कैलाली, २६ चैत । धनगढीमा कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि आरटीपीसीआर उपकरण जडान थालिएको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी ल्याइएको उक्त मेसिन धनगढी ल्याइएको हो ।
हाल यो मेसिन जडान कार्य भइरहेको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । बुधबार बिहान आरटीपीसीआर मेसिनसहित कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य उपकरण धनगढी पुगेको थियो ।
उक्त उपकरणबाट दैनिक २५० भन्दा बढीको परीक्षण गर्न सकिने सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए ।
पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा रहेको आरटीपीसीआर मेसिन धनगढी ल्याइएको छ । मेसिन धनगढीस्थित भेटेरिनरी प्रयोगशालामा जडान गरिएको हो ।
आजबाट थालिएको मेसिन जडान भोलि साँझसम्ममा सकिने छ । त्यसलगत्तै बिहीबार साँझबाट परीक्षण सुरु हुने सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए ।