Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • प्रधानमन्त्री कार्कीद्वारा छठको शुभकामनाः सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो छ


    सोमबार, कार्तिक १० २०८२
    835
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सूर्य आराधनाको महान् पर्व छठका अवसरमा शुभकामना प्रकट गर्दै अहिलेको अवस्थामा सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो औंल्याएकी छन् ।

    राष्ट्रिय एकता, सद्भाव र लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहन सबैलाई आग्रह गर्दै उनले सत्य, अहिंसा र प्रकृतिप्रेममा अभिप्रेरित यो पर्वले तराई–पहाडबीचको सांस्कृतिक र सामाजिक एकता सुदृढ गर्ने सेतुको काम गरिरहेको उनले उल्लेख गरेकी छन् ।

    शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले भनेकी छन्–‘छठसहित हाम्रा चाडपर्वहरू हाम्रो सामाजिक एकता, सद्भाव र भ्रातृत्वका मानक पनि हुन् । अहिलेको अवस्थामा हामी सबै नेपालीबीच अझ बढी एकता र सद्भावको खाँचो छ ।’

    प्रधानमन्त्रीले हालको राजनीतिक परिस्थितिलाई सन्तुलित बनाउँदै आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षको सहकार्यमा जोड दिएकी छन् ।

    सडक प्रदर्शनमात्र सबै समस्याको समाधान होइन भन्दै उनले आफ्ना अडान वा असन्तुष्टि भए पनि शान्तिपूर्ण रूपमा राखी आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु नै लोकतन्त्रको सर्वोत्तम विधि भएको उल्लेख गरेकी छन् ।

    प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनलाई एक ‘राष्ट्रिय अनुष्ठान’ का रूपमा ग्रहण गरी सफल बनाउन सम्पूर्ण नागरिक, राजनीतिक दल र सरोकारवालालाई आह्वान गरेकी छन् ।

    उनले भनेकी छन्–‘जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व हामीमाथि छ । सबै पक्षले परिस्थितिको संवेदनशीलता र आ–आफ्नो जिम्मेवारीको बोध गर्दै निर्वाचन सफल पार्न जुट्नुपर्ने बेला छ ।’

    छठको सन्दर्भमा उनले पवित्र आस्था, कठिन व्रत र सिंगारिएका नदी तथा तलाउका किनारमा देखिने उत्सवका दृश्यहरूले नेपाली समाजमा सद्भाव र खुशी फैलाओस् भन्ने कामना पनि गरेकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार