Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रहरी प्रमुखलाई ५० लाखको टेन्सन


    मंगलबार, असोज १ २०८१
    2.1K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । क्रिप्टोकरेन्सी कारोबारीको आरोपमा पक्राउ परेका व्यक्तिबाट ५० लाख रुपैयाँ ‘घुस’ असुलेको आशंकामा काठमाडौं प्रहरी परिसरले छानबिन गर्न समिति बनाएको भए पनि त्यसको भार एसएसपी वसन्त रजौरेलाई समेत परेको छ । आफू मातहतकै प्रहरी कर्मचारीसमेत त्यसमा जोडिएपछि यसको भार एसएसपी रजौरेलाई परेको हो ।

    काठमाडौं प्रहरीको टोलीले क्यानडाबाट नेपाल फर्किएका एक युवालाई अनामनगरबाट सोधपुछका लागि परिसरको कार्यालय भद्रकाली लगेर थियो । उनीमाथि नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सी कारोबार गरेको सूचना प्रहरीले पाएको थियो । त्यहीक्रममा सोधपुछका लागि उनलाई नियन्त्रणमा लिएर परिसर पु¥याइए पनि रकम असुल गरी छाडेको थियो ।

    प्रहरीले सोधपुछका लागि आरोपीलाई २४ घण्टा थुनामा नराखी आरोपीसँग ५० लाख उठाएर छाडिएको घटनाले यतिबेला प्रहरी संगठनभित्रै चर्चा चलेको छ । ५० लाख घुस दिएपछि अहिले ती युवा क्यानडा पुगिसकेका छन् । पक्राउ परेका ती युवकका दिदीले भाइ नेपालमै हुँदा आफूले तिरेको ५० लाख रुपैयाँबारे प्रहरीलाई जानकारी गराउँदा भाइको क्यानडा यात्रा अनिश्चित हुने भएकाले जानकारी नदिएको बताएपछि घटनाबाहिर आएको थियो ।

    तर, भाइ उडेपछि उनी आफैँ काठमाडौं प्रहरी कार्यालय पुगिन् । पक्राउ परेका युवाका दिदीको गुनासोपछि काठमाडौं प्रहरीले आन्तरिक छानबिन थाल्यो । छानबिनका क्रममा पक्राउ परेका युवाका दिदीबाट प्रहरीलाई बुझाउनुपर्छ भन्दै ५० लाख रुपैयाँ लिने बिचौलीया र साइबर अपराध मुद्दा फाँटका सहायक हवल्दार गणेश खड्काको ‘कनेक्सन’ देखिएपछि प्रहरीले तिनलाई नियन्त्रणमा राखेर अनुसन्धान थालेको छ ।

    प्रहरी अधिकारीका अनुसार, बिचौलियासमेत प्रहरीले क्रिप्टोकारोबारीको आशंकामा पक्राउ गरेका युवाका निकट साथीमात्रै होइनन्, क्यानडा बस्दाका रुम पार्टनर समेत हुन् । प्रहरीलाई क्रिप्टोबारे सूचना दिने समेत तिनै बिचौलिया भएको खुलेको छ ।

    प्रहरी अधिकारीका अनुसार, पक्राउ परेका युवाको दिदीले ५० लाख रुपैयाँ दिएको खुलेपछि त्यो रकम प्रहरीसम्म पुग्यो कि पुगेन भन्नेबारे खुलेको छैन । बिचौलियासमेत नेपाल छाडेर भागिसकेको छन् । उता काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले अर्को छुट्टै छानबिन समिति बनाएको छ ।

    उपत्यका प्रहरी कार्यालय रानीपोखरीकै प्रहरी उपरीक्षक (एसपी) प्रजित केसीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको हो । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी किरण बज्रार्चायले एसपीको नेतृत्वमा समिति बनाएकी थिइन् ।

    सो समितिले पनि छानबिन गर्दैछ । पक्राउ परेका युवा अमित श्रेष्ठ हुन् । उनी यसअघि पनि क्रिप्टोमा पक्राउ परिसकेका व्यक्ति हुन् । त्यतिबेला पनि प्रहरीले उनको फितलो अनुसन्धान गरेको थियो । नेपालका उच्चपदस्थ अधिकृत र न्यायसेवाका उच्चस्तरीय व्यक्तिहरूसँग राम्रो सम्पर्क भएका कारण उनी अपराधबाट जोगिंदै आएका छन् ।

    उनी नेपालमा विभिन्न व्यक्तिले भ्रष्टाचार गरेको पैसालाई विदेशमा व्यवस्थापन गर्दै आएका व्यक्ति हुन् । नुवाकोट घर बताउने अमित छोटो समयमै अकूत सम्पत्तिका मालिक बनेका छन् । नेपालमा पक्राउ पर्ने डरले उनी परिवारसहित क्यानडा बस्दै आएका छन् । आजको दृष्टि साप्ताहिकबाट साभार

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार