Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • आजदेखि मिथिला क्षेत्रमा छठ पर्व सुरु


    शुक्रबार, कार्तिक २८ २०८३
    70
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • जनकपृुर । दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि सुरु हुँदै गरेको छठ पर्वका अवसरमा महोत्तरीसहित मिथिला क्षेत्रका गाउँ बस्ती र बजारमा चहलपहल बढेको छ । चार दिनसम्म मनाइने यस पर्वको तयारीमा स्थानीयवासी जुटेका छन् ।

    आस्था, निष्ठा र भक्तिको पर्व मानिने छठको तयारीस्वरूप मिथिला क्षेत्रका घरघरमा छठका गीत गुञ्जिन थालेका छन । सूर्यदेव र षष्ठीदेवी (छठीमाता) को महिमा गाइने भक्तिगीतले मिथिलाको वातावरण छठमय बनेको छ ।

    छठ पर्वले तराई–मधेसका गाउँबस्ती मात्र होइन, सहर, बजार र पहाडसम्म धार्मिक तथा सांस्कृतिक चहलपहल बढेको छ । सूर्यको उपासना गरी मनाइने यो पर्वले धार्मिक रौनक मात्र बढाएको छैन, पुस्तौंदेखि बाँसका सामग्री बनाउँदै आएका डोम तथा मरिक समुदायको जीविकोपार्जनमा समेत आशा जगाएको छ ।

    छठपर्वको तयारीका लागि स्थानीयवासी नदीकिनार, पोखरी तथा धार्मिक महत्वका जलाशयमा छठघाट निर्माण र सरसफाइमा जुटेका छन । विशेषगरी युवा छठघाट निर्माण तथा सजावटमा सक्रिय देखिएका छन् ।

    बाँसका भाटा र झिक्रा प्रयोग गरी बनाइएका घरका भित्ता लिपपोत तथा रङरोगन गरेर सजाउने काम पनि भइरहेको छ । सडक, घर र सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गरिएका छन् । धनी, गरिब सबैले आफ्नो क्षमताअनुसार श्रद्धा र निष्ठाका साथ पर्व मनाउने तयारी गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार