Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राज्यले धोका दियो भन्दै किसान सडकमा, उखुको पैसा माग्दै टायर बालेर प्रदर्शन


    बुधबार, साउन २१ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सर्लाही । राज्यबाट पाउनुपर्ने अनुदान रकम नदिएपछि सर्लाहीका उखु किसान मंगलबार सडकमा उत्रिएका छन् । जिल्लामा सञ्चालनमा रहेका तीनवटै चिनी मिलअगाडि किसानहरूले टायर बालेर आक्रोश पोखेका हुन् ।

    हरिवनस्थित इन्दुशंकर चिनी उद्योग, गोडैता–९ मा रहेको महालक्ष्मी सुगर मिल र धनकौल गाउँपालिका–३ स्थित अन्नपूर्ण चिनी उद्योग अगाडि किसानहरूले एकैसाथ प्रदर्शन गरेका हुन् । किसानहरूले ‘अनुदानको बाँकी ३५ रुपैयाँ फिर्ता गर’, ‘कटौतीको निर्णय खारेज गर’ जस्ता नारासहित प्रदर्शन गरेका थिए ।

    राज्यले अघिल्लो वर्षको प्रतिक्वीन्टल ७० रुपैयाँ अनुदानमध्ये ३५ रुपैयाँ अझै बाँकी राखेको र चालु आर्थिक वर्ष २०८२–०८३ को बजेटमै उक्त अनुदान कटौती गरेको भन्दै किसानहरू आन्दोलित बनेका हुन् ।

    गोडैतामा भएको प्रदर्शन उखु उत्पादक संघ, सर्लाहीले आयोजना गरेको थियो । प्रदर्शनमा सहभागी किसानहरूले सरकारसँग दुईवटा माग राखेका छन्–पहिलो, अघिल्लो वर्षको बाँकी ३५ रुपैयाँ तत्काल उपलब्ध गराउनुपर्ने र दोस्रो, चालु वर्षको ७० रुपैयाँ अनुदान सुनिश्चित गर्नुपर्ने । यी माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने किसानहरूको चेतावनी छ । माग सम्बोधन नभए आन्दोलनको केन्द्र काठमाडौं बनाउने चेतावनीसमेत उनीहरूले दिएका छन् ।

    गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र यादवले राज्यले अनुदान कटौती गरेर किसानलाई मार्न खोजेको आरोप लगाए । उखुलाई पनि अन्य बालीसरह पकेट जोन घोषणा गरेर प्रोत्साहन दिनुपर्ने माग गर्दै बलरा नगरप्रमुख रामाशंकर कुशवाहाले राज्यले किसानको घाउमा नुन छर्किएको टिप्पणी गरे ।

    केन्द्रीय उखु उत्पादक संघर्ष समितिका सह–संयोजक राजकुमार उप्रेतीका अनुसार किसानको १ अर्ब ६० करोड रुपैयाँ बराबरको अनुदान रकम अझै राज्यबाट बाँकी छ ।

    ‘उखुको पैसा नपाउँदासम्म आन्दोलन जारी राखिन्छ’ आन्दोलनकारी किसानहरूको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार