Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • देशको ध्यान बाढी प्रभावित क्षेत्रमा, मधेशका जिल्लामा सशस्त्रका घुमुवाको सेटिङमा तस्करी


    बिहिबार, भाद्र २५ २०८३
    290
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । देशको सम्पूर्ण ध्यान प्रलयकारी भोटेकोशीको बाढीतर्फ केन्द्रित छ । देशका सबै संयन्त्र बाढी प्रभावितहरुको उद्दार र राहतमा लागेका छन् । गृहमन्त्री सुधन गुरुङदेखि गृहमन्त्रालयका अधिकारीहरु बाढी प्रभावित जिल्लामा उद्दार र राहत बितरणको ब्यवस्थापनमा लागेका छन् । यही मौका छोपेर मधेशका जिल्लामा तस्करी बढेको छ ।

    सीमा सुरक्षा र तस्करी रोक्ने जिम्मा पाएको सशस्त्र प्रहरी बलको बाहिनीबाटै खटिएका घुमुवाको टोलीले सेटिङमा ब्यापारीसँग लाभ लिंदै तस्करीमा सघाउने गरेको आरोप छ ।

    स्रोतका अनुुसार सशस्त्रको मधेश प्रदेश(छिन्नमस्ता बाहिनी)का डीआईजी बिष्णुप्रसाद भट्टले विगतमा विवादमा परी तानिएका सशस्त्र प्रहरीलाई सरुवा हुँदा आफूसँगै लगी घुमुवाका रुपमा प्रदेशमा खटाएका छन् । राजु अर्यालले आईजीपी हुनासाथ कारबाहीस्वरुप तानिएकालाई आफूसँगै लगेर डीआईजी भट्टले घुमुवाका रुपमा परिचालन गरेको आरोप छ । तिनै घुमुवाको सेटिङ सेटिङमा मधेश प्रदेशका जिल्लाका नाका नाकाबाट भएको तस्करीको बारेमा गृहमन्त्री सुधन गुरुङ, सशस्त्र प्रहरी बलका आईजीपी नारायणदत्त पौडेल र प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयसम्म पुगेको छ कि छैन ? भन्ने प्रश्न खडा हुन थालेको छ ।

    बाहिनीले सशस्त्रको सशस्त्र प्रहरी बलको चोभारस्थित नेपाल दंगा नियन्त्रण रेजिमेन्ट गणबाट आफू सरुवा भएपछि सँगै लिएर गएका असई अनिल सिंह, विवादित घुमुवा सहायक हवल्दार रोशन मिश्रा, जवान अजय साहलगायतको टोली मधेशका जिल्लामा सिभिलमा खटाएको स्रोत बताउँछ । बाहिनीसँगै टाँसिएको ३९ नम्बर रिजर्भ गण महोत्तरीमा दरबन्दी राखिएका उनलाई प्रदेशको घुमुवाका रुपमा काम गर्न खटाइएको छ ।

    रोशन मिश्रा मधेश प्रदेशका अनुभवी र तस्करीको नेटवर्कका बारेमा जानकार घुमुवा हुन् । विगत ४ बर्षसम्म सचिवालयको अनुगमनमा कार्यरत डीएसपी सुदिप रेग्मीले मिश्रालाई सशस्त्र मुख्यालयबाटै मधेशका जिल्लामा घुमुवाका रुपमा खटाएका थिए । दरबन्दी सशस्त्रको ३९ नम्बर रिजर्भ गण महोत्तरीमा भएका मिश्रालाई भट्टले पनि परिचालन गरेको आरोप छ । उनी बिगतमा मधेश प्रदेशमा कार्यरत प्रायः डीआईजीहरुका घुमुवाका रुपमा परिचालित थिए । तस्करी र दररेट कसरी उठाउने भन्नेबारेमा जानकार भएकाले उनी वर्तमान बाहिनीपतिका पनि विश्वासिला भएका छन् ।

    अर्का घुमुवा असई अनिल सिंहको दरबन्दी चोभारस्थित रेजिमेन्टमा हो । उनलाई बारा, पर्सा र रौतहट जिम्मा दिइएको छ । यी तीन जिल्लाबाट उनले डीआईजीका लागि डिल गर्ने गरेका छन् । उनी बाहिनीमा आउँदैनन् । बाहिनीबाट उनलाई खटाउनेसँग मोवाइलमा ह्याटसएपमा मात्र कुरा गर्नेगरेका छन् । उनलाई घुमुवाका रुपमा तीन वटा जिल्लामा खटाएकोबारेमा बाहिनीका प्रायः कसैलाई थाहा छैन ।

    सिंह पहिला पनि लामो समय मधेशमा सादा पोशाकमा बसेका र विवादमा परेपछि राजु अर्याल आईजीपी हुनासाथ घुमुवा अप्रेसनमा तानिएका थिए चोभार रेजिमेन्टमा । तिनै असई सिंहलाई भट्टले आफू मधेशमा सरुवा भएपछि लगेका थिए । असई सिंहले ९८०२….४६ यो नम्बरबाट ब्यापारीसँग डीआईजीको घुमुवाका रुपमा डिल गर्ने गरेको आरोप छ ।

    अर्का घुमुवा अजय साहको घर महोत्तरीको चाँदनी चोक हो । उनको चाँदनीचोकको घरमा पसल रहेको छ । उनले भारतबाट तस्करी गर्ने आफैं र त्यो तस्करीको सामान पसल, गोदाममा राखी धनुषा, बर्दिबासदेखि काठमाडौंसम्म पठाउने गरेको आरोप छ । काजु, पेस्ता, ओखर, पेस्ता, हाडेबदामजस्ता ड्राईफुडका अलावा जिरा, धनियाँ, चिनी, पेयपदार्थजस्ता सामान भन्सारछली गरी भित्र्याउने गरेको सूचना कुनै माध्यमबाट ९ नम्बर गण महोत्तरीका एसपी हरिबहादुर गुरुङकोमा पुगेपछि सिपाही साहको घरमा छापा मारिएको थियो ।

    भदौ १९ गते अपराह्न ३ बजेतिर साहको घरमा छापा हानी सशस्त्रको टोलीले ५ लाखजतिको सामान बरामद गरेको थियो । पसलमा मात्र छापा हानेर गोदामको बारेमा खोजीनीति नगरी टोली फर्किएको थियो । घुुमुवाका रुपमा खटिएका सशस्त्र प्रहरी आफैं तस्करीका सामान ल्याउने गरेको भेटिएर छापा मार्दा पनि डीआईजी भट्टले उनलाई जिम्मेवारीमुक्त नगरेको आरोप छ ।

    नारायणदत्त पौडेल सशस्त्रको आईजीपी भएपछि घर भएको जिल्लामा कार्यरत सशस्त्र प्रहरीलाई सरुवा गर्ने, ३ बर्षभन्दा बढी समय कार्यरतलाई त्यहाँबाट हटाउने निर्णय गरी परिपत्र गरिएको थियो । त्यही अनुरुप प्रदेशका डीआईजीहरुले घरपायक जिल्लामा बसेका र तीन बर्षभन्दा बढी कार्यरतलाई सरुवा गरे पनि । तर आफ्नानिकट र अतिरिक्त कमाइमा खटिएकाहरुको हकमा कतिको सरुवा गरे पनि रमाना दिनबाट रोकिएको छ ।

    भदौ १४ गते साहको सरुवा सर्लाही भए पनि रमाना नदिई घुमुवाका रुपमा महोत्तरीमै परिचालन गरिएको छ । रोशन मिश्राको घर सर्लाही हो । तर छिमेकी जिल्लाको ३९ नम्बर गणमा दरबन्दी राखी उनी घुमुवाका रुपमा खटिएका रुपमा खटिएका छन् ।

    डीआईजी भट्ट भन्छन्–मैले कसैको एक रुपैयाँ लिन्न, किन घुमुवा खटाउनुपर्यो ?

    डीआईजी बिष्णुप्रसाद भट्ट भन्छन्–‘सामान समात्नलाई काम गर्नलाई सही किसिमले परिचालन गर्नै नहुने हिसाबले जम्मैले भनेको पत्याउनु पनि परेन । कसैले सूचना दिन्छ, कसैले सामान समात्छ भने उनीहरुका बारेमा बुझ्नू । सामान समात्न कतिपयलाई खटाउनुपर्छ, कतिपय अवस्थामा । घुमुवा भनेको पैसा असुुल्नलाई हो । मैले कसैको एक रुपैयाँ लिन्न । यस्ता कुराको पछि लागेर केही न्यूज निकाल्नुपर्दैन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार