Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देशका ६ वटै महानगरका मेयर पोखरामा जम्मा हुँदै


    आइतबार, साउन ८ २०७९
    2.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । साउन १३ र १४ गते पोखरामा नेपालका ६ वटै महानगरका मेयरहरुको सम्मेलन हुने भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा उक्त सम्मेलन हुन लागेको हो ।

    महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदान प्रदान गर्नका लागि कार्यक्रम राखिएको पोखराका मेयर धनराज आचार्यले बताए । उनका अनुसार गाउँपालिका र नगरपालिकाका समस्या सुनाउनका लागि आफ्नै संरचना भए पनि महानगरको छुट्टै संरचना नभएका कारण भेलाले साझा समस्या खोजेर समाधानका लागि सम्बन्धित निकायमा सुझाव दिनेछ ।

    यसअघि पनि पोखराकै आयोजनामा मेयर सम्मेलन भएको थियो । सम्मेलनमा महानगरको सञ्चालन कानुन फरक हुनुपर्ने आवाज उठे पनि कार्यान्वयनमा गएन । यसपालि पनि महानगरको छुट्टै सञ्चालन ऐन निर्माणका लागि छलफल हुन सक्ने बताइएको छ । ‘धेरै चुनौती छन् । ती चुनौती पार लाउन आपसी भेटघाट र छलफल हुनुपर्छ,’ आचार्यले भने, ‘एउटा प्रक्रियाको सुरुवात मात्रै हो । यसपछि निरन्तर बैठक हुनेछ ।’

    आचार्यले १ महिनाअघि देखि मेयर सम्मेलनको लागि निम्तो गरेका थिए । सबै महानगरका मेयरसँग छलफल गरेर भेला आयोजना गरिएको उनले बताए । ६ वटा महानगरमध्ये ललितपुर र भरतपुरमा पुरानै मेयर छन् भने अरू सबै महानगरमा नयाँ मेयर निर्वाचित भएका छन् । पुराना मेयरको अनुभव सुनेर नयाँ मेयरले कामको कार्य योजना बनाउन सजिलो हुने पोखरा महानगरले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार