Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रसुवा भन्सारमा तस्करीको सेटिङः ६ वटा ट्रक राजस्वको नियन्त्रणमा


    शनिबार, पुष १४ २०८०
    2.2K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । रसुवा भन्सार कार्यालयबाट भन्सारछली गरी सामान भित्र्याउने क्रम रोकिन सकेको छैन । रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकले सेटिङमै प्रज्ञापनपत्रमा एकथरी सामान लेख्ने र त्यसमा महंगा सामान ल्याउने ब्यापारीहरुलाई तस्करीको लाइन दिएका छन् । रसुवा भन्सार कार्यालयले १० पुस, २०८० मा छाडेका ८ वटा मालवाहक ट्रकमध्ये ६ वटा राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएपछि सेटिङमा तस्करी हुँदैआएको पुष्टि भएको छ ।

    ८ वटा मालबाहक ट्रकमध्ये राजस्व अनुसन्धान विभागले ६ वटा नियन्त्रणमा लिएपछि बाँकी २ वटा ट्रकको प्रज्ञापनपत्रमा भएका बाहेकका सामान सिल काटेर निकाली पुनः सिलबन्दी गरिएको स्रोतले बताएको छ ।

    ६ वटा ट्रक नियन्त्रणमा लिएको सूचना इश्वर गुभाजुले पाएपछि हतार हतार रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकलाई जानकारी गराए । शुक्रबार बिदा लिएर काठमाडौंमा आएका भन्सार प्रमुख पाठक रातारात फर्किएर रसुवा भन्सारको यार्डमा पुगे । र, ती २ वटा ट्रक रिचेक गर्न लगाएर पुनः सिल लगाएका छन् । प्रज्ञापनपत्रमा उल्लेख गरिएभन्दा बढी घोषणा नगरिएका सामान निकालेर ट्रकमा सिलबन्दी गरिएको आरोप भन्सार प्रमुख पाठकमाथि लागेको छ ।

    भन्सारबाट चेक जाँच भइसकेका ६ वटा ट्रकमा भन्सारछली भएका सामान भएको आशंकामा राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिइसकेपछि यार्डमा रहेका २ वटा ट्रकको सिल काटेर प्रज्ञापनपत्रमा भएबाहेकका सामान निकालेर पुनः सिलबन्दी गरिएकोबारेमा भन्सार कार्यालय रसुवाका प्रमुख रामप्रसाद पाठकले भने–‘सिल काटिएको होइन, रिचेक गरिएको हो । शंका लागेमा भन्सारले रिचेक गर्नसक्छ ।’

    भन्सार बिभागका महानिर्देशक शोभाकान्त पौडेलले रसुवा भन्सारका केही ट्रकको रिचेक गर्न विभागले नै टोली खटाएको बताए । उनले भने–‘भन्सार विभागले नै केही त्रुटि छ कि भनेर रिचेक गर्न पठाएको हो । त्रुटि भेटिए कारबाही हुन्छ ।’

    महानिर्देशक पौडेलले रिचेक गर्न टोली खटाएको बताए पनि रसुवा भन्सारका प्रमुख पाठकले भने त्यो कुरा बताउन चाहेनन् । भन्सार विभागले शंका लागेकाले रिचेकका लागि खटाएको बताए पनि पाठकले भने केही नभएको बताए ।

    स्रोतका अनुसार दुबै ट्रक माओवादीनिकट ब्यापारी इश्वर गुभाजुका हुन् । गुभाजु सिन्धुपाल्चोकबाट निर्वाचित माओवादी सांसद माधव सापकोटा ‘सुबोध’का ब्यापारिक पार्टनर पनि हुन् ।
    राजस्व अनुसन्धान विभागबाट सूचना चुहिएपछि ब्यापारी गुभाजुले यार्डबाट ट्रक नै ननिकाली हतार हतार भन्सार प्रमुखलाई बोलाएर भन्सारछलीका सामान झिकेको आरोप छ ।

    राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले रसुवा भन्सारबाट आएका ट्रक परीक्षणका लागि नियन्त्रणमा लिइएको बताए । उनले भने–‘ती ट्रकले तोकिएको मूल्यमा भन्सार शुल्क तिरेर सामान ल्याएका छन् कि छैनन्, अनुसन्धान गरेपछि मात्र थाहा हुन्छ । सिष्टमबाट हेर्दा गडबडी भएको आशंकमा ती ६ ट्रक नियन्त्रणमा लिइएको हो ।’ यार्डमा भएका ट्रक नियन्त्रणमा लिने अधिकार राजस्व अनुसन्धानलाई नभएको पनि उनले बताए ।

    डा. प्रकाशशरण महत अर्थमन्त्री भइसकेपछि सिन्धुपाल्चोकका बुद्धराज बस्नेत र नुवाकोटका अरुण थापाले सेटिङमा तस्करीका गाडी छुटाउने ठेक्का नै लिएका छन् । रसुवा भन्सार प्रमुख पाठकसँग लाइन मिलाएर उनीहरुले आफूले क्यारिङ गरेका मात्र होइन, अरुका गाडीसमेत छुटाउने गरेका छन् । प्रतिट्रक २ लाखका दरले उनीहरुले जिम्मा लिएको बिषय यसअघि पनि नेपालफेसले उजागर गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार