काठमाडौं । देशमा आर्थिक मन्दी छ । लगानीकर्ता निराश छन् । न्यूरोडका पसल समेत सूनसान छन् । राज्यका निकायहरुले ब्यापारीहरुलाई उत्साहित गर्ने, लगानीको वातावरण बनाउनेभन्दा पनि हतोत्साही पार्ने, ब्यवसायबाटै पलायन हुन बाध्य बनाउने काम गरेका छन् । पछिल्ला केही महिनादेखि ब्यवसायीहरुलाई हतोत्साही बनाउने काममा राजस्व अनुसन्धान विभाग लागेको छ ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले उद्योगी–ब्यवसायीलाई आतंकित बनाएर कमाउधन्दा संचालन गरेका छन् । ढुंगानाले पछिल्ला दिनमा विशेषगरी मारवाडी समुदायका र नेपाली कांग्रेस निकट ब्यापारीलाई तर्साएर रकम असुलिरहेका छन् ।
बिभागका ७ वटै महाशाखामार्फत् उद्योगीहरुलाई आतंकित बनाउने र भनेजति बुझाएर छाड्ने नत्र कुनै गल्ती नभए पनि तारिखमा बोलाउने र दिनभरी विभागमा राखेर हतोत्साही बनाउने काम हुँदैआएको छ । ढुंगानाका विश्वासपात्र अधिकृत मानप्रसाद विक, उपसचिव इश्वरी ढकालले ब्यापारीलाई फोन सम्पर्क गरी उजुरी परेको छ, छानबिन गर्नुपर्ने भएकाले कागजपत्र लिएर उपस्थित हुन निर्देशन दिनेगरेका छन् । विक, ढकाल र ढुंगानाको टोलीले नेपालगंजका तीन ब्यापारीलाई यति दुःख दिएको छ कि उनीहरु कुन दिन ब्यापारमा लागिएछ भनेर टाउकोमा हात लगाउन थालेका छन् ।
देश आर्थिक मन्दीमा भए पनि राजस्व अनुसन्धान विभागका ढुंगानाको टोलीलाई कुनै सरोकार देखिंदैन, उनीहरुको मुख्य काम भनेकै ब्यापारीलाई आतंकित बनाउने र अकूत सम्पत्ति आर्जन गर्नेमात्र देखिएको छ । बैदेशिक रोजगार विभागदेखि अध्यागमनमा भिजिट भिसामा मानवतस्करी गरी करोडौं कमाएर पनि नपुगेका ढुंगानाले राजस्व अनुसन्धान विभागमा यसअघि कुनै पनि महानिर्देशकको पालामा नदेखिएको शक्तिको दुरुपयोग गरी ब्यापारी तर्साउने र असुल्ने गरेको गुनासो छ । उनका विश्वासपात्र ७ नम्बर महाशाखा हेर्ने उपसचिव इश्वरी ढकालले ट्रान्सपोर्टदेखि विभिन्न ब्यापार गर्नेहरुलाई तर्साउँदै दररेट अनुसार माग्ने, नदिनेलाई कुनै कसूर नभए पनि छानबिनका लागि बोलाएर टर्चर दिने गरेको आरोप छ ।
बिभागमा उपस्थित हुने ब्यवसायीहरुलाई पुनः तारिखमा बोलाउने, घन्टौं विभागमा राख्ने, कसूर नदेखिएको अवस्थामा पनि फेरि अर्को तारिखमा बोलाएर दुःख दिने गरिएको छ । आर्थिक मन्दीमा जेनतेन कर्मचारीलाई तलव खुवाएर ब्यवसाय गरिरहेका ब्यवसायीहरुलाई राजस्वले आतंकिता पारेपछि ब्यापारीहरु पेशाबाटै पलायन हुने क्रम बढेको छ ।
कर तिरेर ब्यापार गर्दा पनि राजस्वले जुन ढंगले आतंक सृजना गरेको छ, त्यसले नेपालमा लगानीको वातावरण छैन भन्ने देखाउँछ, राजस्वका कर्मचारीको सास्ती भोगिरहेका एक ब्यवसायीको गुनासो छ । राजस्व चुहावट र तस्करी नियन्त्रणमा भन्दा पनि महानिर्देशक ढुंगना र उनको टोलीका विक र ढकालको समूहले ब्यापारी तर्साउने र बार्गेनिङ गरी कमाउन तल्लीन छन् ।
केही समयदेखि ढुंगानाले विभागबाट आफ्ना विश्वासपात्रहरुको बेग्लाबेग्लै टोली खटाई ब्यापारीहरुको कार्यालय र गोदाममा छापा हान्ने अभियान नै चलाएका छन् । बिहीबार दिउँसो मात्र तराईका रौतहट लगायतका जिल्लामा महानिर्देशक ढुंगानाको टोलीले ब्यापारीको गोदाम र कार्यालयमा छापा हानेर आतंक मच्चाएको छ । रौतहटमा रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डष्ट्रिज प्रालिको गोदाम र मिलमा छापा हानिएको छ ।
ब्यापारी बाबा बैजुनाथका संचालक नेपाली कांग्रेसनिकट मानिन्छन् । उनको डिस्टिलरी समेत संचालनमा छ । रौतहट, बारा, पर्साका ब्यापारीहरुलाई छापा हान्न ढुंगानाले टोली खटाएका हुन् । त्यस्तै अर्को टोली बिराटनगर, इटहरी, झापा, बुटवल, भैरहवा र नेपालगंजमा पनि खटाइएको छ ।
राजस्व अनुसन्धान विभाग स्थापना भएपछि यस्तो ढंगले ब्यापारीहरुमा राजस्वले आतंक सृजना गर्ने र घुस असुल्ने काम गरेको थिएन । राजस्व छली वा चुहावट गरेको प्रमाण नै नभेटिए पनि विभागले ब्यापारीलाई अनाहकमा दुःख दिएको त अहिलेमात्र हो, एक ब्यापारीले नाम उल्लेख नगर्ने सर्तमा भने । अहिले जस्तो आतंक अहिले ढुंगानाले मच्चाएका छन्, दीप बस्नेत र लोकमानसिंह कार्की हुँदा हुँदा पनि यस्तो आतंक थिएन । भरत सुवेदी राजस्व अनुसन्धान बिभागको निर्देशक हुँदा राजस्व छली नभए पनि ब्यापारीलाई दुःख र सास्ती दिएर करोडौं मोलमोलाई गर्थे, ट्रक बरामद गर्ने तर केही त्रुटि नदेखिए पनि १० दिनसम्म चेक नै नगरी विभाग परिसरमा राखेर हैरानी दिएर पनि घुस असुल्ने सुवेदीको शैली ढुंगानाले अबलम्बन गर्दैआएका छन् ।
बिभागले यस्तो आतंक मच्चाएपछि अहिले दर्जनौं ब्यवसायीहरु संगठित भएर महानिर्देशक ढुंगाना र विभागबिरुद्ध अर्थमन्त्री, गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्म गुनासो पोख्न जाने तयारीमा छन् । उनीहरुले ब्यवसायीहरुसँग परामर्श गरिरहेका छन् ।
को हुन् ढुंगाना ?
सरकारी सेवामा प्रवेश गरेदेखि नै बैदेशिक रोजगार विभाग, अध्यागमन विभाग जस्ता कमाउ अड्डामा मात्र चाहारी अकूत सम्पत्ति आर्जन गरेका ढुंगाना प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का निजी सचिव हुँदै राजस्व अनुसन्धान विभागका महानिर्देशक भएका हुन् । विभागबाट उनी कोलकाताको महाबाणिज्यदूत हुँदैछन् । २ महिनापछि कोलकाताका महाबाणिज्यदूत इश्वरी पौडेलको कार्यकाल सकिंदैछ । उनको कार्यकाल सकिएपछि ढुंगाना महाबाणिज्यदूत हुने निश्चित भएको छ । किनकि प्रधानमन्त्रीको पार्टीका निकट र उनकै गाउँ कास्कीको ढिकुरपोखरी घर भएका ढुंगानाले इच्छा गरेपछि नपाउने कुरै छैन । निजामती प्रशासनमा माओवादी निकट भएर सधैं अवसर पाउने र अकूत कमाउनेमा ढुंगाना अग्रपंक्तिमै पर्दछन् ।
भ्रष्टाचार मुद्दा खेपेका विकर्को राजस्वमा राज
महानिर्देशक ढुंगानाको टोलीका अधिकृत मानप्रसाद विक भैरहवा भन्सारदेखि विभिन्न ठाउँमा अवसर पाउनेमा पर्दछन् । भैरहवा भन्सार कार्यालयमा विक भन्सार अधिकृत हुँदा कार्यालय प्रमुख भूपाल शाक्य थिए । शाक्य र विक मिलेर तस्कर समशेर मियाँले एउटै प्रज्ञापनपत्रमा सामान लोड गरी दैनिक दसौं ट्रक सामान भित्र्याई करोडौं राजस्व छली गर्ने गरेका थिए । शमशेर मियाँ नेपालीलाई भूटानी शरणार्थीलाई बनाएर अमेरिका पठाउने धन्दामा टोपबहादुर रायमाझी र बालकृष्ण खाँणकै पथमा लागेपछि जेलमा परेका थिए ।
भैरहवा भन्सारमा हुँदा तस्करसँग मिलेर देशलाई प्राप्त हुने करोडौं राजस्व मारी अकूत सम्पत्ति आर्जन गरेका विक बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । विशेष अदालतमा सेटिङ गरी मुद्दा जितेका विक लगत्तै राजस्व अनुसन्धान विभागमा सरुवा भएर महानिर्देशक ढुंगानाको ब्यापारी तर्साउने र करोडौं कमाउन तल्लीन छन् ।
इश्वरीप्रसाद ढकाल पनि भ्रष्टाचार गरी अकूत सम्पत्ति कमाएको उजुरी अख्तियारमा परेपछि बिभिन्न च्यानल प्रयोग गरी तामेलीमा राख्न लगाएर हाल राजस्वमा ब्यापारीलाई तर्साउने र असुल्ने ढुंगानाका दूत हुन् ।
थापासँग ढुंगानाको सेटिङ, देशभर तस्करीको संजाल
महानिर्देशक ढुंगानाले ठ्रूला तस्करहरुका भन्सारछलीका सामान लोड गरिएका ट्रक बरामद नगर्नेगरी सेटिङ गरेका छन् । र, मातहतका कार्यालयका कर्मचारीहरुले डीजीसँग सेटिङ भएका राजु थापाका भन्सारछलीका सामान लोड भएका गाडी बरामद गर्ने हिम्मत गर्न सकेका छैनन् । राजु थापा पछिल्लो समय ठूलो मात्रामा तस्करीका सामान नेपाल भित्र्याउने ब्यापारी हुन् । उनको राजस्वका डीजी ढुंगानासँगै सेटिङ छ । चितवनका उनको बालुवाटारसम्मै पहुँच भएकाले पनि उनलाई डीजी ढुंगानाकाृे भरपूर साथ रहेको छ ।

गएको भदौमा नक्कली प्रज्ञापनपत्र प्रयोग गरेका र स्वघोषणा विपरीतका सामान भेटिएपछि भैरहवा भन्सार कार्यालयले ७ वटा ट्रक सामानसहित नियन्त्रणमा लिएको थियो । ती ट्रक सबै राजु थापाका थिए । ती ट्रक बरामदपछि राजु थापा तस्करको नाइके रहेको खुलेको हो । उनी पछिल्लो समय भन्सार नाकाहरुबाट नक्कली प्रज्ञापनपत्र प्रयोग र कमसल सामान ल्याएको मूल्यांकन गराई कपडा तस्करी गर्ने गरेका हुन् ।
नक्कली प्रज्ञापनपत्र प्रयोग गरी राजस्व मार्ने गरेको खुलेपछि राजुविरुद्ध वारेन्ट जारी गरियो । तर वारेन्ट जारी गर्ने भन्सार प्रमुख पौडेललाई १ बर्षमै भैरहवा भन्सारबाट सरुवा गरियो । किनकि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पीए सो समयमा नवराज ढुंगाना थिए । नक्कली प्रज्ञापनपत्र प्रयोग गरी करोडौ करोड राजस्व छलीमा संलग्न राजु थापालाई पक्राउ गर्नुपर्नेमा ढुंगानासँगै सेटिङ भएकाले उल्टै भन्सार प्रमुख कोपभाजनमा परेका थिए ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । बोरिङ र मोटर जडान गर्ने कार्यका लागि ७ लाख ५० हजार घुस लिने भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend