गोरखा । उत्तरी गोरखामा किसानले बगैँचाबाट धमाधम स्याउ टिप्न थालेका छन् । उनीहरु स्याउ टिपेर बिक्री गर्न बजार लैजाने तयारीमा जुटेका छन् ।
चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित ‘इन गोरखा प्रोडक्ट प्रालि’को स्याउ फर्ममा गाला जातको स्याउ टिपिसकिएको फर्मका सञ्चालक लाक्पा ढुण्डुप लामाले जानकारी दिनुभयो । उहाँको बगैँचामा गाला, गोल्डेन र फुजी जातका स्याउ फलेका छन् ।
“गाला स्याउ टिपिसकियो । अब गोल्डेन टिप्ने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “अबको एक महिनामा फुजी स्याउ पनि टिप्ने बेला हुन्छ ।” यसपटक गाला स्याउ १० हजार किलो उत्पादन भएको उहाँले जानकारी दिनुभयो । “दुई ट्रक स्याउ काठमाडौँ पठाइसकेको छु । काठमाडौँमा बिक्री गर्न समस्या छैन ।”
चार वर्षअघि लगाइएको लामाको बगैँचामा यतिबेला १२ हजार ५०० बोटमा स्याउ फलेका छन् । उहाँले आफ्नो उत्पादनलाई ‘चुमनुब्री स्याउ’ नामले ब्रान्डिङ गर्दैआउनुभएको छ ।
यसैगरी दुई हजार ७०० मिटर उचाइमा रहेको विशाल मनास्लु फर्म तथा लर्निङ सेन्टरका सञ्चालक छिरिङ लामा यतिबेला टिप्ने बेला भएको लटरम्म स्याउको बगैँचा देखेर दङ्ग हुनुहुन्छ । चुमनुब्री गाउँपालिका–२ ल्होमा रहेको सो स्याउ बगैँचा पाँच हजार बोट लटरम्म स्याउले भरिभराउ छ । गाला जातको स्याउ टिप्ने बेला भइसकेको सञ्चालक लामाले बताउनुभयो । उहाँको बगैँचामा गाला, फुजी, गोल्डन डेलिसियसलगायत जातका स्याउ छन् । असोज पहिलो हप्ताभित्रै सबै प्रजातिका स्याउ टिप्न थाल्ने उहाँले जानकारी दिनुभयो ।
लामाको बगैँचामा तीन वर्षदेखि स्याउ उत्पादन हुन थालेको हो । उहाँले आफ्नो बगैँचाको स्याउलाई ‘मनास्लु स्याउ’ नाम दिएर ब्रान्डिङ गर्नुभएको छ । लामाले गत वर्ष आठ हजार किलो स्याउ उत्पादन गर्नुभएको थियो । पहिलो वर्ष भने उहाँको बगैँचामा सात सय किलो मात्र स्याउ उत्पादन भएको थियो । उत्पादन बर्सेनि बढ्दै गएको लामाले बताउनुभयो ।
“यस वर्ष १० हजार किलो उत्पादन हुने अनुमान छ”, लामाले भन्नुभयो । ल्होका अन्य स्थानीयले पनि घरायसी प्रयोगका लागि थोरथोरै स्याउ उत्पादन गर्दै आएका छन् ।
गण्डकी प्रदेश सरकारअन्तर्गत कृषि ज्ञानकेन्द्र गोरखासँग साझेदारी गरी यहाँ स्याउ बगैँचा विकास गरिएको हो । चार वर्ष अघि कृषि निर्देशनालयले इटलीबाट ल्याएको गाला, फुजी, रेड र गोल्डन डेलिसियस जातको स्याउको उन्नत बिरुवा किसानलाई ७० प्रतिशत अनुदानमा उपलब्ध गराएको थियो । स्याउ बगैँचा स्याउखेतीसम्बन्धी अध्ययन गर्न चाहनेका लागि अध्ययन केन्द्रको रुपमा पनि विकास गरिएको छ ।
“हाम्रो स्याउ फर्म उच्च गुणस्तरको जातको स्याउ उत्पादन गर्ने मात्र नभई स्याउखेतीको अध्ययन गर्नेका लागि अध्ययन केन्द्रका रुपमा पनि विकास गरेका छौँ”, मनास्लु स्याउका उत्पादक छिरिङ धार्के भन्नुहुन्छ, “यहाँ आएर अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क आवास र खानाको व्यवस्था गरेका छौँ ।”
चुमनुब्री गाउँपालिकाका अधिकांश ठाउँमा स्याउखेती राम्रो हुने हुनाले अन्य किसानले पनि व्यावसायिक स्याउखेती गर्न थालेका छन् । (रासस)
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई ५० करोड निकासा गरेको छ । मन्त्रालयले बर्डफ्लु...
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ । किसानलाई...
काठमाडौँ। सरकारले रासायनिक मल ल्याउन बजेट छुट्याएको छ। रासायनिक मल खरिदका लागि चालू आर्थिक वर्षमा विनियोजित बजेटमा वृद्धि गरी ३२ अर्ब ४६ करोड पुर्याइएको हो। रासायनिक...
काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा व्यावसायिक केरा खेती गर्दै आएका किसानले उत्पादनअनुसार उचित मूल्य नपाएको गुनासो गरेका छन् । बजारमा उपभोक्ताले महँगो मूल्यमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend