Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • मन्त्री मेहताद्वारा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता


    बिहिबार, कार्तिक १३ २०८३
    50
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग आर्थिक वर्ष २०८३-८४ का लागि कार्यसम्पादन सम्झौता गरेकी छन्।

    बिहीबार सम्झौता गर्दै मन्त्री मेहताले बिरामीले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताएकी हुन्।

    मन्त्री मेहताले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता गरेकी हुन्।

    सम्झौताका क्रममा अस्पतालको सरसफाइ तथा स्वच्छता कायम गर्ने, बिरामीले आवश्यकता अनुसार समयमै शय्या पाउने व्यवस्था मिलाउने, उपचारका लागि लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्थाको न्यूनीकरण गर्ने तथा स्वास्थ्यकर्मीको सेवाग्राहीप्रतिको व्यवहारलाई थप सेवामैत्री र जिम्मेवार बनाउने विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिइन्।

    त्यसैगरी, स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, प्रभावकारी सेवा प्रवाह, संस्थागत सुशासन, पारदर्शिता र जबाफदेहिता कायम गर्दै बिरामीले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ।

    कार्यसम्पादन सम्झौतामार्फत प्रतिष्ठानहरूको जिम्मेवारी र लक्ष्यलाई थप स्पष्ट गर्दै स्वास्थ्य सेवामा सुधार ल्याउने तथा सेवाग्राहीले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

    त्यस्तै मन्त्रालयका सचिव डा। विकास देवकोटाले समेत १९ वटा संघीय अस्पतालका प्रमुखसँग आर्थिक वर्ष २०८३-८४ का लागि कार्यसम्पादन सम्झौता गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार