Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • धादिङको उत्तरी क्षेत्रमा पनि राधे समूह सक्रिय : अस्पतालमै युवामाथि खुकुरी प्रहार


    शनिबार, जेष्ठ ३ २०८२
    3.1K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • धादिङ । गुण्डागर्दी, हप्ता असुली र अपराधमा चर्चित नाम हो, राधाकृष्ण भण्डारी उर्फ राधे । कुनै समय दिनेश अधिकारी चरीलाई गोली प्रहार गरेको घटनामा जेल समेत बसेर आएका राधे हिजोआज काठमाडौं आउँदैनन् । उनी धादिङमै गुण्डागर्र्दी मार्फत् ठेक्का पट्टा हत्याउने व्यावसायमा छन् ।

    जेलभित्रै रहेका समिरमान बस्नेतसँग केही महिनाअघि खटपट भए पनि थुनाभित्रैबाट १० लाख रुपैयाँ पठाइदिएपछि राधेले बाहिरबाट समिरमानको धन्दा समेत सम्हालिरहेका छन् । उनै राधे समूहले धादिङको निकै दुर्गम मानिने उत्तरी क्षेत्रमा समेत सक्रियता बढाएको छ ।

    राधे समूहका गुण्डा नाइके राम अकिलसिंह गुरुङसहितका व्यक्तिले गत वैशाख २६ गते राति अशोक समूहमा रहेका विवस तामाङ र अशोक तामाङका छोरामाथि खुकुरी प्रहार गरेको छ । यसअघि कर्तव्य ज्यानमुद्दामा समेत कैद सजाय भोगेर बाहिर आएका अमर तामाङ, झ्याप्ले भन्ने अमर तामाङ, राम अकिलसिंह गुरुङ, सौजल गुरुङ र प्रविन कटुवालको समूहले खुकरी प्रहार गरेको स्थानीयले बताएका छन् ।

    सुत्केरी महिलालाई उपचारका लागि खनियावास गाउँपालिका ४ दार्खास्थित स्वास्थ्यचौकीमा पुगेका दुई युवामाथि खुकुरी प्रहार भएको घटना सार्वजनिक भएको छ । खुकुरी प्रहारबाट विवस तामाङ गम्भीर घाइते भएको पाइएको छ । स्थानीयबासीका अनुसार गत वैशाख २६ गते राती ११ बजेर ३५ मिनेट जाँदा विवसमाथि खुकुरी प्रहार भएको हो ।

    घटनाबारे प्रतिक्रियाका लागि जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी सुवास हमाललाई प्रतिक्रिया माग्दा जाहेरी आएको स्वीकार गरे ।

    घाइते तामाङको उपचारका लागि धादिङ हुँदै काठमाडौं ल्याइएको छ । काठमाडौंमा सिटीस्क्यान र एमआरआई गरिएको रिपोर्टमा देखिन्छ । घटनापछि पीडित परिवारले अभियुक्तहरुविरुद्ध किटानी जाहेरी समेत दिए पनि प्रहरीले त्यसलाई गम्भीरतापूर्वक अनुसन्धान नगरी पक्राउ नगरेको पीडित परिवारको गुनासो छ । यद्यपि डीएसपी हमाल भने आफूहरुले अनुसन्धान गरिरहेको र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि प्रहरी निरीक्षकको नेतृत्वमा कमाण्ड नै पठाउने तयारी रहेको बताए ।

    राधे समूहमा रहेका रामअकिल सिंह र झ्याप्ले भनिने अमर तामाङ खुँखार अपराधमा संलग्न छन् । २०६९ मंसिर १८ गते भिषण सिंखडासहितको समुहमा रहेका यो घटनामा समेत फरार रहेका अमर लामा समेतका व्यक्तिहरुले स्थानिय विजय तामाङको हत्या गरेका थिए ।

    विजय समर्थित समूहले घटना भएको १२ घण्टा नबित्दै भीषण सिंखडाको अपहरणपछि हत्या गरेको थियो । यो घटना सार्वजनिक भएपछि धादिङको खनियाबासमा हत्याको बदला हत्याले लिने गरेको तथ्य बाहिर आएको थियो । भीषण हत्यापछि फरार रहेको समुहले नै सत्यदेवी गाविस ३ स्थित गंगालाल तामाङको हत्या गरेका थिए । २०६७ कार्तिक १ गते दार्खाकै स्थानीय एमाले नेता शिव थापाको हत्या भएको थियो ।

    प्रहरीले घटनालाई समयमै अनुसन्धान गरी कारबाही गर्न नसक्दा यो क्षेत्रमा अपराधको घटना बढ्दो छ ।

    उत्तरी क्षेत्रमा राधेको संलग्ताले अपराधको झनै जोखिम

    उत्तरी क्षेत्रमा राधे समूह सक्रिय भएपछि खनियाबास गाउँपालिका थप अपराधको संभावना बढेको छ । यो समूह सक्रिय भएसँगै एक अर्कामाथि बदलाको भावले उत्रने संभावना बढेको स्थानीयबासीहरु बताउँछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार