Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • बिचौलिया ब्यापारीको प्रभावमा भन्सारका डीजी, तस्करी रोक्ने मुस्ताङ भन्सारका हाकिम ६ महिनामै फालिए


    मंगलबार, कार्तिक ११ २०८३
    255
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । बिचौलिया ब्यापारीको सेटिङमा आकर्षक भन्सार कार्यालयका प्रमुखको सरुवा हुने विगतको परम्परा वालेन्द्र शाह नेतृत्वको सरकारमा पनि कायमै रहेको खुलासा भएको छ । आकर्षक भन्सार कार्यालयको सरुवामा विगतमा जस्तै सेटिङकै आधारमा भएको मुस्ताङ भन्सार कार्यालयको प्रमुखलाई नै लिन सकिन्छ ।

    भोटेकोशी बाढीले रसुवागढीको नाका पूर्णतया बन्द भएको र तातोपानी नाका चीनले संचालनमा बिलम्ब गरेकाले मुस्ताङको कोरला नाका नै चिनियाँ सामान आयात हुने मुख्य नाका भएको छ । कोरला भन्सारबाट बिगत ६ महिनामा तस्करी गर्न नपाएको बिचौलिया ब्यापारीको समूहले भन्सार बिभागका महानिर्देशक यमलाल भूसालदेखि अर्थमन्त्रालयका सचिव घनश्याम रेग्मी र डा. स्वर्णिम वाग्लेसम्म सेटिङ मिलाएर भन्सार प्रमुख बिदुर चुडाललाई सरुवा गराएको खुलेको छ ।

    मुस्ताङ भन्सार कार्यालयमा उपसचिवको दरबन्दी कायम भएपछि ६ महिनाअघि पदस्थापन भएका बिदुर चुडाललाई निजामती सेवा ऐन– नियमबिपरीत २०८३ असोज २३ गते भएको अर्थमन्त्रालय अन्तर्गतका ८५ उपसचिवको सरुवामा जनकपुर भन्सार कार्यालयमा हुत्याइएको छ ।

    निजामती सेवा ऐन नियममा कम्तीमा २ बर्षसम्म सरुवा गर्न पाइँदैन । विगत ६ महिनामा भन्सारछली तस्करी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्दैआएका उपसचिव चुडाललाई तत्कालीन भन्सार प्रमुख रमेश खड्कासँग सेटिङमा सामान भित्र्याउँदैआएको मेख गुभाजूको एक बिचौलिया ब्यापारीको समूहले ६ महिनामै सरुवा गर्न सफल भएको छ । र, कैलाली भन्सार कार्यालयका प्रमुख अनन्तप्रसाद तिम्सिनालाई मुस्ताङ भन्सारको प्रमुखमा सरुवा गराउन सफल भएको छ ।

    कोरला नाकाबाट चिनियाँ सामान भित्र्याउँदैआएका केही ब्यापारी र क्यारिङवालाहरुको तर्फबाट गुभाजुले नै भन्सार बिभागका महानिर्देशक (डीजी) भूसाल र अर्थमन्त्रालयसम्म सेटिङ मिलाई उपसचिव तिम्सिनालाई कैलाली भन्सारबाट मुस्ताङ भन्सारमा सरुवा गराउन सफल भएको स्रोत बताउँछ ।

    भन्सार बिभागको महानिर्देशकमा भूसाल आएपछि कोरला भन्सार प्रमुख चुडाललाई मेख गुभाजूसहितका ब्यापारीको समन्वयमा काम गर्न दबाब दिएका थिए । तर उनले डीजी भूसालको दबाब ठाडै अस्वीकार गरी ब्रान्डेड सामानको न्यून मूल्यांकन गर्न, एकथोक सामान घोषणा गर्ने र अर्को थोक ल्याउन रोके । त्यतिमात्र होइन, विद्युतीय चुरोट(भेप)मा कडाइ गरेपछि गुभाजूसहितका ब्यापारी र क्यारिङवालाहरुले डीजी भूसालमार्फत् सेटिङ मिलाएर तिम्सिनालाई मुस्ताङ भन्सारको प्रमुखमा सरुवा गराउन सफल भएका छन् ।

    चालू आर्थिक बर्ष २०८३–०८४ को सुरुवाती तीन महिना (साउनदेखि असोज २७ सम्म) मा मात्रै मुस्ताङ भन्सारले ८ अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन गरेको तथ्यांक सार्वजनिक भएको छ । तस्करी नियन्त्रण गरी उल्लेख्य राजस्व संकलन गर्न सफल भन्सार प्रमुख चुडाललाई बालेन्द्र सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र सचिव घनश्याम रेग्मीले पुरस्कृत गर्नुपर्नेमा ६ महिनामै सरुवा गरी दण्डित गरेका छन् ।

    डीजी भूसाल यसअघि एमाले उपाध्यक्ष बिष्णुप्रसाद पौडेल अर्थमन्त्री हुँदा पनि उनी निकट भएर भन्सार बिभागको महानिर्देशक भएका थिए । गुल्मीका एमाले नेताहरुको निकट र बिष्णु पौडेल अर्थमन्त्री हुँदा लिनुसम्म लाभ लिएका भूसाल भन्सार बिभागको इतिहासमा दोहोरिएर डीजी भएका हुन् । सामान्यतया दोहोरिएर बिभागीय प्रमुख कोही पनि हुँदैनन्, तर भूसाल फर्की फर्की डीजी भएर मालदार भन्सार कार्यालयमा ब्यापारीको सेटिङमा सरुवा गर्ने र तस्करीमा सहजीकरण गर्न तल्लीन भएका छन् । फर्किफर्की भन्सार बिभागको डीजी भएका भूसालसँग गुभाजुको अघिल्लो कार्यकालदेखिकै सेटिङ रहेको छ । उनको काठमाडौंको नैकापमा भब्य महलदेखि ब्यापारीक मेसमासमेत अदृश्य लगानी रहेको स्रोत बताउँछ ।

    मेख गुभाजू को हुन् ?

    ब्यापारी मेख गुभाजू सिन्धुपाल्चोकका हुन् । कोरला नाका संचालन भएपछि मुस्ताङ भन्सार कार्यालयको प्रमुखमा रमेश खड्कालाई लगेको गुभाजूको समूहले उनको कार्यकालमा मासिक बीसौं कन्टेनर सामान न्यून भन्सार तिरेर आयात गरी कुस्त लाभ लिएका थिए । तर चुडाल भन्सार प्रमुख भएपछि उनले गुभाजुको तस्करीको नेटवर्क नै ध्वस्त पारिदिए । भन्सारका डीजी भूसालमार्फत् सहजीकरण गर्नका लागि भन्दा पनि नमानेपछि गुभाजुहरुकै सेटिङमा ६ महिनामै चुडाल सरुवाको कोपभाजनमा परेका छन् ।

    गुभाजु ठेकेदार थिए । गुभाजुले सिन्धुपाल्चोकको बाह्रबीसेबाट धुस्कुन जाने सडकको ठेक्का पूर्णबहादुर तामाङ (कान्छाराम)सँग मिलेर ठेक्का लिएका थिए । तर गुभाजु र कान्छारामले ठेक्का लिएको उक्त सडक सम्पन्न नगरी अलपत्र छाडेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । मुस्ताङका तत्कालीन भन्सार प्रमुख रमेश खड्कासँग सेटिङ गरी भन्सारछली गरी सामान आयात गरी अकूत कमाउनेमा पर्दछन् गुभाजु ।

    गुभाजू अघिल्लो स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका थिए । एमालेमा प्र्रवेश गरेपछि उनी पछिल्ला दिनमा एमाले सचिव महेश बस्नेतका प्रियपात्रका रुपमा चिनिन्छन् ।

    ६ महिनामै उपसचिव बिदुर चुडाललाई सरुवा गराएर मेख गुभाजुसहितका ब्यापारीको सेटिङमा मुस्ताङ भन्सार कार्यालयमा सरुवा गरिएकोबारेमा प्रमुख अनन्तप्रसाद तिम्सिनाले भने–‘भन्सार प्रमुख(उपसचिव)को सरुवा गर्ने अर्थमन्त्रालयले हो । अर्थमन्त्रालयका सचिवज्यूबाट सरुवा हुने हो । डीजी साबको भूमिका के हुने ? त्यो सबै जानकार छन् । डीजी साब र सचिवज्यूले पनि मलाई सोध्दै नसोधी मुस्ताङ सरुवा गरिएको सूची हेरेर थाहा पाएको हुँ । म मेख गुभाजु नामका कोही ब्यक्ति र ब्यापारी चिन्दिनँ ।’

    मेख गुभाजुको सेटिङमा तिम्सिनाको सरुवा गरेको आरोपका बारेमा मन्सार बिभागका महानिर्देशक यमलाल भूसालसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् । अर्थमन्त्रालयका सचिव घनश्याम रेग्मीले पनि प्रतिक्रियाका लागि प्रयास गर्दा सम्पर्कमा आउन चाहेनन् । ब्यापारी मेख गुभाजुसँग प्रतिक्रिया लिन खोज्दा उनको सम्पर्क नम्बर फेलापरेन । उहाँहरुको प्रतिक्रिया जहिले प्राप्त भए पनि हामी प्रकाशित गर्नेछौं ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार