Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • चुनावमा पैसाको खेल रोक्नुपर्छ: प्रधानमन्त्री


    शुक्रबार, माघ २ २०८२
    545
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको अवस्थाको लोकतान्त्रिक निकासका लागि निर्वाचन एक मात्र विकल्प भएको बताएकी छन् । आज बिहान नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेटको क्रममा उनले देश चुनावमा होमिएको भन्दै समाजका सबै तह र तप्काबाट सहयोगको अपेक्षा गरेको बताइन् ।

    ‘मुलुक चुनावमा होमिएको छ । यो चुनाव सामान्य अवस्थाको चुनाव नभई मुलुकलाई निकास दिने र दिगो स्थिरतातिर लैजाने चुनाव हो,’ उनले भनिन्, ‘भदौ २३ र २४ गतेलाई दिमागमा राखौँ। अब बारम्बार यो अवस्था दोहोरिनु हुँदैन ।’

    युवाको आकांक्षाअनुरुप आउँदो चुनावमा नयाँ, युवा र इमानदार सांसद जिताएर संसदमा पठाउन उनले आग्रह गरिन् । उनले भनिन्, ‘पुरानो मानसिकताले अब देश चल्दैन । पुरानो सोच र शैलीले पनि चल्दैन । अब नयाँ नै आउनुपर्छ, युवा आउनुपर्छ र इमानदार आउनुपर्छ । युवाको भावनाअनुसार शासन चल्नुपर्छ ।’

    चुनावमा पैसाको खेल हुन नदिन पनि समुदायस्तरबाटै सबै चनाखो हुनुपर्ने उनले धारणा राखिन्। उनले भनिन्, ‘विगतमा पैसाको खेल भयो भन्ने गुनासो छ। भ्रष्टाचार अन्त्य गर्ने हो भने त्यसको सुरुवात चुनावबाटै हुनुपर्छ। मतदाता पनि यसमा चनाखो बन्नुपर्छ।’

    भेटका क्रममा तामाङ समुदायको जनसंख्या, संस्कृति, आर्थिक-सामाजिक अवस्था लगायत विषयमा चर्चा भएको थियो। घेदुङले आउँदो माघ ५ गते सोनाम ल्होछारका अवसरमा काठमाडौंमा तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराउँदै उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भइदिन प्रधानमन्त्री कार्कीलाई अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार