Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • महेश बस्नेतको प्रश्न : प्रधानमन्त्रीज्यू. कुशासन, नातावाद, कृपावाद र पक्षपातको आरोप लाग्दा किन मौन ?


    मंगलबार, मंसिर ९ २०८२
    595
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । जेनजी आन्दोलनपछि एकपछि अर्को चर्चामा आइरहेका एमाले नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीमाथि कुशासन, नातावाद, कृपावाद र पक्षपातको गम्भीर आरोपहरू लागेको बताएका छन् । बस्नेतले भ्रष्टाचारका ५ वटा उदाहरण दिंदै त्यसमा प्रधानमन्त्री कार्कीको मौनताप्रति प्रश्न उठाएका छन् ।

    अवैध डिम्ब कारोबार प्रकरणमा जोडिएकी महान्यायाधिवक्ता सविता भण्डारीबारे प्रधानमन्त्रीको मौनताले सुशासनप्रति नै सवाल खडा गरेको उनको भनाइ छ ।

    आफूलाई प्रधानमन्त्री बनाउन सहयोग पुरयाएका जेनजी समूहकै व्यक्तिहरूले मन्त्री कुलमान घिसिङ र ऊर्जा क्षेत्रका नेतृत्वविरुद्ध अख्तियारमा उजुरी दिँदै गर्दा पनि प्रधानमन्त्री मौन देखिनु शंकास्पद भएको बस्नेतको टिप्पणी छ ।

    बस्नेत सामाजिक संजालमा लेख्छन्–जेन्जी आन्दोलनको बलमा बनेकी प्रधानमन्त्री आफूलाई सुशासन, इमानदारी र सुधारको प्रतीकका रूपमा प्रस्तुत गरे पनि व्यवहारमा भने कुशासन, नातावाद, कृपावाद र पक्षपातको गम्भीर आरोपहरू बढ्दै गएका छन् ।

    १. अवैध डिम्ब कारोबार प्रकरणमा जोडिएकी महान्यायाधिवक्ता सविता भण्डारीबारे प्रधानमन्त्रीको मौनताले सुशासनप्रति सवाल खडा गरेको छ ।

    २. आफूलाई प्रधानमन्त्री बनाउन सहयोग र्पुयाएका जेनजी समूहकै व्यक्तिहरूले मन्त्री कुलमान घिसिङ र ऊर्जा क्षेत्रका नेतृत्वविरुद्ध अख्तियारमा उजुरी दिँदै गर्दा पनि प्रधानमन्त्री मौन देखिनु शंकास्पद छ ।

    ३. काठमाडौं उपत्यकाजस्तो संवेदनशील क्षेत्रलाई केही समय नेतृत्वविहीन राखेर, भरपर्दा एआइजीहरूबाटै पदस्थापन नगरी रिक्त दरबन्दीमा बढुवा गरेर मात्र पदस्थापन गर्ने शैलीले प्रहरीप्रति अविश्वासको संकेत दिएको छ ।

    ४. नातावादको विरोधबाट उभिएको नेतृत्वले आफ्नै स्वकीय सचिव र उहाँकी श्रीमतीलाई प्रधानमन्त्री कार्यालयमै नियुक्ति गर्नु नातावाद–कृपावादको प्रत्यक्ष उदाहरणको रूपमा आलोचित भइरहेको छ ।

    ५. अर्थमन्त्री रामेश्वर खनालले डोल्मा कम्पनीलाई आर्थिक लाभ पुगेको भनिने लाभांश करसम्बन्धी विवाद उठिरहे पनि प्रधानमन्त्रीले यसबारे स्पष्ट प्रतिक्रिया नदिनु सुशासन प्रतिको संवेदनशीलता कमजोर देखिने अर्को पाटो हो ।

    प्रधानमन्त्रीज्यू, सामान्य कुशासनकर्ताप्रति जनआक्रोश कम देखिन सक्छ, तर आफूलाई सुशासनको प्रतीक भन्दै नातावाद, कृपावाद र अस्पष्ट निर्णयमा संलग्न देखिने नेतृत्वप्रति जनताको निराशा र रोष झनै तीव्र हुन्छ ।

    बेलैमा सुधार गर्नुहोस्—नत्र शक्तिको घमण्डले विगतमा आर्जन गरेको सम्मान गुम्ने जोखिम बढ्दै जान्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार