Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आईजीपीको आडमा डीएसपी रेग्मीको रजाइँ, घुमुवा तान्दै असुलीमा खटाउँदै


    बुधबार, कार्तिक २१ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले नियुक्त हुनासाथ तीन बर्षअघि एकै पटक ३ सयभन्दा बढी सादा पोशाकमा परिचालन गरिएका घुमुवाहरुलाई बाहिनी, गण, गुल्म र बीओपीमै युनिफर्ममै कार्यरत प्रदेशभन्दा अर्को प्रदेशमा ड्युटीमा खटाउने निर्णय गरेका थिए ।

    आईजीपी अर्यालले घुमुवा परिचालन नगर्ने नीति लिएपछि सीमा क्षेत्रबाट हुँदैआएको भन्सार छली तस्करीमा कमी भई राजस्व असुलीमा पनि टेवा पुगेको थियो । आईजीपी अर्यालको घुमुवा परिचालन नगर्ने नीति पछिल्ला दिनमा प्रभावकारी रुपमा लागू हुन सकेको देखिएको छैन ।

    सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय मातहतको उजुरी छानबिन र अनुगमन शाखाका डीएसपी सुदीप रेग्मीले संगठनको छविमै आँच पुग्नेगरी तानिएका घुमुवालाई तराईका बिभिन्न जिल्लामा असुलीमा परिचालन गरेको आरोप छ । तराईका जिल्लामा असुलीमा बदनाम भएका घुमुवाहरु रोशन मिश्र, सन्तोष यादव, राजीव यादव, इमाम मियाँ ठकुराइ लगायतलाई  मधेश प्रदेशका सीमा क्षेत्रका बीओपी, गुल्म र बेसमा पठाउने गरेका छन् ।

    मुख्यालयबाट आईजीपीको नाम लिंदै जाने ती घुमुवाहरुले बीओपी र गुल्मपतिहरुलाई रकम माग्ने नदिए डीएसपी रेग्मीलाई भए नभएको रिपोर्टिङ गर्ने गरेका छन् । मुख्यालयबाट परिचालन गरेका घुमुवाहरुको माग पूरा नगर्ने बीओपी र गुल्मका इन्चार्जहरुको बारेमा डीएसपी रेग्मीले आईजीपीलाई जाहेर गरी कारबाहीस्वरुप भन्दै बाहिनी, गण र मुख्यालयमा तान्ने कार्य हुँदैआएको छ ।

    सशस्त्र मुख्यालयबाट रेग्मीले खटाएका घुमुवाहरुको दरबन्दी बालाजु औद्योगिक क्षेत्रको बेस, पशुपति मन्दिरको बेसमा राखिन्छ । र, आउट छाडेर तराईका जिल्लामा परिचालन गरिन्छ । तराईका जिल्लाका सीमा क्षेत्रका बीओपी,  गुल्म र बेसमा मुख्यालयबाट खटिएका ती घुमुवा दारी पालेर बाबाजस्तै बनेर जाने गरेका छन् । विगतमा तराईका बारा, पर्सा, धनुषा, महोत्तरीमा बर्षौसम्म घुमुवाका रुपमा खटिएका र तस्करीको नेटवर्क चलाएका उनीहरुले सोझै मुख्यालयको नाममा रकम माग्ने गरेको स्रोत बताउँछ । रकम नदिने गुल्म र बीओपीका प्रमुखको बारेमा मूख्यालयमा कुरा लगाउने र तान्ने कार्यसमेत डीएसपी रेग्मीले गर्ने गरेका छन् ।

    सशस्त्र मुख्यालयमा बसेर बदनाम भएर तानिएका घुमुवालाई तराईमा असुलीमा पठाएर डीएसपी रेग्मीले आईजीपी अर्याललाई समेत विवादमा पार्ने काम गरेका छन् । सशस्त्रमा रेग्मीलाई छायाँ आईजीपीको संज्ञा दिने गरिएको छ । तराईका जिल्लामा बदनाम घुमुवालाई तान्ने र तिनैलाई रेग्मीले असुलीमा खटाएको सशस्त्र मुख्यालयका प्रायः धेरै उच्च अधिकारीलाई थाहा छ । तर आईजीपीका अति निकट भएकाले उनको बारेमा कोही पनि बोल्न सक्दैनन् ।
    सशस्त्र प्रहरी मुख्यालयको उजुुरी र अनुगमनका डीएसपी सुदिप रेग्मीले बागमती प्रदेशको गढीमाई बाहिनीका डीआईजी गणेश ठाडामगरको सल्लाहमा विवादति घुमुवालाई तराईमा खटाएका छन् ।

    खुट्टा अप्रेसन गरेको भनेर सशस्त्र प्रहरी सहायक हवल्दार इमाम मियाँ ठकुराई तीन महिनादेखि बिरामी  बिदामा छन् । तर खुट्टा अप्रेसन गरेका मियाँ सशस्त्र प्रहरी अस्पताल बलम्बुमा नबसी बीरगंजमा बसी तस्करीको सेटिङ गराउन तल्लीन रहेको समाचार प्राप्त भएको छ । उनले बाराको बरैनिया बीओपीका इन्चार्ज लक्ष्मण जोशीलाई तिहार अघि कात्तिक १७ गते बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने र प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकलाई भेट गराएका थिए । बीरगंज भन्सारका प्रमुखमात्र होइन, तस्करीको लाइन चलाउन सशस्त्रको भन्सार गुल्म बीरगंजका डीएसपीसँग पनि जोशीको भेट गराएको स्रोत बताउँछ । बाराको बरैनिया बीओपी र बीरगंज भन्सारको दूरी धेरै छैन ।

    बिरामी बिदा लिएर बीरगंज बसेर तस्करीको नेटवर्क चलाउने घुमुवा इमाम मिया गणेश ठाडामगर छिन्नमस्ता बाहिनीको एसएसपीदेखि डीआईजी हुँदा उनका घुमुवा थिए । उनी बिरामी भएको भनेर बिदा लिएर बीरगंजमा बसेर सेटिङ गरिरहेका छन् । बागमती प्रदेशका डीआईजी ठाडामगरका विश्वासपात्र उनी बीरगंजमा बसेर सेटिङ मिलाउनेमात्र होइन, बिरामी बिदा लिएका उनले हालसालै सौराहा घुमघाम गरेको तस्वीरसमेत सामाजिक संजाल फेसबुकमा सेयर गरेका छन् । बिरामी भएको भनेर बिदा लिएको तर घुमघाम गरेको उनको फोटोको बिषयमा प्रश्न उठ्ने भएपछि उनले मंगलबार मात्र डिलिट गरेका छन् । बरैनिया बीओपीका इन्चार्ज जोशी यसअघि बाराकै मटिअर्वा बीओपीको पनि इन्चार्ज भइसकेका हुन् ।

    अनुगमनका डीएसपी रेग्मीले बिवादास्पद घुमुवा परिचालन गरेको बिषय आईजीपी अर्याललाई जानकारी नभएको हो कि उनले त्यसलाई नजरअन्दाज गरेका हुन् त्यो भने भेउ पाउन कसैले सकेका छैनन् । तथापि केही दिनअघि मातातीर्थमा सशस्त्र प्रहरी निरीक्षकहरुको तालिम समापन कार्यक्रममा गृहमन्त्री रमेश लेखकले सशस्त्रको नयाँ ऐन चालु आर्थिक बर्षको अन्तिमसम्म लागू गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । नयाँ ऐनमा आईजीपीको पदावधि ३ बर्षमात्र राखिएको छ । डीआईजी अभि खत्रीहरुको मुद्दामा सर्वोच्च अदालतबाट नयाँ ऐन बनाउन आदेश भइसकेकाले नयाँ ऐन छिट्टै पारित गर्ने गृहमन्त्री लेखकको भनाइ लागू भएमा आईजीपी अर्याल आगामी २०८२ बैशाख १० गते अवकाश हुनेछन् । अवकाश हुने दिन नजिक आएकाले पनि आईजीपीको गतिशीलतामा कमी आएको त होइन भन्ने आशंका पनि गर्न थालिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार