Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्लाही प्रहरी संरक्षणमा तस्करी: एसपीदेखि सईसम्म असुलीको जालो, अडियो प्रमाण सार्वजनिक


    शुक्रबार, साउन २ २०८२
    3.4K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • सर्लाही । मधेश प्रदेशको सर्लाही जिल्लामा प्रहरीकै संरक्षणमा तस्करी र असुलीको जालो मजबुत बनेको खुलासा भएको छ । अडियो प्रमाणसहित बाहिरिएको तथ्यांकले प्रहरी नेतृत्व नै तस्करी प्रोत्साहनमा सक्रिय रहेको पुष्टि गर्छ ।

    स्थानीय स्रोतका अनुसार, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख (एसपी) योगेन्द्रबहादुर खड्का सर्लाहीमा आएपछि सीमावर्ती नाकाहरूमा तस्करी खुलेआम बढेको छ । प्रहरी प्रशासनले तस्करी नियन्त्रण गर्नुको सट्टा तस्करलाई ‘लाइन’ दिने र महिनावारी असुली गर्ने खेललाई प्राथमिकता दिएको गम्भीर आरोप छ ।

    पोस्टिङमै ‘टेन्डर सिस्टम’

    स्रोतका अनुसार, एसपी खड्काले जिल्लाभरका इलाका र चौकीमा प्रहरी अधिकृतहरूको पोस्टिङका लागि टेन्डर सिस्टम चलाएका छन् । जसले बढी रकम बुझाउँछ, उसलाई मनपर्ने चौकी र नाका पठाइन्छ ।

    पूर्वी पर्सा चौकीदेखि पश्चिम बलरासम्मका सबै नाकामा असुलीको दर तय गरिएको छ ।

    एक स्थानीय व्यापारी भन्छन्–‘जसले सुरक्षा दिने जिम्मा पाएको छ, उनीहरू नै तस्करीको साझेदार भएपछि सीमामा गैरकानुनी कारोबार रोक्ने अपेक्षा गर्नु बेकार छ ।’

    तस्करी करोडौंको मासिक असुली

    सर्लाही हुँदै लागू पदार्थ, मदिरा, सुन, चाइनिज मकै, चाइनिज स्याउ, कपडा, हार्डवेयर र दैनिक उपभोग्य सामान भारतबाट अवैध रूपमा भित्रिन्छ । यी सामानका तस्करले प्रहरीलाई मासिक करोडौं रुपैयाँ बुझाउने गरेको दाबी स्रोतले गरेको छ ।

    मुख्य नाका पर्सा, बरहथवा, हिरापुर ब्यारेज र बलरामा प्रहरी र तस्करबीचको मिलेमतो खुलेर देखिन्छ ।

    अडियोले पोल खोलेको असुलीको खेल

    इलाका प्रहरी कार्यालय हिरापुर ब्यारेजका सई बैजनाथ दास र तस्करबीच भएको अडियो सार्वजनिक भएपछि प्रहरी–तस्कर गठजोड पुष्टि भएको छ ।

    पहिलो अडियोमा दास भन्छन्
    ‘राजेशको माल हिजो गयो, राजेशलाई लिएर मलाई भेट गराऊ ।’

    तस्कर जवाफ दिन्छन्

    ‘हामी पार्टनर हौं, हाम्रो हिसाब महिना पुगेपछि हुन्छ ।’

    दोस्रो अडियोमा दास सोध्छन्–

    ‘खोई त पैसा लिएर आएन त ?’

    तस्कर भन्छन्

    ‘भोलि आउँछु ।’

    त्यसपछि अर्को अडियोमा दास भन्छन्–

    ‘तिमीलाई यति माया गर्छु।।। १८ हजार देऊ ।’

    तस्कर जवाफ दिन्छन्
    ‘१० हजार मात्रै हुन्छ ।’

    अन्त्यमा तस्कर भन्छन्

    ‘आउनुस न सर, म मिलाईदिन्छु ।’

    फेरि तस्कर थप्छन्

    ‘पूरै १५ हजार छोड दिन्छु ।’

    दास अन्तिममा भन्छन्

    ‘हवल्दारको भाग पनि छोड्देऊ ।’

    यी अडियो सार्वजनिक भएपछि सर्लाहीमा प्रहरी प्रशासनप्रति जनआक्रोश चुलिएको छ ।

    उच्च प्रहरी नेतृत्वसम्म पहुँच

    बरहथवाका एक स्थानीयले भने–‘एसपी नै असुलीको खेलमा छन् भने तल्लो तहका प्रहरीलाई कसले रोक्छ? प्रहरी नै तस्करीको साझेदार भएपछि जनता असहाय छन् ।’
    त्यस्तै, बरहथवाका डिएसपी निरन्जन भट्टराईका घुमुवा राम यादव र शशी पाण्डेलाई पनि असुलीका लागि परिचालन गरिएको स्रोतको दाबी छ ।

    स्रोतका अनुसार, मधेश प्रदेशका डिआईजी उमा चतुर्वेदी र सर्लाहीका एसपी योगेन्द्रबहादुर खड्काकै नाममा व्यापारी र तस्करबाट असुली भइरहेको छ ।

    जनआक्रोश छानबिनको माग

    अडियो प्रमाण सार्वजनिक भएपछि स्थानीयस्तरमा तीव्र आक्रोश छ । प्रहरीकै संलग्नतामा तस्करी बढ्नु सुशासन र कानुनप्रति ठूलो प्रश्न बनेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार