्, युआन छैन भन्ने जवाफ पाइयो । हुन पनि हो, पर्यटक आएका छैनन् । आफ्नो निकासी केही छैन, कसरी प्राप्त हुन्छ र चाइनिज मुद्रा ? तैपनि करिव एकघण्टा नेपाली पैसाको मुठो बोकेर ठमेल चाहा¥यौ । निकासी विना आयातमा भर परेको देशको चित्रण थियो त्यो । बल्लबल्ल एउटा मनिचेञ्जरकी बैनीले धेरैतिर फोन गरेर हामीलाई चाहिने पैसाको जोहो गरिदिइन् ।
जेठ ३ गते बिहान पशुपतिमा स्वस्तिवाचन गरेर कैलाश मानसरोवरको लागि यात्रा शुरु भयो । टोखातिरको बाटो हुँदै नुवाकोटको विदुर, वेत्रावती, त्रिशूलीको किनारै किनार स्याफ्रुबेसी हुँदै टिमुरे पुगियो । उक्त सडक नेपाल–चीन व्यापारका लागि नेपाली सेनाले दुइवर्ष अघिमात्र ट्रयाक खोलेको रहेछ । साँझ करिब ५ बजे रसुवाको कैलाश होटलमा बास बसियो । बेलुका सुत्ने बेलामा कोही मानिस चिनियाँ अध्यागमनले पूजा सामान लैजान दिन्छ भन्छन्, कोही दिँदैन भन्छन् । कोही भने कर्मचारीको मुडमा भरपर्छ भन्छन् । आखिर सबैजसो पूजाका सामानहरू भान्छाका सामान भएको गाडीबाट पठाइयो र सबै पुगेछन् पनि । बिहान ८ बजे नास्ता लिएर २० मिनेट पैदल यात्रा गर्दै रसुवाको सीमाना रसुवागढी पुगियो । त्यो गढीको हो भनिए पनि खासै ऐतिहासिक निसाना भने केही देखिएन । नेपालको अध्यागमनमा
प्रस्थान (डिपार्चर) छाप लगाइयो । पुलमा बसेर चीनतर्फ हेर्दा राम्रा ठूला भवन थिए भने नेपालतर्फ चारबर्षअघि बनाउन थालेको एउटा भवन अधुरो अवस्थामा थियो । करिव २ घण्टा चीन र नेपालबीचको पुलमा बसेपछि चिनियाँ गाइड जिग्मे आए । यसपछि अध्यागमनको काम पूरा भयो । सबै यात्रुलाई चिनियाँ गाइडले खादा लगाएर स्वागत गरे । अबको यात्रा चिनियाँ गाइड समेत भएर चिनियाँ गाडीबाट नै अगाडि बढ्यो । गाइड जिग्मेलाई नेपाली भाषाका केही मात्र आउने र हिन्दीमा अलि बढी कुरो पु¥याउन सक्ने रहेछ । त्यस दिन साँझ करिव २९०० मिटर उचाइमा रहेको केरुङ शहरमा पुगेर बास भयो । त्यहाँ नेपाली पसलहरू पनि प्रशस्तै थिए । केरुङ बजारको बीचमा प्यागोडा शैलीको मन्दिरमा बुद्घको पूजा अर्चना हुने स्थान रहेछ । सो मन्दिर नेपालकी चेली भृकुटी र स्रङचङगम्पोको विवाह भएको स्थल हो भन्ने सुनियो । हिन्दू र बौद्घ दुबै दर्शनलाई प्रतिनिधित्व हुनेगरी बनाइएको मन्दिर रहेछ भन्ने लाग्यो ।
बिहानको नास्ता पछि, यात्रा शुरु गर्नु अगाडि सबै यात्रुलाई लेक नलाग्ने औषधि ‘जोलामाइड’ खान दिइयो र अबदेखि हरेक बिहान–बेलुका खानापछि खानपर्ने कुरा पनि भनियो गाइडबाट ।
ब्रहृमपुत्र नदीको किनारै किनार हरियाली हेर्दै तरेली परेका पहाड घुम्दै र उक्लिदै करिब ५२२३ मिटर उचाइको घुन्टाला भञ्ज्याङ पार गरियो । सबैलाई हल्का लेक लागेको महशुस भयो । कसैले भुटेका मकै, कसैले टिमुर, कसैले लसुनको पेष्टको अचार खाइयो, कसैले कपुर सुघँे । कोहीलाई हल्का अक्सिजन पनि लिनप¥यो । साँझ करिब ४५०० मीटर हाइटमा रहेको साँगाको द ग्राण्ड होटलमा पुगेर तेश्रो दिनको बास बसियो ।
६ गते तिब्बतको पठार अर्थात् निर्जन सीतमरुभूमिमा चौँरीहरू चरेका हेर्दै करिब ५२११ मिटर उचाईको भञ्ज्याङ पार गरेर समथर भागमा पुग्दा परैबाट मानसरोवर देखियो । सबैले एकस्वरमा ‘मानसरोवर’ भनेर चिच्याउँदाको गुञ्जन अहिले पनि कानमा ताजा छ । करिब ३–४ किलोमिटर गुडेर मानसरोवरको डिलमा पुगेपछि चढिरहेका गाडीहरू छोडेर ग्रिन गाडी अर्थात् चिनियाँ सरकारका गाडीले मानसरोवर परिक्रमा गरायो । परिक्रमाकै क्रममा सरोवरको दक्षिण किनारमा रोकेर स्नान वा सेचन र जल आच्मन गरेर नेपाल ल्याउने तीर्थजल भ¥यौँ ।
केहीबेर गाडी गुडेपछि दक्षिणपट्टि मानसरोवरको ३०–४० मिटरको फासलामा राक्षस ताल देखियो । त्यहाँ त्रेतायुगमा शिवभक्त रावणले तपस्या गरेको, नाचेको ठाउँ भएकोले राक्षस ताल भनिएको भन्ने कुरा लेखिएको रहेछ पुराणहरूमा । त्यस तालमा बस रोक्ने, ओर्लने चलन रहेनछ । बसबाट नै नजर लगाइयो । पहिलापहिला त त्यस ताललाई हेर्नै हुन्न पनि भनिथ्यो रे । त्यस तालको पानी नुनिलो छ भनिन्छ । साँझ करिब ६ बजे मानसरोवरको किनारमा रहेको सामान्य गेस्टहाउसमा बासको तय भयो ।
त्यही दिन पितृतर्पण आदि कार्य गरियो । मानसरोवरमा रातको समयमा कैलाशबाट ताराहरूको रूपमा, हाँसको रूपमा महादेव पार्वती आउँछन् रे भन्ने कहावत सुनेकोले त्यो दृश्य हेर्न हामी सरोवर नजिक बसेका थियौँ । एकजना यात्रीले राती करिव ३ बजे केही फरक खालको प्रकाशित दृश्य देखिन् रे भन्ने सुनियो । राति १२–०१ बजे उठेर हेरे पनि हामीले भने केही देखेनौँ । यस सरोवरमा बिहार गरिरहेका हाँसहरू प्रशस्त थिए भने राक्षस ताल शून्य थियो । सरोवरतर्फ फर्केर ध्यान बस्दा त्यस स्थानमा एकदम धेरै उर्जा भएको अनुभव भयो । उर्जाको अनुभव त केरुङबाट उकाला लागेदेखि नै भएको हो । अझै मानसरोवर वरपर अधिक उर्जा भएको अनुभूति भयो । हाम्रा ऋषिहरूले तपगर्न हिमाली क्षेत्र छान्नुको कारण पनि यस्तै उर्जाको कारण होला भन्ने लाग्यो ।
सात गते बिहान कैलाश पर्वतलाई सामुन्ने पारेर सामुहिक रूपमा पूजापाठ, रुद्री, होम, लक्षवर्ति प्रज्वलन आदि धार्मिक कार्य गरियो । खानापछि करिब ४० किलोमिटरको दूरी बसमा गएर करिव ४७०० मीटर उचाइमा रहेकोे दार्चेन शहरमा पुगेर बास बसियो । दार्चेन सहरलाई कैलाश पर्वतको वेसक्याम्प मानिदो रहेछ । सात गते बिहानको नास्तापछि सबै यात्रुहरू यमद्वार पुग्यौँ । त्यहाँ रहेको एउटा बौद्ध स्तुपा छिरेर अर्को भागमा गएपछि कैलाश परिक्रमा गर्ने क्रम शुरु हुने रहेछ । त्यहाँबाट १२ किलोमिटर हिंडेर करिब ४९०० मिटर उचाईमा रहेको देरापुक भन्ने स्थानमा पुगिने रहेछ । त्यहाँ पुगेपछि उमेर र स्वास्थ्यले साथ दिनेहरू परिक्रमालाई निरन्तरता दिने वा नदिने निर्णय गर्दा रहेछन् ।
हामी बुढाबुढी सहित तेह्रजना भने यमद्वारबाट अगाडि बढेनौँ । यमद्वार नजिकै, कैलाश पर्वतबाट आएको पवित्र हिमनदीमा गएर स्नान वा आचमनपछि पितृ तर्पणको कार्य गरियो । हाम्रो शास्त्रीय मान्यता अनुसार धार्मिकस्थलको जल, माटो र शिलाको ठूलो महत्व हुनेहुनाले सबैले त्यहाँबाट सबैकुरा लियौँ र होटलमा फर्कियौँ । देरापुक जाने यात्रुहरू कोही बेलुका, कोही राति र कोही सूर्यको पहिलो किरणले पोतिएको सुनौलो कैलाश पर्वतको दृश्यावलोकन गरेर होटलमा फर्किए ।
कैलाश परिक्रमा गर्न गएका हाम्रो टिमका यात्री १० जना–विष्णु घिमिरे, सुशिला घिमिरे, पार्वतीदेवी कोइराला, दिनेश अधिकारी, दुर्गा घिमिरे, बावुराम काफ्ले, विष्णुप्रसाद पौडेल, कविता श्रेष्ठ, सुष्मिता लामा र सुमित्रा लामाको प्रतिक्षा गर्दै दुईदिन होटलमा नै बसियो । हामी बसेको होटलका बेडहरूबाट कैलाश पर्वत छ्याङ्गै देखिने थियो । कैलाश हेर्दै बिहान बेलुकाको सन्ध्याबन्धन गर्न पाउदा मन आनन्द भयो । त्यस क्षेत्रमा पनि भरपुर उर्जाको अनुभव भयो । पहिला नमस्ते होलिडेजलाई पैसा बुझाउँदा धेरैजस्तो लागेको थियो । तर यात्राको व्यवस्थापन देख्दा सन्तुष्टिको तह उच्च रह्यो । कैलाश परिक्रमा सम्पन्न गरेर फर्केकाहरूलाई १० गते बिहान स्वागत गरियो । परिक्रमाका क्रममा करिब ५६२० मिटर उचाइको डोल्माला भञ्ज्याङ पार गरेपछि भेटिने गौरीकुण्डको जल सबैलाई वितरण भयो । यसपछि हाम्रो टोलीको फिर्ती यात्रा शुरु भयो । दार्चेनबाट हिँडेपछि त्यसदिनको बसाई साँघामा भयो । अन्तिम बास अर्थात् ११ गते केरुङमा बसेर १२ गते साँझ सकुशल काठमाडौ आइपुगियो ।
वास्तवमा भन्नुपर्दा, कैलाश मानसरोवर नेपालबाट टाढा हुँदै हैन रहेछ । जाँदा र आउँदा गरेर करिब १७०० किलोमिटर बसबाट यात्रा गरिएछ । यो हेर्दा मेचीमा बसाइ भएको व्यक्ति महाकाली पुगेर फर्के भन्दा पनि कम दूरी रहेछ । हिउँ परेदेखि बाहेक अरूबेला धेरै बाक्ला लुगा पनि बोक्नु नपर्ने अनुभव सुनाए परिक्रमा गर्नेहरूले । हावा नछिर्ने पातलो ट्राउजरभित्र सामान्य थर्माकोट र एउटा टिसर्ट माथि ज्याकेट लगाए हुने रहेछ । खानेकुराहरूमा पनि आफूलाई मनपर्ने केही कुराहरू र सँगै यात्रागर्दा केही बाँडेर खान रमाइलो हुने हुनाले बोक्ने मात्र हो । आफ्नै टिमका भान्छेले तयार गरेका परिकार खानसके पुग्ने रहेछ । कैलाश भन्ने बित्तिकै टाढाजस्तो लाग्नुका केही कारणहरू छन् । ती कारण हुन्–चीनको भिषा लिनुपर्ने, टोखादेखि नै उकालो लागेको लाग्यै करिव ५६०० मिटर भन्दा बढीको उचाइमा पुग्नुपर्ने । धेरैलाई मानिसलाई लेक लाग्ने समस्या हुने । चिसो बढी हुने र प्रतिव्यक्ति रु.१,५०,०००।– खर्च लाग्ने भएर मात्र हो भन्ने लाग्यो । त्यसमाथि पनि धर्मकर्म गर्न जाने भने बित्तिकै उमेर घर्केका मान्छे हुने हुनाले हाउगुजी मानिएको हुनुपर्छ ।
त्यसैले गुणरत्नमालामा भनिएको छ–
चंगा चित्त हँुदै, उमेर रहँदै, पैसा छँंदै हातमा
ब्याधीले नछुँदै र आयु रहँँदै बर्कत छँंदै गाथमा
आफ्नो श्रेय हुने पछि सुख हुने धन्दा छिनिहाल है
आग्लागि घरमा भएपछि कुवा खन्दा हुने छैन है ।
उमेर, बल र पैसाको चाँजापाँजो आफ्नो हातमा छँदै एकपटक सबैजनालाई कैलाश मानसरोवरको यात्रा गर्ने अवसर मिलोस् ।
हरि ॐ ।
(लेखक जीवन विज्ञानका प्रशिक्षक हुनुहुन्छ ।)
झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित सीमा इलाकाबाट जेठ ४ गते सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले ५ सय ७० ग्राम सुन...
काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनले चयन गरेका सभापति गगन थापाले पार्टी नफुटेको दाबी गर्दै नेतृत्व मात्र परिवर्तन भएको बताएका छन् । पार्टी अद्यावधिक गर्न...
नेपाल फेस डटकममा ‘फेरि मौलाउँदै नेटवर्किङ कारोबार, अबर्जन कम्पनीबाट करोडौं ठगी’ शीर्षकमा प्रकाशित प्रसारित सामग्रीउपर मेरो ध्यानाकर्षण भएको छ । उक्त समाचार सामग्रीका सम्बन्धमा...
झापा । मुलुकको होचो गाउँपालिकाका रूपमा रहेको कचनकवल-५ पाठामारीस्थित मेची नदीमा निर्मित झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । सङ्घीय सरकारको रु...
काठमाडौं । एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएमा छन् । एकीकृत समाजवादी र गौतम नेतृत्वको नेकपा एकता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend