कपिलवस्तु, २६ चैत । स्वास्थ्य क्षेत्रमा योगदान दिँदै आएका स्वयंसेविकाहरुलाई कपिलवस्तुको विजयनगर गाउँपालिकाले ५ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ। उनीहरुको कार्यमा उत्साह थप्न गाउँपालिकाले सो रकम प्रदान गर्ने निर्णय गरेको हो।
सरकारले लगाएको लकडाउन अवधिभर गाउँघरमा खट्ने स्वयंसेविकालाई प्रोत्साहन भत्ता दिने गाउँपालिकाले जनाएको छ। गाउँपालिकामा रहेका ६८ जना स्वयंसेविकाहरुलाई स्वास्थ्य तथा पारिवारीक लगत संकलनको जिम्मेवारी दिँदै सो रकम प्रदान गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख गोपाल थापाले बताए। विश्वभर महामारी रुपमा फैलिएको कोरोना भाइरसलाई रोकथाम तथा नियन्त्रणका लागि खबर गाउँपालिकाले प्राप्त गर्न सम्पूर्ण स्वयंसेविकाहरुलाई फिल्डमा खटाइएको हो। फिल्डमा परिचालन हुने स्वयंसेविकाहरुले प्रत्येक घरको तथ्याङ्क संकलन गरी गाउँपालिकामा दिनहँु विवरण उपलब्ध गराउनु पर्ने जनाएको छ।
यसअघि महिला स्वयंसेविकाहरुले नै विदेशबाट आएका मान्छेको तथ्यांक संकलन गरी त्यस्तो घरमा रातो चिन्ह् लगाएका थिए। घरधुरी, परिवार संख्या, विदेशबाट आएको संख्या, बालबालिका, बृद्धबृद्धा र्र्दीर्घरोगी लगायका विवरण उनीहरुले उपलबध गराउने छन्। यस्तै गाउँपालिकाले प्रत्येक जनप्रतिनिधि र कर्मचारीहरुलाई ५ सय रुपैयाँ रिचार्ज खर्च पनि दिइने प्रमुख प्रशासकीय अधिकृत गोबिन्द भट्टराईले बताए। सरकारले लगाएको लकडाउन अवधिभर गाउँपालिकासँग सम्पर्कमा रहिरहनका लागि रिचार्ज खर्च उपलब्ध गराएको हो।